Explore news and happenings at Bhaktapur

श्रमको सम्मान गर्ने संस्कृतिको निर्माण गर्नुपर्छ : प्रमुख प्रजापति

भक्तपुर । २०८० फागुन १८ गते, शुक्रबार

0
भक्तपुर नगरपालिकाद्वारा सञ्चालन गरिने हाउस वायरिङ र आधारभूत कम्प्युटर तालिमका लागि आवेदन दिएका प्रशिक्षार्थीहरुको अभिमुखीकरण कार्यक्रम शुक्रबार भक्तपुर नपाको सभाकक्षमा सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले नेपालमा सीपयुक्त जनशक्तिको अभाव रहेको बताउँदै जनशक्तिलाई योग्य र दक्ष बनाउन भक्तपुर नपाले विभिन्न सीपमूलक र जीवनउपयोगी तालिमहरु सञ्चालनलाई जोड दिँदै आएको बताउनुभयो ।
सीपमूलक तालिम र दक्ष जनशक्ति उत्पादन तथा विकासमा भक्तपुर नपाले आवश्यक पहल गरिरहेको बताउँदै उहाँले देशलाई गरिबीबाट मुक्त गर्न युवाहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था गरिनुपर्ने बताउनुभयो ।
तालिमले युवाहरुलाई सीप आर्जन र रोजगारीको अवसर सिर्जना गर्नुका साथै आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उहाँले विदेशबाट सिकेर आफ्नै देशको सेवा गर्ने भावना युवाहरुमा दिनुपर्ने बताउनुभयो ।
श्रमको सम्मान गर्ने संस्कृतिको निर्माण गर्नेतर्फ सबैको प्रयास जरुरी रहेको बताउँदै प्रमुख प्रजापतिले श्रमको सम्मान गर्न सके मात्र देश विकासको सम्भावना रहने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराइले तालिममा सहभागी प्रशिक्षार्थीहरु अनुशासन र समय परिपालनामा विशेष जोड दिन आग्रह गर्दै तालिमको सही सदुपयोग गरी आत्मनिर्भर बन्न प्रेरित गर्नुभयो ।
त्यस्तै भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले भक्तपुर नगरपालिकाद्वारा सञ्चालन गरिने हाउस वायरिङ तालिम मिति २०८० फागुन २० गते आइतबार र आधारभूत कम्प्युटर तालिम मिति २०८० फागुन २७ गते आइतबार बिहान ७ बजेबाट प्रारम्भ हुने र सो तालिम भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थान, कमलविनायकमा हुने जानकारी गराउनुभयो ।
कार्यक्रममा कम्प्युटर तालिमका प्रशिक्षक सुनिल दथेपुथे र हाउस वायरिङका प्रशिक्षक पुन्यराम बासीले पनि तालिमको आवश्यकता र महत्वमाथि प्रकाश पार्नुभयो ।

Leave A Reply

Your email address will not be published.