Explore news and happenings at Bhaktapur

प्राविधिक जनशक्ति उत्पादनमा ख्वप इञ्जिनियरिङ कलेजहरुको ठूलो योगदान छ

सुनिल प्रजापति, प्रमुख भक्तपुर नगरपालिका

0

भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरुले शिक्षाको महत्वलाई बुझेर शैक्षिक विकासतर्फ पाइला चालेको आज १९ वर्ष भयो । २०५६ सालमा ख्वप उमावि स्थापनासँगै भनपाले शिक्षाको जग हालेको थियो । विभिन्न शैक्षिक संस्थाहरु स्थापना गर्दै त्यो पाइला निरन्तर अगाडि बढ्दैछ । २०५८ सालमा ख्वप इञ्जिनियरिङ कलेज र २०६५ सालमा ख्वप कलेज अफ इञ्जिनियरिङको स्थापना गरी देशको लागि आवश्यक प्राविधिक जनशक्ति उत्पादन गरिरहेको छ । प्राविधिक जनशक्ति उत्पादनमा हाम्रा कलेजहरुको ठूलो योगदान छ ।

नगरपालिकाले २ वटा इञ्जिनियरिङ कलेजसहित ६ वटा कलेज, १ वटा मावि र ६ वटा शिशुस्याहार केन्द्र सञ्चालन गर्दै आएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ लागू भएपछि मावि तहसम्मको जिम्मेवारी पनि नगरपालिकामा आयो । नगरभित्रका सामुदायिक र संस्थागत गरी ९२ वटा विद्यालयहरूको व्यवस्थापन पनि नगरपालिकाले गर्दै आएको छ । देशमा शिशु स्याहारदेखि कलेजसम्म सञ्चालन गर्ने नगरपालिका भक्तपुरमात्रै हो भन्दा फरक पर्दैन ।

यी कलेजहरू स्थापना गर्न जनप्रतिनिधिहरू, स्थानीय जनता र विशेषगरी नेपाल मजदुर किसान पार्टीका साथीहरूले निकै दुःख गर्नुभएको थियो । कलेजहरुको व्यवस्थापन, सञ्चालन र सुधारको निम्ति प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्ने ती सहयोगी हातहरुलाई आजको यस अवसरमा म भक्तपुर नगरपालिका र कलेजहरूको व्यवस्थापन समितिको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु ।

कलेजहरूको भौतिक संरचनाहरू निर्माण गर्दा हामीले विदेशीको सहयोग लिएका छैनौं, यसमा सरकारको सहयोग पनि छैन । सम्पूर्ण लगानी नगरपालिकाकै छ । आफ्नो क्षमताअनुसार अगाडि बढ्ने मानिस कसैसामु झुक्नु पर्दैन र स्वाभिमानीपूर्वक बा“च्न सक्छ भन्ने मान्यताका साथ हामीले काम गर्दैछौं । हामीले कसै सामु सहयोगको लागि हात थापेनौं ।

सरकारको गलत नीतिको कारण अहिले विद्यालय, कलेज, विश्वविद्यालयको भवन, पर्खाल, बगैंचा, पुस्तकालय, शौचालयजस्ता साना–तिना काम गर्नसमेत विदेशीको मुख ताक्ने बानीको विकास भएको छ । यसले हामीलाई परनिर्भरतातिर ढकेल्दै लानेछ । यो आर्थिक उदारीकरणकै परिणाम हो ।
संविधान अनुसार स्थानीय तहलाई ऐन बनाउने अधिकार छ । तर कतिपय स्थानीय तहहरूमा विधेयकहरुका मस्यौदा गर्ने, विकासका योजनाहरू निर्माण गर्ने जस्ता कामहरुसमेत एनजीओ र आइएनजिओहरुले गर्ने गरेको समाचारहरू आइरहेका छन् । एनजिओ र आइएनजिओहरुले तयार गरेका विधेयकहरुलाई औपचारिक रुपमा पारित गर्ने र उनीहरुले बनाइ दिएको विकास योजनाहरु अनुसार काम गर्ने हो भने हामी कति स्वतन्त्र र स्वाभिमान छौं भन्नेतर्फ पनि प्रशन उठ्न सक्छ । संघीयता कार्यान्वयनसँगै प्रदेशका मुख्यमन्त्रीहरूलाई घर भाडामा लिइ दिने र विदेशीकै खर्चमा योजना निर्माण गर्ने गरेको पनि सार्वजनिक जानकारीमा आएको छ । प्रदेश नं. ३ को नीति तथा योजना तर्जुमा अष्ट्रेलिया सरकारको सहयोगमा सञ्चालित डीएफएटी नाउँको आइएनजीओले गरेको र त्यो अष्ट्रेलियाका राजदूतको प्रत्यक्ष निर्देशनमा चल्ने गरेको बताइन्छ ।
काठमाण्डौमा हुने युनिभर्सल पीस फाउन्डेसनको कार्यक्रममा सरकारले करोडौं खर्च गर्ने कुरा बाहिर आएको छ । एउटा आइएनजीओको लागि खर्च गर्ने त्यो पैसाले हाम्रा जस्ता कलजेहरू बन्न सक्छन्, ख्वप अस्पताल जस्ता संरचनाहरु निर्माण हुन सक्छन् । जनताको समस्याबारे सरकार संवेदनशील भएन ।

