Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकाको दशौं नगरसभा उद्घाटन

२०७८ असार ७ गते, सोमबार

0

नेपाल मजदुर किसान पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकाको दशौं नगरसभाको पानसमा द्वीप प्रज्ज्वलन गरी सोमबार एक समारोहबीच उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष बिजुक्छेँले जनताको अमूल्य मतबाट विजयी जनप्रतिनिधिहरुले जनअपेक्षाअनुरुप कार्य सम्पादन गर्नुपर्ने र समाजको हितको निम्ति काम गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नपाको नीति तथा कार्यक्रममा आदर निकेतन सञ्चालन गर्ने विषयमाथि टिप्पणी गर्नुहुँदै उहाँले भन्नुभयो, ‘आदर निकेतन बनाउने सोच निकै राम्रो हो, तर त्यसमा केही चुनौतीहरु पनि छन्, सोको सञ्चालनको लागि जनस्तरबाट सुझाव र व्यापक छलफल आवश्यक छ ।’
नेता बिजुक्छेँले व्यापारिक उद्देश्यले नेपालका विभिन्न ठाउँहरुमा निर्माण भएका नयाँ र आधुनिक मन्दिर निर्माणले देशमा धार्मिक तथा जातीय साम्प्रदायिकता बढ्ने खतरा रहेको औंल्याउनुभयो ।
उहाँले नगरपालिकाको नीति कमजोर भए त्यसको दीर्घकालीन असर नगर र नगरबासीहरुलाई हुने बताउनुहुँदै भक्तपुरलाई सुन्दर, सुसंस्कृत र सुरक्षित नगरको रुपमा विकसित गर्न नपाका जनप्रतिनिधि र कर्मचारीहरु क्रियाशील हुनुपर्ने बताउनुहुँदै बताउनुभयो ।
नेपालको चुरे क्षेत्रको बालुवा, ढुंगा, गिटी अधिकांश भारतमा निर्यात हुने बताउनुहुँदै उहाँले भारतीय विस्तारवादले नेपालको चुरे क्षेत्रको दोहन गराई नेपाली भूमि डुबानमा पारिरहेको हुँदा नेपाल सरकारले भारतीय विस्तारवादलाई फाइदा पुग्ने काम गर्न नहुनेमा जोड दिनुभयो ।
नगरपालिकाको मापदण्डविपरीत बनाइने घर तथा भवनहरुको संरचना कमजोर हुनेतर्फ सचेत पार्नुहुँदै अध्यक्ष बिजुक्छेँले बौद्धिक तथा आध्यात्मिक विकासले मानिसको व्यक्तित्व बढाउँछ भन्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाको आ.व. २०७८÷७९ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले जनताको आर्थिक सहयोगमा निर्माण भएको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन विभिन्न रोगबाट पीडित भक्तपुर नगरबासीहरूको लागि २०७९ असार मसान्तसम्म निःशुल्क वितरण गर्ने घोषणा गर्नुभयो ।
उहाँले कार्यक्रममार्फत भक्तपुर नगरपालिकासित भगिनी सम्बन्ध कायम रहेको चीनको स्वशासित क्षेत्र तिब्बतको सान्नान शहरबाट स्वास्थ्य सामग्री उपलब्ध गराउनुभएकोमा त्यहाँका मेयर लगायतका पदाधिकारीहरूप्रति हार्दिक आभार प्रकट गर्नुभयो ।
योजना छनोट र कार्यान्वयनमा समेत स्थानीय तहको भूमिकालाई गौण बनाउँदै लगिएकोमा आपत्ति जनाउनुहुँदै प्रमुख प्रजापतिले सशर्त बजेटको नाउँमा योजना छनोट गर्ने स्थानीय तहको अधिकारमा समेत केन्द्र र प्रदेश सरकारले अंकुश लगाउँदै आइरहेको बताउनुभयो ।
बागमती प्रदेशका सभासद् सुरेन्द्रराज गोसाइँले भक्तपुर नपाको आ.व. २०७८।७९ को लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रम जनमुखी भएको बताउनुहुँदै यसको सफल कार्यान्वयनमा नगरपालिकाले जोड दिनुुपर्ने बताउनुभयो ।
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम सस्तो लोकप्रियताको लागि मात्र भएको बताउनुहुँदै उहाँले शासक दलहरुका नेता तथा कार्यकर्ताहरुबीच पद, पैसा र कर्सीको लागि भएको हानथापले प्रदेश सरकारलाई बेकाम सावित गरिरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाभित्र सञ्चालित सार्वजनिक एवम् संस्थागत विद्यालयको अनुगमन र व्यवस्थापनमा नगरपालिकाले ध्यान पु¥याउनुपर्ने बताउनुहुँदै सांसद गोसाईंले सार्वजनिक यातायातको व्यवस्थापनको विषय पनि सम्बोधन हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
समाजवादी देश क्युवाले आप्mनै विज्ञहरुमार्फत कोभिड विरुद्ध ५ थरिको खोप उत्पादन गरिसकेको उल्लेख गर्दै उहाँले नेपाल सरकारसँग महामारीविरुद्ध लड्ने पूर्वतयारी नभएकै कारण कयौंले अकालमा ज्यान गुमाउनुपरेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले नगरवासीहरु स्वस्थ भए समाजलाई अघि बढाउन सहज हुने यथार्थलाई मध्यनजर गरी नगरपालिकाले आधुनिक सुविधासहितको ख्वप अस्पताल निर्माणमा जोड दिइरहेको बताउनुभयो ।
उहाँले कोरोना महामारीबीच पनि भक्तपुर नपाले सम्पदाको पुनः निर्माण र संरक्षण कार्यलाई पनि निरन्तर रुपमा अगाडि बढाइरहेको र कोभिड नियन्त्रणपश्चात सांस्कृतिक कार्यक्रमहरु पनि निरन्तर रुपमा संचालन गरी आन्तरिक एवं वाह्य पर्यटन प्रवद्र्धन गर्दै लाने बताउनुभयो ।
भक्तपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शिव मानन्धरले नगरसभाको सफलताको कामना गर्नुहुँदै भक्तपुर नपाको जनताकेन्द्रित गतिविधिले नगरको सन्तुलित विकासमा टेवा पुगेको बताउनुभयो । उहाँले ख्वप अस्पताल कोभिड युनिटमा स्थापना भएको अक्सिजन प्लान्ट तथा अन्य सामग्री व्यवस्थामा देखिएको जनताको सहभागिता निकै प्रशंसनीय भएको पनि बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ र भनपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.