Explore news and happenings at Bhaktapur

एसईई उत्तीर्ण विभिन्न खेलका प्रशिक्षार्थी खेलाडीहरुलाई सम्मान कार्यक्रम

भक्तपुर । २०८१ असार २०, बिहीबार

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षा मानव जीवनको महत्वपूर्ण आधार भएको बताउँदै मानिसमा भएको भौतिक गुणहरु नष्ट नभए पनि कोहीद्वारा प्राप्त शिक्षा उसको जीवनमा सँधै रहिरहन्छ भन्नुभयो ।
भक्तपुर नगरपालिकाको आयोजनामा भएको २०८० सालको एसईई परीक्षामा उत्तीर्ण प्रशिक्षार्थी खेलाडीहरुलाई बधाईज्ञापन तथा मार्गनिर्देशन कार्यक्रममा बोल्दै उहाँले खेलाडीहरुले आफ्नो खेल जीवनसँगै विद्यालय शिक्षालाई पनि सँगसँगै अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो ।
समयमा परीक्षा नहुने, पाठ्यपुस्तक नपुग्ने, विषयगत शिक्षकको अभाव र चोरी गरेर पास गर्नाले एसईई परीक्षामा धेरै परीक्षार्थी अनुत्तीर्ण भएको बताउँदै उहाँले सबै विषय लागेका विद्यार्थीहरुलाई मौका परीक्षा दिन पाउने व्यवस्थाले देशको समग्र शैक्षिक गुणस्तर नै खस्कने खतरा निम्तिएको बताउनुभयो ।
युवाहरु कक्षा १२ पास हुनेबित्तिकै रोजगारीको लागि विदेशिने क्रम बढ्दै गइरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले विदेशीको सहयोगमा हाम्रो देश बनाउने नभई हामी आफैले हाम्रो देशलाई बनाउनुपर्छ भन्ने भावना युवाहरुमा जागृत गर्न आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले भक्तपुर नपाले खेलाडीहरुलाई प्रोत्साहित गर्ने कार्य गर्दै आइरहेको बताउँदै युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न सरकारले उचित कदम चाल्नुपर्ने बताउनुभयो ।
उक्त कार्यक्रममा युवा तथा खेलकुद समितिका सदस्य उपेन्द्र सुवाल, लक्ष्मीप्रसाद ह्यौंमिखा, भक्तपुर जिल्ला भलिबल संघका अध्यक्ष विनोदचरण राय र सदस्य रामसुन्दर बासीले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.