Explore news and happenings at Bhaktapur

स्थानीय स्काउट परिषद्का नवनिर्वाचित सदस्यहरुलाई बधाई ज्ञापन

भक्तपुर । २०८० माघ २९, सोमबार

0
स्थानीय स्काउट परिषद्का संरक्षक एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्काउटमा निर्वाचित सदस्यहरू स्थानीय स्काउट परिषद् र स्थानीय कार्यसमितिको काम, कर्तव्य, अधिकारबारे जानकार हुनुपर्ने बताउनुभयो ।
भक्तपुर नपामा सोमबार सम्पन्न स्थानीय स्काउट परिषद्का नवनिर्वाचित सदस्यहरुसँगको परिचयात्मक तथा शुभकामना कार्यक्रममा बोल्दै उहाँले नवनिर्वाचित पदाधिकारीहरूले आफ्नो कार्यकालभित्र अनुशासन र इमानदारिताका साथ कर्तव्यपालनामा ध्यान दिन मार्गनिर्देश गर्नुभयो ।
स्काउटले संकटको समयमा जनताको असल मित्रको रुपमा काम गर्नुपर्ने बताउँदै प्रमुख प्रजापतिले भक्तपुर नपाले भक्तपुरका विद्यालयहरूमा स्काउटसम्बन्धी तालिम सञ्चालन गर्ने नीति लिएको बताउनुभयो ।
उहाँले युवाहरूलाई स्वअनुशासनमा ल्याउन र अनुशासित समाज विकास गर्न स्काउटको महत्वपूर्ण भूमिका खेल्ने बताउँदै स्काउटका पदाधिकारीहरू स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयबारे सचेत हुनु जरुरी रहेको बताउनुभयो ।
शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण, सरसफाइ, खेलकुद लगायत सबै क्षेत्रमा भक्तपुर देशकै लागि उदाहरणीय ढंगले काम गर्दै आएको बताउँदै उहाँले स्काउटभित्र पनि भक्तपुरको विशेषता कायम हुने ढंगले काम गर्न प्रेरित गर्नुभयो ।
राजनीति भागबण्डा नमिल्दा महत्वपूर्ण पदहरूमा नियुक्तिमा ढिलाइ भइरहेको बताउँदै उहाँले राजनीतिक भागबण्डा र खिचातानीले देशको शिक्षा झन् झन् कमजोर बन्दै गइरहेकोबारे प्रष्ट पार्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख एवम् स्थानीय स्काउट परिषद्का प्रमुख रजनी जोशीले नवनिर्वाचित सदस्यहरूलाई बधाई एवम् सफल कार्यकालको शुभकामना दिँदै परिषद्लाई जिम्मेवार ढंगले अगाडि बढाउन सबैको साथ र सहयोग खाँचो रहेको बताउनुभयो । उहाँले विद्यालयहरूमा स्काउट तालिम सञ्चालन गर्ने विषयमा छलफल चलिरहेको बताउँदै स्काउटको क्षेत्रमा भक्तपुर नपाले व्यवस्थित ढंगले काम गर्ने
स्थानीय स्काउट परिषद्का प्रमुख रजनी जोशीलाई निर्वाचनका अधिकृत अधिवक्ता रामप्रसाद प्रजापतिले २०८० माघ २६ गते सम्पन्न नेपाल स्काउट, स्थानीय स्काउट परिषद् निर्वाचन २०८० मा निर्वाचित प्रतिनिधिहरूको नामावली हस्तान्तरण गर्नुभयो ।
स्थानीय स्काउट परिषद् भक्तपुर नपाको मिति २०८० माघ २६ गते सम्पन्न निर्वाचनमा पवनकुमार वल्ल निर्विरोध, न्हुज किजु, निरन्जन बेकोजु, बालकृष्ण वनमाला, किशोर गोसाइँ, पूर्णभक्त दुवाल, रीना सुवाल, रुबिना छुस्याबाग, पुष्पा प्रजापति, सीता मैंया त्वानाबासु र रोजीना वनमाला निर्वाचित भएका थिए ।

Leave A Reply

Your email address will not be published.