Explore news and happenings at Bhaktapur

मिहेनत र परिश्रम गर्नेहरुले नै हरेक क्षेत्रमा सफलता पाउने

मिति २०८० फागुन ७ गते सोमबार ।

0
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कठोर मिहेनत र परिश्रम गर्नेहरुले नै हरेक क्षेत्रमा सफलता हात पार्छन् भन्नु भयो ।
किर्तिपुर नगरपालिकाको आयोजना हुने बास्केट बल प्रतियोगितामा भाग लिने खेलाडीहरुलाई प्रशिक्षण दिंदै उहाँले खेलमा हारजित स्वभाविक भए पनि अनुशासित रुपमा खेल प्रदर्शन गरेर भक्तपुरको नाउँ उच्च राख्न शुभकामना पनि दिनु भयो ।
उहाँले खेलाडीहरु खेलकुदमा मात्रै सीमित नभइ देशको राजनीतिमा पनि ध्यान दिनु पर्ने बताउँदै अन्यायको विरुद्ध निरन्तर आवाज उठाउने बानीको विकास गर्नु पर्ने बताउनु भयो ।
शहीद दिवसलाई विदामा मात्र सीमित गर्न नहुने बताउँदै उहाँले भन्नुभयोर्– निरंकुश राणा शासनको विरुद्ध आवाज उठाउनेहरुलाई राणाहरुले मृत्युदण्ड दिए तर परिवर्तनलाई रोक्न सकेनन् । नेपालमा पटक पटक राजनैतिक परिवर्तनहरु भए । २०४६ सालको परिवर्तन पछि जनताले शिक्षा, स्वास्थ्य उपचार र रोजगारी पाउने आशा गरेका थिए तर शासन सत्तामा जाने राजनैतिक दलहरुले शहीदको सपनाअनुसार काम गर्न सकेनन् । त्यसले जनतामा राजनीति प्रति नै वितृष्णा जगायो । युवाहरुले राजनीतिलाई जनताको सेवा गर्ने रुपमा प्रयोग गर्दै शहीदको सपना पुरा गर्नेतर्फ लाग्नु पर्छ ।’
भनपा वडा नं १ का वडाध्यक्ष एवं युवा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले नगरपालिकाले नयाँ नयाँ खेलाडीहरु तयार गर्ने उद्देश्यले समय समयमा खेलकुद प्रतियोगिताहरुको आयोजना गरिरहेको बताउनु भयो ।
सो कार्यक्रममा नगर प्रमुख प्रजापतिले प्रतियोगितामा भाग लिने सबै खेलाडीहरुलाई ट्राक सुट वितरण गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.