Explore news and happenings at Bhaktapur

‘श्रमको सम्मान, राष्ट्रको अभियान’ विषयक प्रवचन

भक्तपुर । २०८० फागुन १४ गते, सोमबार

0
भक्तपुर नगरपालिकाको आयोजनामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ‘श्रमको सम्मान, राष्ट्रको अभियान’ विषयक प्रवचन कार्यक्रम सोमबार सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले श्रमविना कुनै पनि क्षेत्रको विकास सम्भव नहुने बताउँदै हरेक सीप विकासको सुरुवात श्रमबाटै हुन्छ र श्रमविना कुनै पनि समाज अगाडि बढ्ने नसक्ने धारणा राख्नुभयो ।
कुनै पनि व्यक्ति र समाजलाई आत्मनिर्भर बनाउने आधार पनि श्रम नै भएको बताउँदै उहाँले श्रमको सम्मान गर्न विद्यालय तहदेखि नै सिकाउनुपर्ने बताउनुभयो ।
कुनै देश छिटो वा ढिलो विकसित हुनुमा त्यसका देशका नागरिकहरुले गर्ने श्रम र मेहनतमा भर पर्ने बताउँदै उहाँले विकसित देशहरुमा श्रमप्रति सम्मान गर्ने धारणाले आज ती देशहरुको विकास द्रुत गतिमा भइरहेको हो भन्नुभयो ।
समाज परिवर्तनको मुख्य आधार नै शिक्षा भएको बताउँदै उहाँले समाज रुपान्तरणमा महिलाहरुको भूमिका सशक्त रहँदै आएको बताउनुभयो ।
व्यक्तित्व विकासमा महिला र पुरुषले समान अवसर पाउनुपर्ने बताउँदै उहाँले महिला शिक्षाले महिलामाथि हुने विभेद्को अन्त्य गर्न भूमिका खेलेको छ भन्नुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले कामदार वर्गलाई अपहेलना गर्ने राजनीतिक व्यवस्थाका कारण जनताको आर्थिक स्तर झन् झन् खस्किँदै गएको बताउँदै समाजवादी व्यवस्थाले मात्र कामदार वर्गको हित गर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले प्रधानमन्त्री रोजगार कार्यक्रमको महत्व र उद्देश्य माथि प्रष्ट पार्दै सार्वजनिक कामलाई अपनत्व दिएर तोकिएको समयावधिभित्र काम गर्न मार्गनिर्देश गर्नुभयो ।
उक्त कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले पनि बोल्नुभएको थियो भने प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक लक्ष्मी प्रजापतिले प्रधानमन्त्री रोजगार कार्यक्रमको औचित्यतामाथि प्रष्ट पार्नुभयो ।

Leave A Reply

Your email address will not be published.