Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकामा प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठलाई स्वागत

भक्तपुर । २०७८ असार २९ गते, मंगलबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले महानगरीय प्रहरी परिसर भक्तपुरमा सरुवा भई आउनुभएका प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठलाई एक समारोहबीच मंगलबार भक्तपुर नगरपालिकामा स्वागत गर्नुभयो । नगर प्रमुख प्रजापतिले २०७८ साल असार २१ गतेबाट भक्तपुर जिल्लामा सरुवा भई आउनुभएका प्रहरी उपरीक्षक श्रेष्ठलाई पुष्पगुच्छा र भादगाउँले टोपीसहित स्वागत गर्नुभएको हो ।

स्वागत कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख प्र्रजापतिले सफल कार्यकालको लागि शुभकामना दिनुहुँदै जनप्रतिनिधि र प्रशासनको संयुक्त प्रयासले जिल्लाको सुशासन कायम गर्न सहज हुने बताउनुभयो ।

उहाँले एकआपसको सहयोग र समन्वयमा धेरै कामहरू भएको अनुभव सुनाउनुहुँदै भक्तपुर नपाले पाक्षिक रुपमा सञ्चालन गर्दै आएको नियमित सरसफाइमा प्रहरी प्रशासनको सहयोग रहँदै आएको र विभिन्न चाडपर्वहरूमा शान्ति कायम गर्न प्रहरीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।

नगर प्रमुख प्रजापतिले नगरपालिकाले समाजमा अराजकता फैलाउन खोज्नेहरूलाई आवश्यक कारबाही गर्न सहयोगी भूमिका खेल्नेमा विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भौगोलिक रुपमा सानो जिल्ला भए पनि भक्तपुर नपामा बढ्दो जनघनत्व रहेको र सांस्कृतिक हिसाबबाट निकै धनी सहरको रुपमा परिचित रहेको बताउनुभयो । कोभिड नियन्त्रण तथा रोकथाममा भक्तपुर नपाले गरेका गतिविधिबारे अवगत गराउनुहुँदै भक्तपुर नपाले जनताको सहयोगबाट अक्सिजन प्लान्ट राखी नगरबासीहरुको लागि निःशुल्क वितरण गरिरहेको स्पष्ट पार्नुभयो ।

सोही कार्यक्रममा प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले नपाले गरेको स्वागतप्रति आभार प्रकट गर्नुहुँदै भक्तपुर जिल्लालाई कार्यक्षेत्र बनाउन पाउँदा र यहाँका सांस्कृतिक परम्परा तथा गतिविधिमा सहभागी हुन पाउँदा गौरव महसुस भएको बताउनुभयो । भक्तपुरको अपराध रोकथाम, नियन्त्रण, अनुसन्धान तथा शान्ति सुरक्षा कायम गर्न नपासँगै अगाडि बढ्न प्रतिबद्ध रहेको बताउनुहुँदै उहाँले स्थानीयबासीलाई केन्द्रबिन्दुमा राखी गतिविधि गर्न सके उपलब्धी हासिल हुने बताउनुभयो ।

भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले पनि बोल्नुभएको उक्त कार्यक्रममा भक्तपुर नपाका कार्यपालिका सदस्य तथा नपाका शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.