Explore news and happenings at Bhaktapur

चितवनमा जिल्लास्तरीय भेला एवम् प्रशिक्षण कार्यक्रम सम्पन्न

रत्ननगर । २०७७ चैत्र ७ गते, शनिबार

0

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा नेमकिपा चितवन जिल्ला समितिको आयोजनामा जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम शनिबार रत्ननगरमा सम्पन्न भयो ।


कार्यक्रममा प्रमुख प्रजापतिले पुँजीवादी प्रजातन्त्रमा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई हुने बताउनुहुँदै राजनीति कहिल्यै सरल बाटोमा हिंड्दैन भन्नुभयो ।
सशस्त्र संघर्षबाट राज्य सत्ता कब्जा गरेको इतिहासबारे प्रशिक्षित गर्नुहुँदै उहाँले प्रजातान्त्रिक समाजवाद भनेको पुँजीवादी व्यवस्था भएको बताउनुभयो । पुँजीपति वर्गको हितमा काम गर्ने, राज्यको उद्योग—कलकारखानाहरु निजीकरण गर्नेहरु कम्युनिष्ट हुनै सक्दैन भन्नुहुँदै उहाँले नेपाललाई छिमेकी देश भारतले आर्थिक रुपले उपनिवेश बनाउँदैछ भन्नुभयो ।
नेपालको शासन सत्तामा जाने नेताहरु विदेशी दलाल सावित हुँदै गएको बताउनुहुँदै प्रमुख प्रजापतिले नेपालको राजनीति विदेशकेन्द्रित हुनुमा शासकहरुको कमजोरीका कारण भएको बताउनुभयो ।
उहाँले भन्नुभयो — ‘नेमकिपाले केपी ओलीको देशघाती काममा समर्थन गरेको होइन, नेपालको सार्वभौमिकता रक्षा गर्ने सवालमा मात्र समर्थन गरेको हो । नेमकिपा व्यापक जनताको राजनीतिक चेतनास्तर उठाउने अभियानमा क्रियाशील छ ।’
शासन सत्ता स्वयम् अधिनायकवादी हुने बताउनुहुँदै उहाँले चुनावदेखि डराउनेहरु प्रजातन्त्रवादी हुनसक्दैन भन्नुभयो । सशस्त्र संघर्षबाट मात्र समाजवाद स्थापना हुने धारणा व्यक्त गर्नुहुँदै उहाँले राजनीतिक स्पष्टता र शत्रुलाई सजिलै चुनावमा जित्न नदिन नेमकिपाले चुनावको उपयोग गर्ने बताउनुभयो ।
नेमकिपासँग सैद्धान्तिक बहस गर्ने शक्ति शासक दलहरुमा नभएको विचार व्यक्त गर्र्नुहुँदै नेता प्रजापतिले नेमकिपाको उद्देश्य कामदार जनताको इमानदारितापूर्वक सेवा गर्ने भएको बताउनुभयो ।
राजनीति भनेको निःस्वार्थ भावनाले देश र जनताको हितमा काम गर्ने हो भन्नुहुँदै उहाँले असल व्यक्ति राजनीतिमा नआए खराब व्यक्ति शासन सत्तामा पुग्ने खतरा हुनेतर्फ सचेत पार्नुभयो ।
भक्तपुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुर नपा खेलकुदको माध्यमबाट देशको सार्वभौमिकता विरुद्ध लड्ने र आवाज उठाउने नयाँ युवा पुस्ता तयार गर्ने अभियानमा रहेको बताउनुहुँदै नेमकिपाको घोष्णापत्रअनुरुप भक्तपुर नगरपालिकाले आफ्ना गतिविधिहरु अगाडि बढाइरहेको छ भन्नुभयो । उहाँले समाजवादी गणतन्त्रले मात्र व्यापक जनताको हित गर्ने बताउनभुयो ।
कार्यक्रमका सभापति एवम् नेमकिपा चितवन जिल्ला समितिका अध्यक्ष हरिप्रसाद दुवालले पार्टी प्रकाशनहरु नियमित अध्ययनमा जोड दिनुपर्ने र सैद्धान्तिक छलफलको माध्यमबाट संगठन विस्तारमा आआफ्नो तर्फबाट अग्रसर रहनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेक्राविसंघका केन्द्रीय उपाध्यक्ष प्रकाश गुरुङले क्युवाली क्रान्तिबाट नेपालले सिक्नुपर्ने पाठ र क्युवाली नेता चे ग्वेभाराले क्युवाली जनता र विश्वको निम्ति भएका देशभक्तिपूर्ण गतिविधिहरुबाट शिक्षित भई अगाडि बढ्न जरुरी रहेको र नेतृत्वकर्ताहरुले नयाँ पुस्तालाई मार्गनिर्देश्न गर्नुपर्ने धारणा राख्नुभयो ।
नेक्रायुसंघ चितवनका जिल्ला अध्यक्ष ज्ञानेन्द्र चेपाङले देशको समसामयिक राजनीतिक विषयमा आफ्नो धारणा राख्नुहुँदै शासक दलको अदूरर्शिता र अकर्मन्यताले गर्दा देशको स्थिति झन् बिग्रिंदै गएको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा चितवन जिल्ला समितिका सदस्य सुमित्रा महतोले स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै कोभिडबाट बच्ने उपाय र रोकथामबारे प्रशिक्षित गर्नुभएको थियो ।
नेक्राकिसंघ चितवनका सदस्य मोहनबहादुर चेपाङले नेमकिपाका पार्टी प्रकाशनहरु मजदुर दैनिक, श्रमिक साप्ताहिकलगायतको अध्ययनबाट कार्यकर्ताहरुको बौद्धिक क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
कार्यक्रममा आयोजक समितिका उपाअध्यक्ष राजकुमार श्रेष्ठ र नेपाल क्रान्तिकारी विद्यार्थी संघ चितवन जिल्ला सचिव अर्जुन चेपाङले शासक दलले कम्युनिष्टको नाममा जनतालाई ढाँटिरहेको हुँदा जनताहरु सचेत हुनुपर्ने र युवा—विद्यार्थीहरु राजनीतिक रुपमा सचेत र संगठित हुनुपर्नेमा जोड दिनुभयो ।
यसैबीच नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा रत्ननगरमा विद्यार्थी भेला सम्पन्न भयो । सो भेलाले अर्जुन चेपाङको संयोजकत्वमा ९ सदस्यीय नेपाल क्रान्तिकारी विद्यार्थी संघ पाँचौं जिल्ला सम्मेलन तयारी समिति चितवन गठन भयो ।

Leave A Reply

Your email address will not be published.