Explore news and happenings at Bhaktapur

शान्ति निकेतन माध्यमिक विद्यालयको ५४ औं वार्षिकोत्सव सम्पन्न

भक्तपुर । २०८० फागुन १७ गते, बिहीबार

0
भक्तपुर नपा वडा नं. ४ राममन्दिरस्थित शान्ति निकेतन माध्यमिक विद्यालयको ५४ औं वार्षिकोत्सव तथा शिक्षक सम्मान कार्यक्रम आज विद्यालय प्रांगणमा सम्पन्न भयो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षाको बलियो जगले समाजलाई सभ्य र सुसंस्कृत बनाउन टेवा पुर्याउने बताउँदै सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले भक्तपुर नपाले विभिन्न विषयका कलेजहरु आफ्नै स्वामित्वमा सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।
आजको शिक्षाको उद्देश्य २१ औं शताब्दीको लागि योग्य, सक्षम र देशभक्त नागरिक तयार गर्ने बताउँदै उहाँले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने युवा जनशक्ति उत्पादनमा विद्यालयहरुले जोड दिनुपर्ने बताउनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाको आयोजनामा हुने विविध गतिविधिहरुमा शान्ति निकेतन माविको पनि उत्साहजनक सहभागिता रहँदै आएको बताउँदै भक्तपुरको शैक्षिक उन्नति र प्रगतिमा शान्ति निकेतन माविके उल्लेखनीय भूमिका रहेको चर्चा गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले भक्तपुर नपाको शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रमा भएका उल्लेखनीय गतिविधिबारे प्रष्ट पार्दै भक्तपुर नपाले २०८० फागुन २९ गतेबाट अन्तर नगर महिला कबड्डी प्रतियोगिता आयोजना गर्ने विषय अवगत गराउनुभयो ।
विद्यालयका प्रअ विजयराम प्रजापतिले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै प्रतिूकलताबीच अनुकूलता खोज्दै विद्यालयले विद्यार्थीहरुलाई गुणस्तरीय र व्यवहारिक शिक्षा प्रदानमा जोड दिँदै आएको बताउनुभयो ।
विद्यालयले उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको बताउँदै उहाँले यस आर्थिक वर्षमा विद्यालयले जेहेनदार विद्यार्थीहरुलाई रु. ७० हजार ४०० बराबरको छात्रवृत्रि प्रदान गरेको बताउनुभयो ।
कार्यक्रममा विद्यालयबाट अवकाश प्राप्त पूर्वप्रअ महेन्द्रगोपाल कर्माचार्य, शिक्षक इन्द्रकुमार साखले पनि बोल्नुभएको थियो ।
उक्त कार्यक्रममा नगर प्रमुख प्रजापतिले अवकाश प्राप्त शिक्षक कृष्णगोपाल प्रजापतिलाई सम्मान गर्नुभएको थियो भने रमा–मिना शिक्षक प्रेरणा पुरस्कार र केश प्रजापति स्मृति सहयोग अक्षय कोषलाई कृतज्ञता पत्र प्रदान गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.