Explore news and happenings at Bhaktapur

सुकुन्दा बचत तथा ऋण सहकारी संस्थाको एघारौं साधारणसभा सम्पन्‍न

भक्तपुर, २०७५ मंसिर २२ गते शनिबार।

0

सुकुन्दा बचत तथा ऋण सहकारी संस्थाको एघारौ‌ साधारणसभा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको आतिथ्यमा शनिबार सम्पन्न भयो ।


कार्यक्रममा अतिथि प्रजापतिले सहकारीले सदस्यहरूको सांस्कृतिक र राजनीतिक स्तर उठाउन राजनीतिक कक्षा सञ्चालन गर्नुका साथै नियमितरूपमा खेलकुद र साहित्यिक गतिविधिहरू सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘सबै क्षेत्रमा गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले प्रभाव बढाउदै लगेको छ । राज्यसमेत अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको पछि लाग्नुपर्ने स्थिति आएकोले हामी सबै सचेत हुनु आवश्यक छ ।’’


भनपाले स्थानीय पाठ्यक्रम लागू गरिसकेको जानकारी गराउनुहुँदै प्रमुख प्रजापतिले विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तिहरूको योगदानबारे नयाँ पुस्तालाई सुसूचित गर्नुपर्ने आवश्यकता ठानी स्थानीय पाठ्यक्रममा भक्तपुरमा जन्मेर राजनीतिक, सांस्कृतिक, सामाजिकलगायतको क्षेत्रमा देशको लागि महत्त्वपूर्ण योगदान गरेका व्यक्तिहरूको जानकारी समावेश गरेको बताउनुभयो ।
नेपाल शिक्षक महासङ्घले आन्दोलनको नाउँमा स्थानीय तहले प्रयोग गर्दै आएको शिक्षाको अधिकारलाई केन्द्रमा सुम्पने कोसिस गरिरहेको संविधान र सङ्घीयताको मर्मविपरीत रहेको उहाँले चर्चा गर्नुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, ‘‘अधिकांश मानिस कुनै न कुनै रूपमा सहकारीसित जोडिएको हुँदा सबै सदस्यहरू राम्रो भए समाज सभ्य र सुसंस्कृत हुन्छ ।’’
भनपा वडा नं. ७ का वडा अध्यक्ष उकेश कवांले समाजवादी आन्दोलनलाई सहयोग गर्ने उद्देश्यले सहकारीले गतिविधिहरू सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
संस्थाका अध्यक्ष सानुकाजी त्वानावासुको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका सल्लाहकार विश्वराम कवां, शिक्षक आशाकुमार चिकंबञ्जार, रामगोपाल कर्माचार्यलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा राजन माक, राजभाइ माक, श्रीकृष्ण गोसाईले समितिहरूको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.