Explore news and happenings at Bhaktapur

गुठी संस्थान कार्यालयको भवन मौलिक शैलीमा पुनःनिर्माण गर्न सहमत

२०७७ फागुन १९ गते, बुधबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नपा वडा नं. ५ स्थित गुठी संस्थान कार्यालयको भवन पुनःनिर्माणको लागि तयार पारिएको नक्सासम्बन्धी बुधबार सरोकारवालाहरुसँग बैठक बस्यो ।

बैठकले दरबार क्षेत्रमा अवस्थित गुठी संस्थान भक्तपुरको कि.नं. ७५४, क्षेत्रफल ०—८—३—० कित्ता जग्गाको पेश भएको नक्सा सम्बन्धमा साविक बमोजिम स्मारण संरक्षण हुने स्मारक शैली र स्वरुपअनुसार नक्सा पास प्रक्रियाको लागि अगाडि बढाउने निर्णय ग¥यो ।

पुरातत्व विभागले ३५ फिटभन्दा अग्लो बनाउन नहुने तर्क गर्दै साबिक भवनमा रहेको मन्दिरको झण्डै एक तल्ला घटाइ नक्सा स्वीकृत गरेपछि नगरपालिकाले त्यसलाई अस्वीकार गर्दै आएको थियो । प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार सम्पदामा निजी घरसरह उचाइ मापदण्ड कायम हुन नसक्ने भन्दै नगरपालिकाले पटक पटक उक्त नक्सा साविक बमोजिम परिमार्जन गरी ल्याउन पुरातत्व विभागमा पठाएको थियो । तर पुरातत्व विभागले सच्याउन नमानेपछि नगरपालिकाको अगुवाईमा बैठक बसी मौलिक शैलीमा साबिक बमोजिमको नक्सा पास अगाडि बढाउन सबै सरोकारवालाहरु सहमत भएको हो ।

बैठकमा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले भक्तपुर सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको सहर भएको हुँदा यहाँका सम्पदाहरु पुनःनिर्माण वा जीर्णोद्धार संवेदनशील विषय भएको बताउनुहुँदै प्राप्त ऐतिहासिक प्रमाण र तथ्यको आधारमा गुठी संस्थान कार्यालयको भवन पुनःनिर्माण हुनुपर्नेमा जोड दिनुभयो । भक्तपुर नगरपालिकाले यहाँका सम्पदाहरु पुनःनिर्माणमा जनताको राय—सुझाव र जनताकै सहभागितामा अगाडि बढाइरहेको बताउनुभयो ।

स्मारक संरक्षण तथा दरबार हेरचाह केन्द्र भक्तपुरका प्रमुख अरुणा नकर्मीले भन्नुभयो — ‘गुठी संस्थानको भवन स्मारक हो, निजी घर होइन । दरबार क्षेत्रमा सिलु महादेव बन्दैछ, त्यो पनि स्मारक हो । स्मारकमा उचाइ घटाउन उपयुक्त हुँदैन । पुरातत्व विभागमा स्पष्ट पारेर प्रस्ताविक नक्सा पास प्रक्रिया अगाडि बढाउन सहमत छु ।’

बैठकमा नगरपालिकाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, गुठी संस्थान कार्यालयका प्रमुख आनन्दप्रसाद कर्माचार्य, जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी परिसर भक्तपुरका प्रतिनिधि, प्रशासकीय अधिकृत दामोदर सुवाल, भक्तपुर नपा सम्पदा शाखा, नक्सा शाखा र योजना शाखाका प्रमुखहरुले प्राप्त ऐतिहासिक प्रमाणका आधारमा गुठी संस्थान कार्यालयको भवन पुनःनिर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

Leave A Reply

Your email address will not be published.