ब्रम्हायणी परिसरमा नाक, कान, घाँटी तथा दन्त शिविर कार्यक्रम सम्पन्न
भक्तपुर, जेठ १० ।
भक्तपुर नगरपालिका ९ नं. वडा कार्यालयको आयोजनामा शनिबार ब्रम्हायणी परिसरमा नाक, कान, घाँटी तथा दन्त शिविर कार्यक्रम सम्पन्न भयो ।
शिविर कार्यक्रममा बोल्नुहुदै भक्तपुर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष रविन्द्र ज्याख्वले नियमित रुपमा स्वास्थ्य परिक्षण गर्नुपर्ने कुरामा जोड दिनुहुदै स्वास्थ्य बिमाको लाभ लिनुपर्ने समेत बताउनुभयो ।
साथै उहाँले ब्रम्हायणी पिठ, घाट तथा खोला सुधारका वातावरणीय कार्यहरु क्रमशः अगाडी बढिरहेको पनि बताउनुभयो ।
त्यस्तै सोही कार्यक्रममा भक्तपुर नगरपालिका वडा न ९ का वडा सदस्य एवं कार्यपालिका सदस्री छोरीमैया सुजखु प्रजापतिले नगरपालिकाले नगरवासीहरुको स्वास्थ्यलाई ध्यानमा राखी स्वास्थ्य कार्यक्रम तथा शिविर आयोजना गरेको बताउनुभयो । उहाँले नगरपालिकाको घोषणापत्र बमोजिम गतिविधि गर्दै आइरहेको र मानव जिवनको स्वास्थ्य राम्रो भएमा जिवनमा लक्ष्य समेत हासिल गर्न सकिने चर्चा गर्नुभयो ।
ख्वप अस्पतालका डा. बेलु कायस्थले अहिलेको समयमा कानको समस्या बढिरहेकोले कानको परिक्षण समय समयमा गर्नुपर्ने र कान पाक्ने समस्या जटिल अवस्थामा रहेकोले औषधि उपचार समयमै गर्नुपर्ने बताउनुभयो ।
उक्त कार्यक्रममा वडा सदस्य ज्ञानबहादुर मानन्धर, वडा नर्स दिव्या सुवाल, स्वास्थ्य स्वयंसेविका मनेश्वरी कोजुले पनि बोल्नुभएको थियो ।
उक्त शिविरमा १०३ जनाले नाक, कान, घाँटीको परिक्षण गरेका थिए भने ८७ जनाले दन्त परिक्षण गरेका थिए । ख्वप अस्पतालको प्राबिधिक सहयोग रहेको उक्त शिविरमा नि:शुल्क औषधि समेत वितरण गरिएको थियो ।