नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिले आइतबार हेटौडामा कार्यकर्तासँग भेटघाट गर्नुभयो ।
भेटका क्रममा उहाँले संसद पुनःस्थापनाका कारण सरकार सञ्चालनमा अप्ठेरो परिस्थिति निम्त्याएको बताउनुहुँदै वर्तमान सरकारले पुनः निर्वाचनको घोषणा गर्ने सम्भावना रहेको बताउनुभयो । निर्वाचनले जनताको राजनीतिक चेतनास्तर उकास्ने ब्यारोमिटर भएको हुँदा नेमकिपा निर्वाचनको पक्षमा भएको बताउनुहुँदै नेता प्रजापतिले नेमकिपा आकारले सानो भए पनि विचार र सिद्धान्तमा दृढ र प्रतिबद्ध रहेको प्रष्ट पार्नुभयो ।
उहाँले पुजीवादी व्यवस्थाले कामदार जनताको हित नगर्ने हुँदा समाजवादी व्यवस्था स्थापनाको निम्ति नेमकिपा संघर्षरत रहेको बताउनुहुँदै भक्तपुर नगरपालिकाबाट सञ्चालित शैक्षिक संस्थाहरुले दक्ष र इमानदार जनशक्तिहरु उत्पादन गरिरहेको छ भन्नुभयो ।
सक्षम स्थानीय तहलाई विश्वविद्यालय सञ्चालन गर्न दिइनुपर्नेमा जोड दिनुहुँदै केन्द्रीय सदस्य प्रजापतिले कार्यकर्ताहरुले पार्टी प्रकाशनको नियमित अध्ययन गर्नुपर्ने र कामदार जनतालाई राजनैतिक रुपले सचेत र संगठित गर्न क्रियाशील हुनुपर्ने बताउनुभयो ।