Explore news and happenings at Bhaktapur

विश्व सम्पदा दिवसको अवसरमा प्रवचन कार्यक्रम

भक्तपुर । २०७८ वैशाख ५ गते, आइतबार

0

विश्वभर हरेक वर्ष अप्रिल महिनाको १८ तारिखमा विश्व सम्पदा दिवस मनाइँदै आएको छ । सोही अवसरमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको आयोजनामा विश्व सम्पदा दिवसको अवसर पारेर आइतबार कलेजको सभाहलमा शिक्षक र विद्यार्थीहरुबीच प्रवचन कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा बोल्नुहुँदै कलेज सञ्चालक समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विश्व सम्पदा दिवसको अवसरलाई सम्पदा संरक्षणका नारामा मात्र सीमित नगरी संरक्षणको भावना, कानुन निर्माण र प्रभावकारी कार्यान्वयनबाट मात्र वास्तविक लक्ष्य हासिल गर्न सकिने बताउनुभयो ।

भक्तपुर नपाले २०७२ सालको भूकम्पले क्षति पु¥याएको भक्तपुरका महत्वपूर्ण सांस्कृतिक सम्पदा पुनःनिर्माण र जीर्णोद्धारलाई प्राथमिकता राख्दै अगाडि बढेको र भक्तपुर नपाभित्रका १०८ वटा भन्दा बढी सम्पदाहरुको संरक्षण सम्पन्न भइसकेको उहाँले जानकारी गराउनुभयो ।

कतिपय सम्पदाहरु संरक्षणको अभावमा जीर्ण अवस्थामा रहेको बताउनुहुँदै उहाँले भन्नुभयो — ‘देशको मौलिक सम्पदाहरु हाम्रो सम्पत्ति भएको हुँदा यसको संरक्षणमा हामी स्वयम् क्रियाशील हुनुपर्छ ।’

भक्तपुर नपाले यहाँका ऐतिहासिक नाच, सम्पदा, वस्तुलगायत संरक्षण गर्न प्रयासरत रहेको बताउनुहुँदै भक्तपुर नपाले नेपालको कुनै पनि ठाउँको पुराना तथा ऐतिहािसक सम्पदा निर्माण गर्न आवश्यक जनशक्ति पठाउने क्षमता विकास गरेका छौं — उहाँले भन्नुभयो ।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुरको सम्पदा संरक्षण र भक्तपुर नपालाई ज्ञानविज्ञानको केन्द्र बनाउन भक्तपुर नपाले जुन लक्ष्य लिएर कलेजहरु स्थापना गरेको त्यसले मूर्त रुप लिइरहेको बताउनुहुँदै देशको सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेका ठाउँहरुबारे थप अध्ययन र अनुसन्धानको खाँचो रहेको औंल्याउनुभयो । उहाँले सम्पदा संरक्षणमा स्थानीय समुदायलाई सचेत र संगठित बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले ख्वप इन्जिनियरिङ कलेजले यहाँ अध्ययनरत विद्यार्थीहरुलाई सम्पदा संरक्षण गर्न वैज्ञानिक ढंगले शिक्षा दिएका कारण नयाँ पुस्ताका विद्यार्थीहरुमा सम्पदाप्रतिको अपनत्व बढेको छ भन्नुुभयो ।

कार्यक्रममा ख्वप कलेज अफ इन्जिनियरिङ कलेजका प्राचार्य सुनिल दुवालले उपत्यकाका पुरानो सम्पदा बस्तीहरुमा विकासको नाममा विनासको स्थिति निम्तिएको चिन्ताजनक भएको बताउनुहुँदै भक्तपुर नपाले सम्पदा संरक्षण व्यवस्थित र वैज्ञानिक ढंगले अगाडि बढाइरहेकै कारण यहाँका सांस्कृतिक तथा ऐतिहासिक महत्वका सम्पदाहरुको जगेर्ना सम्भव भएको बताउनुभयो ।

कार्यक्रममा कलेजका पद्मसुन्दर महर्जन, प्रमिला शिल्पकार, इरा श्रेष्ठ, रबिता शिल्पकार र आर्किटेक्चर विद्यार्थीको तर्फबाट सोना तजलेले विभिन्न विषयमा सम्पदा संरक्षणबारे प्रस्तुतीकरण देखाउनुभएको थियो ।

नगर प्रमुख प्रजापतिले प्रस्तुतकर्ताहरुलाई कलेजको तर्फबाट प्रशंसापत्र वितरण गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षिका लिवास फैजुले गर्नुभएको थियो ।

 

Leave A Reply

Your email address will not be published.