१७ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा प्रवचन कार्यक्रम सम्पन्न
भक्तपुर । २०८१ भदौ १४, शुक्रबार
भक्तपुर नगरपालिकाको आयोजनामा १७ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसर पारेर आज ‘निरन्तर शिक्षका लागि पुस्तकालय’ भन्ने नाराका साथ नगरभित्र सञ्चालित माध्यमिक तहका विद्यार्थीहरुबीच प्रवचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममाका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले पुस्तकालय ज्ञान तथा अनुभवको केन्द्र भएको बताउँदै यसको सदुपयोगले विद्यार्थीहरुको बौद्धिक विकासमा समेत मद्दत पु¥याउने बताउनुभयो ।
विद्यार्थीले पुस्तकालयमा गई अध्ययन गर्ने बानीको विकास गर्नुपर्ने बताउँदै उहाँले विद्यार्थीहरुको हस्तलेखन, वाककला राम्रो भए व्यक्तित्व विकासमा टेवा पुग्ने धारणा राख्नुभयो ।
विद्यालयको पुस्तकालयमा शिक्षण सामाग्री, उत्तर पुस्तिका र पाठ्यक्रम आदिको पनि बन्दोबस्त गरिनुपर्नेमा जोड दिँदै उहाँले विद्यार्थीहरुले अतिरिक्त क्रियाकलापअन्तर्गत चित्रकला, नृत्य, संगित, खेलकुद, साहित्यलगायतका विषयमा पनि अग्रसर हुनुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुस्तकालयको संरक्षण, सम्बद्र्धन र विकासका लागि सबैले सहयोग गर्नुपर्ने बताउँदै पुस्तकालय विकासले समाजको विकास पनि हुने बताउनुभयो ।
पुस्तकालय ज्ञानको भण्डार हो र पुस्तकालयमा धेरै पुस्तक अध्ययन गर्ने सुविधा हुन्छ भन्दै उहाँले भक्तपुर नपाले नगरस्तरीय जनज्योति पुस्तकालय र वडा वडामा समेत पुस्तकालय सञ्चालन गरी आवश्यक आर्थिक तथा भौतिक सहयोग प्रदान गर्दै आइरहेको बताउनुभयो ।
पुस्तकालयको महत्वबारे नयाा पुस्तालाई जानकारी दिनुपर्ने बताउँदै उहाँले समाज अगाडि बढ्नुमा अध्ययन अनुसन्धानले महत्वपूर्ण भूमिका खेलेको हुन्छ भननुभयो ।
उपप्रमुख रजनी जोशीले दैनिक जीवनमा पठन संस्कृतिको विकासले विद्यार्थीहरुको प्राज्ञिक क्षमतालाई अझ निखार्ने बताउँदै भक्तपुर नपाले पुस्तकायलाई विशेष प्राथमिकतामा राख्दै त्यसको संरक्षण र संबद्र्धन गर्दै आइरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनज्योति पुस्तकालयका पुस्तकालय अधिकृत भूपाल मुलले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनज्योति पुस्तकालयको संक्षिप्त परिचय प्रस्तुत गर्दै पुस्तक किनेर पढ्न नसक्नेहरुका लागि लागि पनि सार्वजनिक पुस्तकालयहरुले धेरै सहज बनाएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले २१ औं शताब्दीमा अनुभव, अध्ययन र अनुसन्धान आवश्यक रहेको बताउनुहुँदै पुस्तकालयबाट मात्र आधिकारिक तथ्य तथ्यांक उपलब्ध हुने बताउनुभयो । उक्त कार्यक्रममा कार्यपालिका सदस्य रोशनमैंया सुवालले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा संस्थागत तथा सामुदायिक विद्यालयका विद्यार्थी र शिक्षक प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।