Explore news and happenings at Bhaktapur

अध्यक्ष बिजुक्छेंद्वारा जनताको सहयोगबाट निर्मित ख्वप अस्पतालको अक्सिजन प्लान्ट उद्घाटन

भक्तपुर । २०७८ असार १ गते, मंगलबार

0

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले भक्तपुर नपाद्वारा सञ्चालित भक्तपुरको च्याम्हासिंहमा अवस्थित ख्वप अस्पतालमा जनताको सहयोगबाट निर्मित अक्सिजन प्लान्टको मंगलबार एक समारोहबीच उद्घाटन गर्नुभयो ।


उद्घाटन कार्यक्रममा अध्यक्ष बिजुक्छेँले कोभिड महामारीविरुद्धको लडाइँमा संसारका धनी र विकसित देशहरुलाई समेत कठीन भएको बताउनुहुँदै भक्तपुर नपाका जनप्रतिनिधिहरुले समयमै सक्रियतापूर्वक जनताको हितको निम्ति जनताकै सहयोगमा गरेको अक्सिजन प्लान्ट निर्माण कार्यको थालनी प्रशंसनीय भएको बताउनुभयो ।

नेमकिपाले नेपालको सातवटै प्रदेशहरुमा सुविधासम्पन्न अस्पतालहरु बनाउनुपर्ने पक्षमा आवाज उठाउँदै आइरहेको बताउनुहुँदै उहाँले जनताको सहयोगी भावनाले प्राप्त भएको आर्थिक र भौतिक सहयोगबाट निर्मित अक्सिजन प्लान्टले व्यापक जनताकै हित हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

नेपाल भारतबीचको सीमा नाका समयमै आवश्यक निगरानी, चेकजाँच र कडाइ गर्न नसक्दा नेपालमा कोभिड १९ को संक्रमण महामारीको रुपमा फैलिएको बताउनुहुँदै उहाँले यसमा सरकार नै दोषी भएको बताउनुभयो ।

समाजवादी र पुँजीवादी व्यवस्थाबीचको भिन्नताबारे प्रष्ट पार्नुहुँदै अध्यक्ष बिजुक्छेँले महामारीको समयमा समाजवादी देशहरुले जनताको जीवन रक्षामा खेलेको भूमिकाबारे चर्चा गर्नुभयो ।

जनताको जीवन रक्षामा सरकार चुकेको बताउनुहुँदै नेता बिजुक्छेँले जनतालाई सामुदायिक र निजी संस्थाहरुबीचको भिन्नता र महत्वबारे सचेत पार्नुपर्ने र समाजमा आमूल परिवर्तनको निमित जनतालाई नै राजनैतिक रुपले सचेत पार्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप अस्पतालमा अक्सिजन प्लान्ट र अन्य स्वास्थ्य उपकरणहरुको निम्ति जनता आफै अग्रसर भएर श्रोतको बन्दोबस्त गर्नु जनप्रतिनिधि र जनताबीच एकताको प्रमाण भएको बताउनुभयो ।

संकटको बेला जनताले नगरपालिकाबाट बढी सहयोगको आशा गर्नु स्वभाविक भएको बताउनुहुँदै प्रमुख प्रजापतिले कोभिडको दोस्रो लहरको संकेत भक्तपुर नगरपालिकामा देखा पर्ने बित्तिकै २०७८ बैशाख १७ गतेदेखि नै ख्वप अस्पताल कोभिड युनिट सञ्चालनमा ल्याएको बताउनुभयो ।

ख्वप अस्पतालमा अक्सिजन प्लान्ट राख्न रु. १ करोड ४१ लाख २५ हजार ल.इ. स्वीकृत भएकोमा हालसम्म रु. १ करोड २३ लाख ३६ हजार रुपैया खर्च भएको तथ्य प्रस्तुत गर्नुहुँदै उहाँले ख्वप अस्पतालले दिने सेवा सुविधा सरल र सहज बनाउने प्रयत्नरत रहेको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिका उपप्रमुख रजनी जोशीले जनताको सहयोगबाट निर्मित अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन व्यापक जनताकै हितको निम्ति प्रयोग हुने बताउनुभयो ।

उहाँले ख्वप अस्पताललाई जनताको अस्पतालको रुपमा सञ्चालन गर्ने उद्देश्यअनुरुप नगरपालिका लागिपरेको बताउनुहुँदै मानव जीवन रक्षा गर्ने अक्सिजन प्लान्ट नगरपालिकाको लागि गौरवको कार्य भएको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले अक्सिजन प्लान्ट खरिद प्रक्रियाबारे अवगत गराउनुहुँदै महामारीको मौका छोपी कृत्रिम अक्सिजन अभावको स्थिति सृजना गरी कालोबजारी गर्नेहरुलाई अपराधीको संज्ञा दिनुभयो । उहाँले भक्तपुरबासी जनताको अपार माया र सहयोगकै कारण अक्सिजन प्लान्ट स्थापना निर्धारित समयमै बन्न सम्भव भएको बताउनुभयो ।

ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य ई. सुनिल दुवालले अक्सिजन प्लान्टको खरिद प्रक्रिया र जडानको प्राविधिक पक्षमाथि प्रष्ट पार्नुभयो । उहाँले सो अक्सिजन प्लान्टले २४ घण्टामा ४० लिटर क्षमताको १०० देखि १२० प्रति घण्टा अक्सिजन उत्पादन हुने बताउनुभयो ।

जनस्वास्थ्य केन्द्रका इन्चार्ज डा. रत्नसुन्दर लासिवाले ख्वप अस्पताल कोभिड युनिट र जनस्वास्थ्य केन्द्रका कोभिड संक्रमित बिरामीहरुको अवस्था र अस्पतालबाट बिरामीहरुको सेवासम्बन्धी भइरहेका गतिविधिहरुबारे जानकारी गराउनुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.