Explore news and happenings at Bhaktapur

अन्तर्राष्ट्रिय फौजदारी अदालत अमेरिकाको कठपुतली

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर जिल्ला बक्सिङ संघको आयोजनामा भएको समसामयिक विषयमा प्रवचन कार्यक्रम मंगलबार सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रजापतिले देश परिवर्तनको लागि नयाँ विचार लिएर अगाडि बढ्नेहरु नै युवा हुने बताउँदै खेलाडीहरु देशभक्त र अनुशासित हुनुपर्छ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयका जानकारी हुनुपर्ने बताउनुभयो ।
प्यालेष्टाइनीहरुलाई इजरायली आक्रमणकारीहरुले खाना, पानी र औषधी समेत नपठाई मानव अधिकारको घोर उल्लंघन गरिरहेको हुँदा त्यहाँका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई मानवताविरोधी अपराधमा तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने धारणा उहाँले राख्नुभयो ।
उहाँले भन्नुभयो, — इजरायल सरकारले प्यालेष्टाइनीहरुलाई इजिप्टतिर धपाएर कहिल्यै फर्कन नसक्ने गरी घरवारविहीन बनाउँदैछ र अन्तर्राष्ट्रिय फौजदारी अदालत अमेरिकाको कठपुतली बनिरहेको छ ।’
जातीय सफाय हुँदा समेत कुनै कारबाही नगर्ने अन्तर्राष्ट्रिय फौजदारी अदालतको औचित्यमाथि प्रश्न उठेको उहाँले बताउनुभयो ।
प्यालेष्टाइनी जनता मरिरहेको अवस्थामा संसारका देशभक्त जनताले सहानुभूति व्यक्त गर्नुपर्ने धारणा राख्दै उहाँले खेलाडीहरुले यस्ता विषय गम्भीरतापूर्वक अध्ययन गरी देशभक्त जनताको पक्ष लिनुपर्ने विचार राख्नुभयो ।
कार्यक्रममा नेपाल बक्सिङ महासंघका कोषाध्यक्ष गौतम सुजखुले युवाहरुलाई विकृतिबाट टाढा राख्न, अनुशासित र समाजमा भुमिका निभाउन सिकाउने हेतुले यस्तो कार्यक्रमहरु आवश्यक छ भन्नुभयो ।
कार्यक्रम भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष रामकृष्ण प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष लक्ष्मीप्रसाद चवालले पनि बोल्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.