विद्यालय, कलेज र विश्वविद्यालयको पाठ्यक्रम निर्माण गर्नेदेखि पाठ्यपुस्तक लेख्‍नेसम्ममा तिनीहरू सक्रिय छन् । स्थानीय तहदेखि केन्द्रीय सरकारसम्ममा विदेशीका प्रभाव बढ्दो छ । यस्तो जटिल अवस्थामा हामी कसरी स्वाभिमानीपूर्वक बाँच्ने हो भन्ने चुनौती हाम्रो सामु खडा छ । भक्तपुर नगरपालिका विदेशी पैसाको भरमा चल्ने एनजिओ र आइएनजिओबारे अत्यन्त सचेत छ ।

सरकारले कर्मचारीका छोराछोरीलाई छात्रवृत्तिमा पढाउने व्यवस्था गरेको छ । सुरेन्द्र पाण्डे अर्थमन्त्री हुँदा पास गरेको त्यो नीतिअनुसार हालसम्म २ हजार ८७७ जनाले छात्रवृत्तिमा पढिसकेको रेकर्ड छ । डाक्टर, इञ्जिनियर, नर्स, कृषि विज्ञानलगायत प्राविधिक भएका ती विद्यार्थीहरू कुन–कुन देशमा गएर काम गरिरहेका छन् । सरकारलाई पत्तो छैन । हामीले आर्थिक रुपले कमजोर विद्यार्थीहरुलाई त्यो सुविधा दिनु पर्नेमा जोड दियौं । हाम्रो सुझावलाई सरकारले बेवास्ता गर्‍यो । कति छात्रबृत्तिमा पढेका विद्यार्थीहरू आफ्नो जिम्मेवारीबाट भागे । त्यस्ता कर्तव्यच्यूतहरुलाई राज्यले कुनै कार्वाही गरेको छैन ।

हामीले ज्ञान र सीपको निम्ति शिक्षा हासिल गर्छौं । आफूले प्राप्त गरेको ज्ञान र सीप देशकै निम्ति प्रयोग गर्न आग्रह गर्छौं ।
नेपालमा अहिले विभिन्न बिषयका ९ वटा विश्वविद्यालयहरू छन् । ती विश्वविद्यालयहरु अधिकांशमा सामान्य शिक्षामात्रै दिने गरेको र अनुसन्धानमा सा¥है कममात्रै लगानी हुने गरेको बताइन्छ । भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय स्थापनामा जोड दिंदैछ । सरकारले ख्वप विश्वविद्यालयको विधेयक पारित गरि दिएको खण्डमा हामीले नयाँ नयाँ अनुसन्धानमा हाम्रा विद्यार्थीहरूलाई केन्द्रित गराउनेछौं । श्रमसँग जोडिएका शिक्षा दिनेछौं । देशले फरक किसिमको विश्वविद्यालय पाउनेछ । नेपाल सरकारसंग ख्वप विश्वविद्यालय विधेयक पारित गरि दिन हामी आग्रह गर्दछौं ।

अन्तमा,जनआन्दोलनबाट प्राप्त अधिकार कुनै पनि बहानामा खोस्न पाईंदैन । नेपाल शिक्षक महासंघबाट जारी विज्ञप्तिमा संविधानले मावि तहसम्म शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिएकोमा संघ सरकारलाई दिनुपर्ने माग गरिएको छ । यो अत्यन्त आपत्तिजनक बिषय हो ।
संघ सरकारमा बसेकाहरू स्थानीय सरकार बलियो भएको चाहँदैनन् । स्वास्थ्य राज्यमन्त्रीले केही समय अघि भक्तपुरकै एउटा कार्यक्रममा ‘शिक्षा र स्वास्थ्यको जिम्मा स्थानीय तहले लिन सक्दैन’ भनेर बोल्नुभयो । आज नेपाल शिक्षक महासंघ त्यही आसयको माग गर्दै संविधान संशोधन गर्न बन्द हड्तालमा उत्रेको छ । शिक्षक महासंघ पेशागत हक हितको काम गर्ने संगठन हुनु पर्छ । जन अधिकार खोस्ने माग कडापि राम्रो होइन । महासंघ जन अधिकार खोस्ने सरकारको हतियार नबनोस् ।
(भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिद्वारा ख्वप इञ्जिनियरिङ कलेजको १७ औं र ख्वप कलेज अफ इञ्जिनियरिङको १० औं वार्षिकोसत्व कार्यक्रममा २०७५ मंसिर १३ गते व्यक्त गर्नु भएको मन्तव्यको सार संक्षेप)

Leave A Reply

Your email address will not be published.