Explore news and happenings at Bhaktapur

इञ्जिनियर भ्रष्ट भएको कारण देश लथालिङ्ग

भक्तपुर, २०७५ मंसीर १४ गते शुक्रबार ।

0

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनियरिङ कलेजको १७ औं र ख्वप कलेज अफ इञ्जिनियरिङ कलेजको १० औं वार्षिकोत्सव समारोहको दोस्रो दिन पुरस्कार वितरण तथा बिदाई कार्यक्रम गरी समापन भयो ।

समारोहमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कलेजबाट उत्तीर्ण विद्यार्थीहरूलाई समाजमा प्रतिष्ठित इञ्जिनियरको रुपमा काम गर्न मार्गनिर्देशन गर्नुभयो । भ्रष्ट इञ्जिनियरका कारण देशका धेरै संरचना लथालिङ्ग र कमजोर भएको बताउनुहुँदै प्रमुख प्रजापतिले छिट्टै धनी हुनुभन्दा समाजमा इज्जतपूर्वक बाँच्न अग्रसर हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

विश्वविद्यालयको परीक्षाभन्दा जनताको बीचमा गएर काम गर्ने परीक्षा महत्वपूर्ण भएको बताउँदै इमान्दारीपूर्वक काम गर्नेहरू समाजका प्रतिष्ठित र सम्मानित व्यक्ति हुने बताउनुभयो ।

ख्वप इञ्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले विद्यार्थीहरूले इञ्जिनियरिङ र आर्किटेक्ट पेशालाई गौरव गर्न लायक पेशाको रुपमा लानुपर्ने र इमानदारीपूर्वक काम गरी ख्वपको पहिचानलाई कायम गर्न विद्यार्थीमाझ आह्वान गर्नुभयो ।

ख्वप कलेज अफ इञ्जिनियरिङका प्राचार्य सुनिल दुवालले नगरपालिकाद्वारा सञ्चालित कलेजहरू अरु कलेजभन्दा पृथक र फरक रहेको चर्चा गर्दै व्यक्तिगत फाइदा भन्दा समाज र देशको लागि फाइदा हुने पेशा रोज्नु आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा ख्वप इ. कलेजका उपप्राचार्य रविन्द्र फोंजुले विद्यार्थीहरूले आफ्नो शिक्षालाई देश विकासमा प्रयोग गरी समाजको सेवा गर्नुपर्ने बताउनुभयो ।ख्वप कलेज अफ इञ्जिनियरिङ कलेजका उपप्राचार्य रत्नशोभा प्रजापतिले अनुशासन र इमानदारिता जुनसुकै पेशामा अपरिहार्य भएकोर जुनसुकै क्षेत्रमा रहेर देश र जनताको सेवामा विद्यार्थीहरूले काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

वार्षिकोत्सवको समापन कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले रोबोट प्रतियोगिताका विजयी विद्यार्थी र इञ्जिनियरिङ स्नातक तहका विद्यार्थीहरूलाई मायाको चिनो र प्रशंसा पत्र प्रदान गर्नुभएको थियो ।

 

Leave A Reply

Your email address will not be published.