Explore news and happenings at Bhaktapur

भक्तपुरमा तार भूमिगत गर्ने विषयमा अनलाइन बैठक

२०७८ जेठ २५ गते, मंगलबार

0

भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरपालिकाभित्र अव्यवस्थित रहेको तारहरु भूमिगत गर्ने विषयमा मंगलबार अनलाइन बैठक बस्यो ।

बैठकमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अव्यवस्थित तार र केबलहरुबाट ऐतिहासिक, संस्कृतिक नगर भक्तपुरको दृश्य प्रदूषण भइरहेको बताउनुहुँदै सम्पदा बस्तीभित्र तारहरु भूमिगत गर्ने विषय चुनौतीपूर्ण रहेको हुँदा सम्बन्धित सरोकारवाला र जनताहरुबीच आवश्यक छलफलपश्चात कार्यान्वयन सहज हुने बताउनुभयो ।

भक्तपुर नपाभित्रको मुख्य बजार क्षेत्रमा ढुंगा छाप्ने कार्य गरिसकेको अवस्थामा पुनः तार भूमिगत गर्ने विषयले अन्योलता ल्याएको बताउनुहुँदै उहाँले तार भूमिगत गर्ने विषयमा आवश्यक सहकार्य र पहलको लागि नगरपालिका सकारात्मक रहेको बताउनुभयो ।

भक्तपुरमा तार भूमिगत गर्ने विषयमा भक्तपुरबासी जनताहरु पनि सकारात्मक रहेको बताउनुभयो । उहाँले तार भूमिगत गर्दा देखिने चुनौतीका विषयमा आयोजनाले आवश्यक ध्यान दिनुपर्ने र यथाशीघ्र आयोजनाको काम अगाडि बढाउन पनि आग्रह गर्नुभयो ।

बैठकमा नेपाल विद्युत प्राधिकरणअन्तर्गत ललितपुर र भक्तपुरमा भूमिगत तार व्यवस्थाका आयोजना प्रमुख बीरेन्द्रकुमार झाले भक्तपुरको तार भूमिगत गर्ने विषयमा प्रस्तुतीकरण दिनुभयो । उहाँले अन्डरग्राउन्ड केबलको विषयमा जनस्तरमा सूचना प्रवाह गर्न सके जनताबाट साथ र सहयोग पनि पाउने र आयोजना पनि समयमै सम्पन्न हुने बताउनुभयो ।

बैठकमा आयोजनाका केदारराज सिलवालले ऐतिहासिक नगरी भक्तपुरमा अव्यवस्थित तारले नराम्रो प्रभाव पारिरहेको हुँदा तार भूमिगत गर्न सकेको खण्डमा भक्तपुर सुन्दर र सुरक्षित पनि हुने बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नपाका जनप्रतिनिधिहरु र सरोकारवाला प्राविधिकहरुको उपस्थिति थियो भने कार्यक्रम सञ्चालन भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.