Explore news and happenings at Bhaktapur

ख्वप इन्जिनियरिङ कलेजका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण

भक्तपुर । २०८० माघ ३ गते, बिहीबार

0
नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले भक्तपुर नपाको व्यवस्थापनमा पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिई २०५८ सालमा ख्वप इन्जिनियरिङ कलेज र त्रिभुवन विश्वविद्यालयबाट २०६५ सालमा ख्वप कलेज अफ इन्जिनियरिङको स्थापना गरिएको बताउँदै कलेजहरुबाट प्रदान भइरहेको प्राविधिक शिक्षाले युवाहरुलाई आत्मनिर्भर बनाउनुका साथै देशलाई आर्थिक हिसाबले अगाडि बढाउन मद्दत पुर्याउने बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज तथा ख्वप कलेज अफ इन्जिनियरिङमा स्नातकमा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रममा कलेज स्थापनाको उद्देश्यमाथि प्रष्ट पार्दै देश विकासमा राजनीतिक नेतृत्व र दूरदर्शी सोचले धेरै ठूलो भूमिका खेल्ने बताउनुभयो ।
उहाँले नेपालस्थित भारतीय राजदूतावासले नेपालमा २० करोड रुपैयाँसम्मको परियोजना सञ्चालन गर्न पाउने सम्झौता नेपालको सार्वभौमिकता र स्वतन्त्रताको विरुद्ध रहेको बताउँदै उक्त सम्झौता तत्काल खारेज गर्न नेपाल मजदुर किसान पार्टीले जोड दिँदै आएको बताउनुभयो ।
नेपाली भूमि डुबान पर्ने गरी भारतले नेपालको सीमामाथि गरिरहेको अतिक्रमण निन्दनीय भएको बताउँदै उहाँले भारतलाई १० हजार मेगावाट बिजुली भारत निर्यात गर्ने सम्झौता पनि देश हितविपरीत भएको प्रष्ट पार्नुभयो ।
सांसद सुवालले नेपालको हितविपरीत भएका कोसी, गण्डक, महाकाली, माथिल्लो कर्णाली, मुगु कर्णाली, अरुण तेस्रो, पश्चिम सेतीलगायतका भारतसँग भएका सन्धि सम्झौता खारेज गरी नेपालकै लगानीमा पर्याप्त जलविद्युत उत्पादन गरी नेपाली जनताको लागि घरेलु प्रयोजन, उद्योग कलकारखाना, कृषिलगायतमा पुग्दो बिजुली सस्तोमा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।
संसारमा तेस्रो विश्वयुद्धको खतरा निम्तिएको बताउँदै उहाँले अमेरिकी साम्राज्यवाद र इजरायली फासीवादले प्यालेष्टाइनी जनतामाथि गरिरहेको नरसंहार र भूमि कब्जा अविलम्ब रोक्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्राविधिक क्षेत्रमा अगाडि बढेको देश नै संसारमा आर्थिक र भौतिक विकासमा पनि अगाडि बढिरहेको प्रष्ट पार्दै राम्रा राम्रा प्राविधिकहरु देश विकासका एक महत्वपूर्ण आधार भएको बताउनुभयो ।
देशमा उत्पादित बौद्धिक जनशक्ति विदेशिने क्रम बढ्दै गइरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले विश्वविद्यालयजस्तो प्राज्ञिक क्षेत्रमासमेत बारम्बार बन्द, हड्ताल र तोडफोड, आगजनी जस्ता अराजनैतिक गतिविधि हुँदा राम्रो अध्ययन गर्ने विद्यार्थीहरु घर खेत बेचेरै भए पनि विदेश पढ्न जान बाध्य पारिरहेको बताउनुभयो ।
सरकारले नीतिगत रुपमा युवा विद्यार्थीहरुलाई विदेश पठाइरहेको उल्लेख गर्दै प्रमुख प्रजापतिले देशमा उत्पादित जनशक्तिले देशकै लागि समर्पित भावले काम गरे देशको विकास छिटो र दिगो हुने बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँले नयाँ पुस्ता राजनैतिक रुपमा प्रशिक्षित भए देशलाई सही नेतृत्व प्रदान गर्न सहयोग पुग्ने बताउनुभयो ।
सांसद गोसाइँले नेपालबाट तिब्बत र त्यसपछि चीन गएर बौद्ध वास्तुकलाबाट ख्याति कमाएका नेपाली वास्तुकार अरनिकोबाट पनि इन्जिनियरिङ अध्ययन गर्ने नयाँ पुस्ताले सिक्न जरुरी रहेको बताउनुभयो ।
शासक दलले राजनीतिलाई सेवा कर्मको रुपमा नभई कमाइ खाने भाँडोको रुपमा विकास गरेकै कारण नयाँ पुस्ताको राजनीतिप्रति आकर्षण कम हुँदै गइरहेको उहाँले बताउनुभयो ।
नेपालमा दैनिक ७ जनाको हाराहारीमा सडक दुर्घटनाबाट ज्यान गुमाइरहेको तथ्यांक रहेको उल्लेख गर्दै उहाँले कमजोर इन्जिनियरिङ अध्ययनकै कारण नागरिकहरुले अकालमा सडक दुर्घटनाबाट ज्यान गुमाइरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र, सभ्य र सुसंस्कृत नगरको रुपमा विकास गर्ने उद्देश्यअनुसार काम गर्दै आइरहेको बताउनुभयो ।
नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरूबाट योग्य र दक्ष जनशक्ति उत्पादन भई देशकै सबै क्षेत्रहरूमा उल्लेखनीय योगदान पु¥याइरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले नवआगन्तुक विद्यार्थीहरुलाई ख्वप परिवारमा स्वागत गर्दै अध्ययन सफलताको शुभकामनाका साथ मार्गनिर्देश गर्नुभयो ।

 

Leave A Reply

Your email address will not be published.