Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकाका कर्मचारीसँग भेटघाट कार्यक्रम

२०७७ फागुन २५ गते, मंगलबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले तालिमले कर्मचारीलाई कार्य सम्पादनको निम्ति ज्ञान प्रदान गर्नुका साथै व्यक्तिको ज्ञान, सीप र व्यवहारमा परिवर्तन ल्याई हरेक चुनौती सामना गर्ने अवार प्रदान गर्ने बताउनुभयो ।
मंगलबार भक्तपुर नपा पर्यटन शाखाका कर्मचारीहरुसँगको भेटघाट कार्यक्रममा मार्गनिर्देश गर्नुहुँदै नगर प्रमुख प्रजापतिले कर्मचारीहरुले अध्ययनमा जोड दिनुपर्ने र देशको हित विपरीत काम गर्ने कर्मचारीहरुबाट सचेत र सजग रहनुपर्ने बताउनुभयो ।
इमानदारी र निःस्वार्थ भावनाले गरेको कामबाट मात्र समाजमा इज्जत र प्रतिष्ठा बढ्ने बताउनुहुँदै उहाँले राजनीतिमा राजनैतिक नैतिकताको ठूलो महत्व भएको बताउनुभयो । उहाँले प्रम ओलीले गरेको संसद विघटन स्वाभाविक प्रक्रिया हुँदा हुँदै पनि सर्वोच्चले गरेको संसद पुनःस्थापनाले देश झन् अस्थिरतातर्फ धकेलिएको बताउनुभयो ।
भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थल बनाउने प्रयास जारी रहेको बताउनुहुँदै प्रमुख प्रजापतिले कोभिड महामारीबीच पनि भक्तपुर नपाले यहाँको विकास निर्माण र संस्कृति सम्पदा संरक्षणलाई तीव्रता दिंदै अवसरको रुपमा लिएको बताउनुभयो ।
उहाँले नेपालमा साम्राज्यवादी देशहरुबाट चलखेलहरु भइरहेकोतर्फ सचेत पार्नुहुँदै नेपाललाई अस्थिरतातर्फ उन्मुख गर्न तल्लिन साम्राज्यवादी देशको चरित्रबारे कर्मचारीहरु सचेत हुनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा पर्यटन शाखा प्रमुख गौतमप्रसाद लासिवाले समयअनुसार कर्मचारीहरुले दक्षता हासिल गर्न नसके आफ्नो कार्यक्षेत्रमा दक्ष कर्मचारीहरुबाट प्रतिष्थापन हुने खतरा बढ्ने बताउनुभयो । उहाँले पर्यटन क्षेत्रमा कोभिड १९ को जोखिमले पुर्याएको असरबारे प्रष्ट पार्नुहुँदै भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने औंल्याउनुभयो ।
भक्तपुर नपाका प्रशासकीय अधिकृत दामोदर सुवालले कर्मचारीहरुले कार्यालयको प्रशासनिक अनुशासनको पालना गर्नुपर्ने, आर्थिक पारदर्शिता, व्यक्तिगत सरसफाई र व्यक्तिगत आचरण र स्वभावमा ध्यान दिनुपर्ने बताउनुहुँदै समयसापेक्ष बौद्धिक क्षमता अभिवृद्धि, शैक्षिक योग्यता र कार्यदक्षता बढाउँदै लानुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका कर्मचारी मुरज दिदियाले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.