Explore news and happenings at Bhaktapur

बासु माविका निवर्तमान प्रअ न्याइच्याइको बिदाइ एवम् सम्मान तथा नवनियुक्त प्रअ प्रधानको स्वागत कार्यक्रम

भक्तपुर । २०८१ असार १६, आइतबार

0
बासु माध्यमिक विद्यालयमा निवर्तमान प्रधानाध्यापक अम्बिका न्याइच्याइको बिदाइ एवम् सम्मान तथा नवनियुक्त प्रधानाध्यापक रविलाल प्रधानको स्वागत कार्यक्रम आइतबार सम्पन्न भयो । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि सुवालले निर्वातमान प्रअ न्याइच्याइलाई सम्मान एवम् बिदाइ र नवनियुक्त प्रअ प्रधानलाई स्वागत गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुवालले सक्षम नेतृत्वले विद्यालयमा भएका समस्यालाई सहज तरिकाले हल गर्न सक्ने बताउँदै उहाँले विद्यालय शिक्षाको जगलाई बलियो पार्नेतर्फ विद्यालयहरुले जोड दिनुपर्ने बताउनुभयो ।
एसईई परीक्षामा धेरै प्रतिशत विद्यार्थीहरु अनुत्तीर्ण हुनुमा सरकार दोषी भएको बताउँदै उहाँले देशभरिका विद्यालयको भौतिक सुविधा र शैक्षिक गुणस्तरमा समानता भए मात्र विद्यालयको नतिजा राम्रो हुन सक्ने बताउनुभयो ।
यौनजन्य हिंसा, घरेलु हिंसाबाट बचाउन किशोर–किशोरीहरुलाई विद्यालयमै आत्मरक्षाको तालिम दिनुपर्नेमा जोड दिँदै सांसद सुवालले समाजलाई अन्धविश्वास र कुरितीबाट टाढा राखी विज्ञानसम्मत ढंगले अगाडि बढाउन आवश्यक भएको बताउनुभयो ।
संसारका उत्कृष्ट शैक्षिक प्रणाली भएका देशबाट नेपालले सिक्न जरुरी भएको बताउँदै उहाँले विद्यार्थीहरुलाई पढाइसँगसँगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल बनाउन सके व्यक्तित्व विकासमा सहजता मिल्ने बताउनुभयो ।
गणित, विज्ञान र अंग्रेजी विषयका शिक्षकहरु अभावले गर्दा धेरै विद्यार्थीहरु यी विषयमा अनुत्तीर्ण भएका हुन् भन्दै उहाँले अब्बल विद्यार्थीहरुलाई विद्यालयजीवनदेखि शिक्षक बन्न प्रेरित गर्नुपर्ने बताउनुभयो ।
उक्त कार्यक्रमका विशेष अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यालयको भौतिक विकास सँगसँगै शैक्षिक गुणस्तरमा पनि जोड दिनुपर्ने बताउँदै विद्यालयको विकासको लागि सक्षम नेतृत्वको आवश्यकता पर्ने र नेतृत्वले सामूहिक रुपमा काम गर्न प्रेरित गर्नुभयो ।
विद्यालयको शैक्षिक, भौतिक पूर्वाधार सुधारमा प्रअ, व्यवस्थापन समिति र शिक्षक, अभिभावक सबैको महत्वपूर्ण भूमिका रहने बताउँदै कुनै पनि संस्था बलियो, सक्षम हुनका निम्ति नेतृत्वको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
सामुदायिक शिक्षा राम्रो भए निजी विद्यालयहरु स्वतः रुपमा कम हुँदै जाने बताउँदै उहाँले संघ सरकारले संविधानले नदिएको अधिकार प्रयोग गरेर विद्यालय शिक्षालाई गिजोल्ने र स्थानीय सरकारको अधिकार खोस्ने काम बन्द गर्नुपर्ने बताउनुभयो ।
बासुबाट सरुवा भइ जानुभएका बासुका निवर्तमान प्रअ अम्बिका न्याइँच्याइँले बासु माविमा प्रअको रुपमा आफ्नो भूमिकाबारे अनुभव सुनाउँदै विद्यालयलाई आजको अवस्थामा ल्याइपु¥याउन सहयोग गर्नुहुने शिक्षक–कर्मचारीहरुमा कृतज्ञता ज्ञापन गर्नुभयो । उहाँले आफूमा भएको ज्ञापन र सीपबाट आगामी दिनमा भक्तपुरको शिक्षालाई अझ अगाडि बढाउन कटिबद्ध भइ लाग्ने बताउँदै उहाँले बासु माविमा आफ्नो अनुभव अविस्मरणीय रहेको बताउनुभयो ।
नवनियुक्त प्रअ रविलाल प्रधानले गौरवपूर्ण इतिहास बोकेको बासु माविलाई आफ्नो कार्य क्षेत्र बनाउन पाउँदा गौरवान्वित महसुस भएको बताउँदै बासु माविलाई अझ उचाइमा पु¥याउन र जीवन्त राख्न सँधै प्रतिबद्ध भइ कार्य गर्ने बताउनुभयो । उहाँले विद्यालय व्यवस्थापन समितिको मार्गनिर्देशन, बुद्धिजीवीहरुको सल्लाह र शिक्षक कर्मचारीहरुसँग समन्वयमा रही काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बासुकलाले भक्तपुरको शिक्षा विकासमा बासु माविको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै नयाँ नेतृत्वबाट विद्यालयको प्रगति र उन्नतिमा अझ नवीनत्तम कार्यहरु हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य विष्णुप्रसाद दुमरु र सहायक प्रअ राजकुमार ह्यौंमिखाले शुभकामना मन्तव्य राख्नुभएको थियो भने अंग्रेजीका शिक्षक राम निरौलाले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.