Explore news and happenings at Bhaktapur

ख्वप कलेजमा कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

भक्तपुर । २०८१ साउन ११, शुक्रबार

0
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालय र शारदा क्याम्पस माविमा कक्षा ११ अध्ययनको लागि भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । सोही अवसरमा कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले कलेजको प्रकाशन ‘ख्वप जर्नल भाग ६’ अनावरण गर्नुभयो ।
उक्त कार्यक्रमका बोल्दै अध्यक्ष बिजुक्छेँले देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको बताउदै विद्यार्थीहरुलाई प्रगतिशील राजनीति गर्न विद्यालय तहदेखि नै प्रेरित गर्नुपर्छ भन्नुभयो ।
पु“जीवादी व्यवस्थालाई टिकाइराख्न वा स्थायित्व दिन वर्तमान शिक्षा व्यवस्थाले सहयोग गरिरहेको बताउँदै उहाँले शिक्षा क्षेत्रमा भइरहेको व्यापक निजीकरण र व्यापारीकरण यसका ज्वलन्त उदाहरण भएको बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले युवा विद्यार्थीहरु अध्ययन र रोजगारीको सिलसिलामा विदेशिने क्रम झन्झन् बढ्दै गइरहेको बताउँदै सरकारले युवाहरुलाई स्वदेशमै रोजगारीको बन्दोबस्त नगरेसम्म युवाहरुको विदेशिने क्रमलाई रोक्न नसकिने बताउनुभयो ।
साम्राज्यवादी देशहरुले नेपालीहरुको श्रमशोषण गरी सस्तो ज्यामी बनाइरहेको छ भन्नुहुँदैै उहाँले सरकार स्वयम्ले साम्राज्यवादी देश र म्यानपावर कम्पनीहरुको दलाली काम गरिरहेकोमा आपत्ति जनाउनुभयो ।
विद्यार्थीहरु विदेशिने क्रम बढेसँगै नेपालका कलेजहरु बन्द हुने अवस्थामा पुगेको बताउँदै उहाँले विद्यार्थीहरुलाई नेपालमै उच्च शिक्षा हासिल गरी देशकै लागि सेवा गर्न शिक्षकहरुमार्फत मार्गनिर्देशन गरिरहनुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २०५६ सालमा स्थापना भएको ख्वप माविको जगमा हाल ८ वटा शैक्षिक संस्थाहरु स्थापना भएको बताउँदै यी संस्थाहरु सेवामुखी ढंगले जनताको सेवामा समर्पित भई आफ्नो उद्देश्य प्राप्तिको लागि सञ्चालन हुँदै आएका छन् भन्नुभयो ।
प्रमुख प्रजापतिले ख्वप सर्कलमा भर्ना हुन आएका विद्यार्थीहरुलाई योग्य र सक्षम बनाउने काममा कलेजले निरन्तर पहल गरिरहने बताउँदै विद्यार्थीहरुलाई शिक्षकसँग नजिक भएर अध्ययन गर्न सुझाव दिनुभयो ।
उहाँले ख्वप सर्कलभित्रै अन्य धेरै विषय लिई उच्च शिक्षा अध्ययन गर्ने व्यवस्था पनि कलेजले गर्दै आइरहेको बताउँदै ख्वप विश्वविद्यालय सञ्चालनको लागि नगरापलिकाले निरन्तर पहल गर्दै जाने बताउनुभयो ।
नेमकिपा बागमती प्रदेश सभा सदस्य मा. सुरेन्द्रराज गोसाइँले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरुले विद्यार्थीहरुको विश्वास जित्न सफल भइरहेको बताउनुभयो ।
