भक्तपुर स्थानीय पथ प्रदर्शक पुनर्ताजगी तालिम सम्पन्न
मिति २०८१ असार १६ गते, भक्तपुर
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजपातिको प्रमुख अतिथ्यमा भक्तपुर नगरपालिका र भक्तपुर पर्यटन विकास समितिको संयुक्त आयोजनामा सञ्चालित २० दिने स्थानीय पथप्रदर्शक पुनर्ताजगी तालिम समापन समारोह सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले पर्यटकहरुलाई सन्तोष पार्न सके विज्ञापनको भन्दा प्रभावकारी हुने बताउँदै स्थानीय पथप्रदर्शकहरु भक्तपुरको सूचना प्रवाहक र अनौपचारिक राजदुतको रुपमा रहने भएकोले भक्तपुर आउने स्वदेशी र विदेशीलाई सही र तथ्यपरक जानकारी दिनुपर्ने बताउनु भयो ।
उहाँले तालिमका प्रशिक्षकहरुले उहाँहरुको वर्षौंको अध्ययन र अनुभवबाट सिकेका ज्ञान र सीपलाई प्रशिक्षणको क्रममा स्थानीय पथप्रदर्शकहरुलाई दिइएको सीप आफ्नो कार्य क्षेत्रमा सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । पथप्रदर्शकहरुले आफ्ना कमी कमजोरीहरुलाई सच्याउँदै नराम्रा बानी व्यहोरा छोडेर अनुशासित र मर्यादित रुपमा पर्यटकहरुलाई सही र जानकारीमूलक सूचना दिनुपर्ने बताउनुभयो । आन्तरिक र बाह्य पर्यटनलाई ध्यानमा राखेर संकटको समयमा पनि हतोत्साहित नभई प्रतिकुलतालाई अनुकुलतामा बद्लेर अगाडि बढ्नुपर्नेमा जोड दिंदै निरन्तर अध्ययन गर्नुपर्ने बताउनुभयो ।
देशको साँस्कृतिक सम्पदा पर्यटनको आधारको रुपमा रहेको भए तापनि तीन तहका सरकार र सरोकारवाला कार्यालयहरु बीच समन्वय र सहकार्य हुन नसक्दा २०७२ सालको विनाशकारी भूकम्पले क्षति पु¥याएका देशका धेरै सम्पदाहरु हालसम्म पनि पुनर्निर्माण हुन नसकेकाले पर्यटन उद्योगको विकासमा नकारात्मक प्रभाव परिरहेको जानकारी गराउनुभयो । देशले अधिक पर्यटक आगमनको लक्ष्य राख्नलाई सो को लागि आवश्यक पूर्वाधारहरु निर्माण गर्नुपर्नेमा सरकारको ध्यान नपुग्नु विडम्बना भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले पर्यटनको आधारको रुपमा रहेका मूर्त र अमूर्त साँस्कृतिक सम्पदाहरु संरक्षण गर्दै पर्यटन उद्योगको लागि आवश्यक सीपयुक्त जनशक्ति तयार पार्न विभिन्न भाषा र सीपमूलक तालिम प्रदान गर्दै आएको उहाँले जानकारी गराउनु भयो । स्थानीय पथप्रदर्शकहरुले पनि भक्तपुरको पर्यटन विकासको लागि तालिमबाट सिकेको ज्ञान र सीपलाई सही ढंगले सदुपयोग गरी योगदान गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराईले पर्यटन आर्थिक आयआर्जनको मात्र साधन नभइ साँस्कृतिक आदानप्रदानको माध्यम समेत रहेको बताउनु हुँदै स्थानीय पथप्रदर्शकहरुले सभ्य सुसंस्कृत व्यवहारबाट पाहुनाहरुलाई सेवा दिनुनपर्ने बताउनु भयो ।
कार्यक्रमका अतिथि नेपाल, इतिहास, संस्कृति तथा पुरातत्व विभागका प्रमुख (त्रि.वि.वि) महेश कुमार आचार्यले भक्तपुर आदर्श र अनुकरणीय नगरको रुपमा रहेको स्मरण गर्दै स्थानीय पथप्रदर्शकहरुले देशको सम्पदा इतिहास संस्कृति र पुरातत्वबारे राष्ट्रिय र अन्तराष्ट्रिय पर्यटकहरुलाई सही सूचना प्रवाह गर्दै भक्तपुरको छविलाई अझ उज्यालो पार्ने विश्वास व्यक्त गर्नुभयो ।
समापन समारोहका सभापति एवम् भक्तपुर नगरपालिका वातावरण तथा पर्यटन समितिका संयोजक रविन्द्र ज्याख्वले भक्तपुरका सबै स्थानीय पथप्रदर्शकहरुले दिने सूचना र जानकारीमा एक रुपता हुनुपर्ने, मूर्त र अमूर्त सम्पदाको सूचना जारी गर्दा भौतिकवादी दृष्टिकोणले यसका निर्माणकर्ता कलाकारहरुको योगदानहरुलाई प्रकाश पार्नुपर्ने र स्थानीय र वाह्य पर्यटन दुवैलाई जोड दिनुपर्ने बिचार व्यक्तगर्नुभयो ।
कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गर्र्दै स्थानीय पथप्रदर्शक परिचालन समितिका संयोजक गौतमप्रसाद लासिवाले यो २० दिने पुनर्ताजगी तालिम अन्य भन्दा पृथक, प्रभावकारी, उपयोगी र व्यवहारिक भएको बताउँदै यसका प्रशिक्षकहरु सबै जनाआ—आफ्नो क्षेत्रका विज्ञ र अनुभवीहरु रहेको हुँदा प्रशिक्षार्थीहरुले प्रशिक्षणमा सिकाइएका सीप र ज्ञानलाई पथप्रदर्शकहरुले कार्य क्षेत्रमा सदुपयोग गरी पर्यटन उद्योगको विकासलाई योगदान दिनुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दिपेशराज शर्माले भक्तपुर नगरपालिकाको स्थानीय पथप्रदर्शक व्यवस्थापन र परिचालन अन्य पर्यटकीय स्थलहरुको लागि समेत सिकाइको विषय भएकोले तालिम प्राप्त स्थानीय पथप्रदर्शकहरुले उदाहरणीय काम गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिका वातावरण तथा पर्यटन समितिका सदस्य मञ्जुमैया लाखाले सञ्चालन गरेको कार्यक्रममा प्रशिक्षार्थीको तर्फबाट विष्णुप्रसाद सुवालले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि सुनिल प्रजपातिले भक्तपुर स्थानीय पथप्रदर्शकहरुको बीस दिने पुनर्ताजगी तालिममा सहभागी प्रशिक्षार्थीहरु ५० जनालाई प्रमाण पत्र र प्रशिक्षकहरु २३ जनालाई सम्मान पत्रवितरण गर्नुभएको थियो ।



