Explore news and happenings at Bhaktapur

नगर प्रमुख सुनिल प्रजापति र हेटौडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतबीच भेटघाट

हेटौंडा । २०७७ चैत्र ८ गते, आइतबार

0

भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापति र हेटौडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतबीच आइतबार हेटौडा उपमहानगरपालिकामा भेटघाट भयो ।

भेटमा नगर प्रमुख प्रजापतिले विभिन्न स्थानीय तहसँग अनुभव आदान प्रदानका क्रममा हेटौंडा उपहानपामा पुगेको बताउनुहुँदै भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण लगायतका क्षेत्रहरुमा गरिरहेको विविध गतिविधिबारे अवगत गराउनुभयो ।

जनताको स्वास्थ्यलाई प्राथमिकता दिई भक्तपुर नपाले ख्वप अस्पताल सञ्चालनको तयारीमा जुटेको बताउनुहुँदै भक्तपुर नपामा सम्पदा पुनःनिर्माण, जीर्णोद्धारलगायतमा उपभोक्ता समितिमार्फत जनताको सहभागिताबाट काम अगाडि बढाइरहेको बताउनुभयो ।

हेटौडा उपमहानपाका प्रमुख महतले हेटौंडा देशकै तेस्रो ठूलो औद्योगिक नगर भएको बताउनुहुँदै हेटौडा उपमहानपाको क्षेत्रफल निकै ठूलो र पहाडै पहाडले घेरिएको बताउनुभयो । भक्तपुर नपा सबै क्षेत्रमा अगाडि बढिरहेको छ भन्दै उहाँले भक्तपुर नपाको सुशासन र विकास निर्माणका कार्यहरु आफूहरुले पनि सिक्न चाहेको बताउनुभयो ।

१९ वटा वडामा विभाजित यस उपमहानपामा देशका विभिन्न ठाउँहरुबाट नागरिकहरु बसोबास गरिरहेको अवगत गराउनुहुँदै महानपाले सूचनाको प्रविधिको माध्यमबाट आफ्ना सेवाहरु उपलब्ध गराउँदै आएको र सुशासनको क्षेत्रमा पनि निकै उपलब्धी हासिल गरिरहेको बताउनुभयो ।

भेटकै क्रममा नगर प्रमुख प्रजापतिले भक्तपुर नपाबाट प्रकाशित विभिन्न प्रकाशनहरु र फोटो पुस्तक मायाको चिनोस्वरुप प्रदान गर्नुभएको थियो । भेटमा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, कार्यपालिका सदस्य सुनिता अवाललगायत हुनुहुन्थ्यो ।

Leave A Reply

Your email address will not be published.