उहाँले विद्यार्थीहरुको उच्ज्वल भविष्यको लागि कलेजले निरन्तर मेहनत गर्दै जाने विश्वास व्यक्त गर्दै विद्यार्थीहरुले आफ्नो कमजोरी र बलियो पक्ष पहिचान गरी आगामी बाटो तय गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर राजनैतिक, ऐतिहासिक, सामाजिक र सांस्कृतिक रुपमा सम्पन्न नगर भएको र अब यसले शैक्षिक क्षेत्रमा पनि फड्को मारिरहेको उहाँले बताउनुभयो ।
कलेज सञ्चालक समितिका उपाध्यक्ष एवम् उपप्रमुख रजनी जोशीले एसईई उत्तीर्ण विद्यार्थीहरुलाई बधाई र उज्ज्वल भविष्यको कामना गर्दै ख्वप सर्कलको उद्देश्य प्राप्तिमा नयाँ विद्यार्थीहरु जोडिन आएकोमा हर्ष व्यक्त गर्नुभयो ।
उहाँले कलेज स्थापनाको उद्देश्य प्राप्तिमा शिक्षक, विद्यार्थी र अभिभावकको संयुक्त प्रयास जरुरी रहेको बताउँदै शिक्षाकै माध्यमबाट समाजलाई बुद्धिजीवीकरण गर्न मद्दत पुग्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भटुटराईले जीवनको नयाँ सुरुवात ख्वप कलेजबाट गरेकोमा विद्यार्थीहरुलाई बधाई एवम् शुभकामना दिँदै ख्वप सर्कल एउटा पृथक उद्देश्य लिएर अगाडि बढेको सामाजिक संस्था भएको बताउनुभयो ।
ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले ख्वप कलेजमा अध्ययन गर्न आउने विद्यार्थीहरुलाई अझ सफल बनाउन कलेज परिवार निरन्तर प्रयासरत रहने बताउँदै ख्वप कलेजप्रति अपनत्व कायम गरी विद्यार्थीहरुले आफ्नो आगामी यात्रालाई अझ सहज बनाउन सकिने बताउनुभयो ।
एसईईमा प्राप्त अंकलाई अझ उच्च राख्न मेहनतका साथ अध्ययन गर्न मार्गनिर्देश गर्दै उहाँले भक्तपुर नपाले ख्वप विश्वविद्यालय सञ्चालन गर्न लिएको उद्देश्य एकदिन पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले विद्यार्थी जीवनमा जति व्यापक दृष्टिकोणले अध्ययन गरिन्छ त्यसले विद्यार्थीको व्यक्तित्व विकासमा कालान्तारसम्म सहयोगी भूमिका खेलिरहने बताउनुभयो । आफ्नो उद्देश्य प्राप्ति गर्न विद्यार्थीहरुले कहिल्यै पछि हट्न नहुने सुझाव दिँदै उहाँले अग्रजको मार्गनिर्देशनमा अगाडि बढ्न विद्यार्थीहरुलाई सजिलो हुने बताउनुभयो ।
त्यस्तै ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य इ. सुजन माकले अभिमुखीकरण कार्यक्रमलाई विद्यार्थीहरुले मार्गनिर्देशनको रुपमा ग्रहण गरी विद्यालय तहमा मेहेनत गरेअनुरुप उनीहरुको भविष्य पनि निर्धारण हुने बताउनुभयो ।
कार्यक्रममा ख्वप मावि र शारदा क्याम्पसका प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्यले २०८१ मा ख्वप मावि र शारदा कलेजमा ५६ जिल्लाका १ हजार ६८० जना विद्यार्थीहरु भर्ना भएको तथ्यांक प्रस्तुत गर्नुभयो ।
उक्त कार्यक्रममा प्रहरी निरीक्षक सानु श्रेष्ठले विद्यार्थीहरुलाई लागूऔषध दुव्र्यसन, साइबर अपराध र यौनजन्य अपराधलगायतका कुलतबाट टाढा राख्न अभिभावक र कलेजले आवश्यक सचेतना कार्यक्रमहरु आयोजना गर्नुपर्ने बताउनुभयो ।
उक्त कार्यक्रममा प्रा.डा. सिद्धिविर कर्माचार्यले सहिद स्मृति छात्रवृत्ति अक्षय कोष स्थापना गरी छात्रवृत्ति रकम रु. ४ लाख ४४ हजार ४४४ बराबरको छात्रवृत्ति रकम कलेजलाई हस्तान्तरण गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.