Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकामा नववर्ष २०७८ को अवसरमा शुभकामना आदानप्रदान

२०७७ चैत्र ३१ गते, मंगलबार

0

भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा नेपाल नगरपालिका कर्मचारी एशोसिएसन, भक्तपुर नगरपालिका समिति भक्तपुरको आयोजनामा नव वर्ष २०७८ सालको शुभकामना आदानप्रदान कार्यक्रम सोमबार सम्पन्न भयो ।

कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले धेरै क्षेत्रमा नयाँ ढंगले काम सुरु गरेको बताउनुहुँदै यहाँको शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण तथा सरसफाइलगायतमा भइरहेको काम देशकै लागि उदाहरणीय हुन सफल भएको बताउनुभयो ।

कोरोना महामारीका कारण नेपालको पर्यटनमा अरबौंको क्षति पुगेको र भक्तपुर पनि त्यसबाट अछुटो नरहेको बताउनुहुँदै उहाँले संकटले नागरिकरुमा संघर्षको भावनालाई अझ सशक्त बनाउने बताउनुभयो ।

नयाँ वर्षको सुरुवातसँगै कर्मचारीहरूमा नयाँ संघर्षको भावनाले काम गर्न प्रेरणा मिल्ने अपेक्षा व्यक्त गर्नुहुँदै उहाँले सबैको साझा प्रयासका कारण भक्तपुर नगरपालिकाले उत्कृष्टता हासिल गरेको बताउनुभयो ।

समाजवादी देशमा महिलाहरू कसरी अगाडि बढ्छन् भन्ने पाठ समाजवादी देश क्युवाबाट सिक्न जरुरी रहेको बताउनुहुँदै उहाँले समाज रुपान्तरणमा महिला शिक्षा निकै नै महत्वपूर्ण भएको बताउनुभयो ।

आयोजक समितिका अध्यक्ष गौतमप्रसाद लासिवाले नव वर्षको शुभकामना व्यक्त गर्नुहुँदै कोभिड महामारीको समयमा भक्तपुर नगरपालिकाका कर्मचारीहरू नगरबासीहरूको सेवामा समर्पित भएर लागेको र बिस्का जात्रा विकृति र बिसंगति रहित ढंगले मनाउन आग्रह गर्नुभयो । उहाँले कर्मचारीहरूको हक हित सुरक्षा, वृत्ति विकास र स्तरोन्नतिको लागि समितिले निरन्तर पहल गर्दै आइरहेको बताउनुभयो ।

भक्तपुर नगरपालिकाका प्रशासकीय अधिकृत दामोदर सुवालले कर्मचारीहरूको व्यक्तिगत आचरण, स्वभाव र व्यवहार नगरपालिकाको पहिचानसँग जोडिएको हुन्छ भन्दै कर्मचारीहरूमा नागरिक भावना र संस्थागत जिम्मेवारीबोधको आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका कर्मचारी विद्यालक्ष्मी प्रजापतिले स्वागत मन्तव्य राख्नुभएको थियो भने कर्मचारी विकास प्रजापतिले पनि बोल्नुभएको थियो ।

सोही अवसरमा नगर प्रमुख प्रजापतिले नेपाल नगरपालिका कर्मचारी एशोसिएसन, भक्तपुर नगरपालिका समिति भक्तपुरद्वारा प्रकाशित २०७८ सालको भित्ते पात्रे सार्वजनिकीकरण गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.