Explore news and happenings at Bhaktapur

छुट जग्गा दर्ता विषय अभिमुखीकरण

भक्तपुर । २०८० फागुन १७ गते, बिहीबार

0
भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरपालिकाका जनप्रतिनिधि, शाखा प्रमुख, वडा सचिव, प्रमुख मालपोत अधिकृत र नापी कार्यालयका प्रमुख समेतको उपस्थितिमा छुट जग्गा दर्ता प्रक्रिया, सरकारी र सार्वजनिक जग्गा संरक्षण विषयमा अभिमुखीकरण कार्यक्रम बिहीबार भक्तपुर नपाको सभाकक्षमा सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्थानीय सरकारहरूका लागि जग्गा दर्ताको विषयमा जटिल र चुनौतीपूर्ण कार्य भएको बताउँदै जग्गा दर्ता प्रक्रियामा सरोकारवाला भन्दा पनि बिचौलियाहरू सक्रिय हुनेबारे सबै सचेत हुनुपर्ने विचार राख्नुभयो ।
सरकारी र सार्वजनिक जग्गा संरक्षणमा भक्तपुर नपाले निरन्तर पहल गर्दै आएको बताउँदै उहाँले सार्वजनिक सम्पत्ति व्यक्तिको नाउँमा हुनु भ्रष्टाचार भएको हुँदा छुट जग्गा दर्ता गर्ने प्रक्रियामा मालपोत, भूमिसुधार र नापी कार्यालयबाट आवश्यक समन्वय र सहयोग हुनुपर्ने उहाँले बताउनुभयो ।
त्यस्तै भक्तपुरका प्रमुख मालपोत अधिकृत लोकबहादुर भण्डारीले सरकारले यसअघि भोगचलन गरिरहेका तर दर्ता हुन नसकेका जग्गाको छुट दर्ताको लागि दुई वर्षभित्र जग्गा दर्ताको समय निर्धारण गरेको बताउनुभयो । छुट जग्गा दर्ता गर्ने सरकारको साहसिक निर्णय भएको बताउँदै उहाँले सरकारी र सार्वजनिक जग्गा संरक्षण तीन तहकै सरकारको दायित्व भएको बताउनुभयो ।
कानुनको अज्ञानता क्षम्य नहुने बताउँदै उहाँले गलत सिफारिस नहोस् भन्ने उद्देश्यले भक्तपुरको चारवटै नगरपालिकामा छुट जग्गा दर्ता विषयमा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको बताउनुभयो ।
नेपाल सरकारका पूर्व उपसचिव बद्रीबहादुर कार्कीले छुट जग्गा दर्ता प्रक्रियाबारे प्रस्तुतीकरण देखाउँदै आवेदन दिएकै भरमा जग्गा दर्ता हुने नभई जग्गाको लगत, तिरो तिरेको प्रमाण र भोगचलनको औचित्य पुष्टि गरेर मात्रै जग्गा दर्ताको निर्णय हुने प्रक्रिया रहेको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.