Explore news and happenings at Bhaktapur

ख्वप कलेजमा बीबीएमका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण

भक्तपुर । २०७७ चैत्र २२ गते, आइतबार

0

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजमा शैक्षिक वर्ष २०७७/७८ मा बीबीएम कार्यक्रममा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम आइतबार कलेजको सभाहलमा सम्पन्न भयो ।

कार्यक्रममा कलेज सञ्चालक समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नवआगन्तुक विद्यार्थीहरुलाई ख्वपमा स्वागत गर्नुहुँदै भविष्यको लागि सभ्य र सुसंस्कृत नागरिक तयार गर्न भक्तपुर नपाले शैक्षिक संस्थाहरुको स्थापना गरेको बताउनुभयो ।

शिक्षा र देशको राजनीतिबीच अन्तरसम्बन्ध रहेको बताउनुहुँदै उहाँले समाज रुपान्तरणको निम्ति राजनीतिक चेतनाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

विद्यार्थीहरुलाई राजनैतिक रुपले सचेत र संगठित भए कुनै पनि अनियमितताविरुद्ध लड्ने जोश उनीहरुमा पैदा हुने बताउनुहुँदै प्रमुख प्रजापतिले इमानदार राजनीतिक नेतृत्व र सिद्धान्तप्रति प्रतिबद्ध राजनीतिक पार्टीले देशलाई अगाडि बढाउन मद्दत पुर्याउने बताउनुभयो ।

नवआगन्तुक विद्यार्थीहरुलाई आफूले पढेको विषयमा दक्षता र विशेषज्ञता हासिल गर्नुपर्नेमा जोड दिनुहुँदै उहाँले विद्यार्थीहरुलाई अनैतिक कार्यहरुबाट टाढा रहन र ख्वपमा अध्ययन गर्न पाउनु आफैमा गौरवको विषय भएको बताउनुभयो ।

ख्वप कलेजका प्राचार्य रुपक जोशीले नवआगन्तुक विद्यार्थीहरुलाई भक्तपुर नपाले सञ्चालन गरेको ख्वप कलेजको गरिमा कायम गर्न अनुशासित ढंगले अध्ययन गर्न मार्गनिर्देश गर्नुहुँदै कलेज स्थापनाको मुख्य उद्देश्य भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउँदै सभ्य र सुसंस्कृत नागरिक तयार गर्नु रहेको बताउनुभयो ।

ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठले शिक्षक र विद्यार्थीको सम्बन्ध राम्रो भए मात्र पढाई प्रभावकारी हुन सक्ने बताउनुहुँदै उहाँले विद्यार्थी सफल हुनुमा शिक्षकको निकै ठूलो भूमिका रहने र शिक्षक विद्यार्थीको सकारात्मक सम्बन्धले विद्यार्थीहरुलाई उत्साहित र प्रोत्साहित गर्ने बताउनुभयो ।

कार्यक्रममा ख्वप कलेजका उपप्राचार्य डा. राजेशकुमार श्रेष्ठले धन्यवादज्ञापन गर्नुभएको उक्त कार्यक्रममा बीबीएम कार्यक्रमका इन्चार्ज सुनिल सुवाल र शिक्षक कमिनिका न्याइँच्याइँले पनि बोल्नुभएको थियो । साथै बीबीएम संकाय प्रथम वर्षका अल्का मानन्धर र दोस्रो वर्षका सुवेच्छा था श्रेष्ठले ख्वपमा अध्ययन गर्दाको आफ्नो अनुभव सुनाउनुभयो ।

 

Leave A Reply

Your email address will not be published.