Explore news and happenings at Bhaktapur

दुई दिने पुरातात्विक सम्पदा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण सम्पन्न

मिति २०८१ जेष्ठ ९ गते बुधबार ।

0
प्रदेश सुशासन केन्द्र, बागमतीको आयोजनामा जेठ ८ र ९ गते सम्पन्न दोस्रो चरणको पुरातात्विक सम्पदा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रमको बुधबार भक्तपुर नगरपालिकाको सभाकक्षमा समापन भएको छ ।
समापन कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विकासको सन्दर्भमा भक्तपुर नगरपालिका र अन्य स्थानीय तहको कार्यशैलीबीचको भिन्नताबारे प्रष्ट पार्दै सम्पदा संरक्षण आफैमा विकास हो भन्नुभयो ।
उहाँले भक्तपुर नपाले यहाँ रहेका सार्वजनिक सम्पत्ति संरक्षण गरी देशकै सम्पत्ति संरक्षण भएको बताउँदै सम्पदालाई सम्पत्तिको रुपमा ग्रहण गरी यहाँका पुरातात्विक एवम् ऐतिहासिक सम्पदाहरुको जीर्णोद्धार र पुनःनिर्माणमा जोड दिँदै आएको बताउनुभयो ।
पर्यटन शुल्क भक्तपुर नपाको मुख्य आयस्रोत भएको बताउँदै पर्यटन प्रवद्र्धनमा पनि भक्तपुर नपाले विशेष जोड दिँदै आइरहेको प्रष्ट पार्नुभयो ।
संघ र प्रदेशले पठाउने समानीकरण अनुदान बढाउनुपर्नेमा सशर्त अनुदान बढाई संघ र प्रदेशले स्थानीय तहलाई नियन्त्रण गर्न खोजिरहेको बताउँदै उहाँले चालु आ.व. २०८०।८१ को बजेटमा बागमती प्रदेशले भक्तपुर नगरपालिकालाई समपुरक अनुदान र विशेष अनुदान शीर्षकमा बजेट नपठाउनु निन्दीय विषय हो भननुभयो ।
प्रमुख प्रजापतिले तालिममा सहभागी २० वटा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरुलाई भक्तपुर नपाका प्रकाशनहरु उपहारस्वरुप प्रदान गर्नुभएको थियो ।
तालिमको उद्घाटन सत्रमा भनपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपाको सम्पदा संरक्षणबारे प्रस्तुतीकरण देखाउनुभएको थियो भने समापन कार्यक्रममा प्रदेश सुशासन केन्द्रका उपनिर्देशक विनोद विडारीलगायतले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.