Explore news and happenings at Bhaktapur

भनपामा कानूनी साक्षरता कार्यक्रम

भक्तपुर, २०७५ मंसिर २१ गते शुक्रबार ।

0

भक्तपुर नगरपालिकाकोे आयोजनामा शुक्रबार ‘लै‌ङ्गिक हिंसाविरुद्धको १६ दिने राष्ट्रिय अभियान’ अन्तर्गत कानूनी साक्षरता कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यार्थीहरुमा प्रमाणपत्र भन्दा पनि व्यवहारिक ज्ञान, तालिम र सीपको आवश्यकता रहेको र वर्गीय समानताको निम्ति निरन्तर संघर्ष आवश्यकता रहेको बताउनुभयो । योग्य व्यक्तिले योग्यताअनुसारको अवसर प्राप्त गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।


उहाँले भन्नुभयो – ‘गुण्डा, तस्करलाई राजनीतिमा निषेध गर्नको निम्ति इमानदार व्यक्तिहरुले राजनीति गर्नुपर्छ । राजनीति पद र पैसाको निम्ति नभई शोषित पीडित जनताको हकहितको निम्ति हुनुपर्छ ।’

खराब आचरणका व्यक्तिहरुलाई समाजमा बहिष्कार गरी शोषित–पीडितको अधिकारको निम्ति आवाज उठाउनुपर्छ भन्नुहुँदै प्रमुख प्रजापतिले नयाँ पुस्तामा स्वार्थी भावनाको विकास मौलाउँदै गएको हुँदा राजनीतिक र व्यवहारिक ज्ञानमार्फत् सचेत बनाउँदै लानुपर्ने बताउनुभयो ।

कार्यक्रममा न्यायिक समितिका संयोजक एवम् भक्तपुर नपा उपप्रमुखले भक्तपुर नगरपालिका न्यायिक विधिमा पनि अग्रस्थानमा रहेको बताउनुहुँदै नगरवासीको हकहितको निम्ति विभिन्न सीपमूलक तालिम सञ्चालन गरेको बताउनुभयो । उहाँले न्यायिक संरचनाबारे प्रस्तुती दिनुभयो ।

कार्यक्रममा अधिवक्ता अनिता जधारीले मुलुकी देवानी (संहिता) ऐन, २०७४ र मुलुकी अपराध (संहिता) ऐन २०७४ को बारेमा जानकारी दिनुहुँदै लैङ्गिक विभेद सम्बन्धी कार्यपत्र समेत प्रस्तुत गर्नुभयो ।


महिला वालवालिका तथा समाज कल्याण समितिका संयोजक एवम् कार्यपालिका सदस्य रोशनमैंया सुवालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा भनपा वडा नं. ३ का वडाअध्यक्ष राजकृष्ण गोरा, समितिका सदस्य एवम् कार्यपालिका सदस्य कृष्णलक्ष्मी दुवालले महिला हिंसाबारे बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.