Explore news and happenings at Bhaktapur

‘भ्रष्टाचार नैतिक रुपमा पतन हुने अपराध हो’ : प्रमुख प्रजापति

भक्तपुर । २०८१ भदौ १४, शुक्रबार

0
२०४५ सालमा पञ्चायती राज्यस्तरबाट रचिएको षड्यन्त्र ‘भक्तपुर काण्ड’ को भत्सर्नास्वरुप भक्तपुर नगरपालिका वडा नं. ९ को आयोजनामा ‘युवा आवाज स्वदेशमै रोजगार’ (कक्षा ११ र १२) भक्तपुर नगरव्यापी विद्यालयस्तरीय निबन्ध लेखन र ‘भ्रष्टाचार सामाजिक कलंक’ विषयक भक्तपुर नगरव्यापी विद्यालयस्तरीय (कक्षा ८, ९ र १०) कविता प्रतियोगितामा विजयीहरुलाई पुरस्कार वितरण कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रतियोगिताका विजयीहरुलाई प्रमाणपत्र र नगद पुरस्कार वितरण गर्नुभयो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले भ्रष्टाचारलाई नैतिक रुपमा पतन हुने अपराधको रुपमा व्याख्या गर्नुभयो ।
उहाँले जघन्य अपराधीलाई कानुनबमोजिम मृत्युदण्डको व्यवस्था गर्न सके मात्र सामाजिक अपराधहरु नियन्त्रण सम्भव हुने बताउँदै उहाँले विद्यार्थीहरुलाई सचेत पार्न यस किसिमका प्रतियोगिता आयोजनालाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
प्रतियोगितामा सहभागी र विजयी विद्यार्थीहरुलाई बधाई दिँदै उहाँले विद्यार्थीहरुले आफ्नो अध्ययनलाई मजबुत बनाउन पुस्तकहरुको अध्ययनमा जोड दिनुपर्ने र स्वअध्ययनबाट प्राप्त ज्ञान अूल्य हुने बताउनुभयो ।
देशको शासन व्यवस्था कमजोर हुँदा भ्रष्टाचार पनि मौलाउँदै जाने बताउँदै उहाँले सार्वजनिक संस्था प्रभावकारी बनाउन भ्रष्टाचार नियन्त्रण आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले नयाँ पुस्तालाई प्राज्ञिक सँगसँगै सामाजिक विषयवस्तुहरुमा पनि परिपक्व पार्दै लानुपर्ने आजको आवश्यकता हो भन्दै २०४५ सालमा नेमकिपालाई समूल नष्ट गर्न राज्यस्तरबाट रचिएको भक्तपुर काण्डबारे भत्सर्ना गर्नुभयो ।
कार्यक्रममा बागीश्वरी माविका प्रअ कृष्णप्रसाद कर्माचार्यले धन्यवादज्ञापन मन्तव्य राख्नुभएको थियो भने वडा सदस्य इन्द्रबहादुर प्याठ, कार्यपालिका सदस्य छोरीमैंया सुजखू र नेपाली शिक्षक हेरा फुँयालले प्रतियोगिता आयोजनाबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगितामा बासु माविका सुप्रिम सुलु प्रथम, बागीश्वरी माविका इभान्जली लामा द्वितीय, मोर्डन इ. स्कूलका प्रतिज्ञा पौडेल तृतीय र विद्यार्थी निकेतनका पानसरा शाहीले सान्त्वना स्थान हासिल गरेका थिए भने कविता प्रतियोगितामा महेन्द्र विद्याश्रमका विभूति कार्की प्रथम, बागीशवरी माविका श्रीया शाही द्वितीय, बासु माविका हिमाल रोकाया तृतीय, विद्यार्थी निकेतनका मनिषा तामाङ र सरस्वती विद्यालयका सरु तामाङले सान्त्वना स्थान हासिल गरेका थिए । सोही क्रममा सहभागी विद्यार्थीहरुलाई पनि प्रमाणपत्र तथा पठन संस्कृतिको विकासका लागि महत्वपूर्ण पुस्तकहरु उपहारस्वरुप प्रदान गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.