Explore news and happenings at Bhaktapur

भनपा ५ मा एकदिने निशुल्क पाठेघर तथा स्तन क्यानसर परीक्षण शिविर

२०७७ फागुन १ गते, शनिबार

0

भक्तपुर नपा वडा नं. ५ को आयोजनमा भएको एकदिने निशुल्क पाठेघर तथा स्तन क्यानसर परीक्षण शिविर भयो । फैलदो स्तन क्यान्सर र पाठेघरको क्यान्सरबाट धेरै महिलाहरु यसको सिकार बनिरहेको अवस्थामा भक्तपुर नपाले नगरबासी महिलाहरुलाई लक्षित गरी उक्त शिविर सञ्चालन गरिएको हो ।

शिविरमा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले लाजका कारण धेरै महिलाहरु पाठेघर क्यान्सर र स्तन क्यान्सरको शिकार हुन बाध्य भएको बताउनुहुँदै भक्तपुर नपाले गरेको निःशुल्क परीक्षण तथा स्वास्थ्य सेवा पाउँदा स्थानीय महिलाहरु निकै खुशी भएको र स्थानीय स्तरमा यस किसिमको स्वास्थ्य शिविरले निकै ठूलो महत्व राख्ने बताउनुभयो ।

भक्तपुर नगरपालिकाले भक्तपुरको शिक्षा, स्वास्थ्य, सरसफाई, विकास निर्माणलगायतका क्षेत्रहरुमा प्राथमिकताका साथ अगाडि बढाइरहेको र नपाबाट सञ्चालित कलेजहरुले सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गर्दै देशको लागि आवश्यक दक्ष इन्जिनियर र नर्सहरु उत्पादन गरिरहेको छ भन्नुभयो ।

भक्तपुर नपाले सिंगो समाजलाई सभ्य, सुसंस्कृत बनाउने हेतुले आफ्ना कार्यक्रमहरुलाई अगाडि सारिरहेको बताउनुहुँदै उहाँले जनताको स्वास्थ्य राम्रो भए नगरको विकास सम्भव हुने बताउनुभयो ।

भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष प्रेमगोपाल कर्माचार्यले आफूसँग भएको रोगबारे नियमित स्वास्थ्य परीक्षण गराई स्वास्थ्यउपचार गराए सम्भावित रोगबाट समयमै बच्न सकिने बताउनुभयो ।

कार्यक्रममा नेमकिपा भनपा ५ का अध्यक्ष नारायणकृष्ण त्वानाबासुले नेपाल मजदुर किसान पार्टीले भक्तपुरको शैक्षिक, आर्थिक र राजनैतिक परिवर्तनमा खेलेको भूमिकाबारे प्रष्ट पार्नुहुँदै नगरपालिकाको निःशुल्क शिविरबाट महिला तथा नगरबासीहरु लाभान्वित हुने बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ५ का महिला सदस्य सम्झना खाइजु र वडा सदस्य पूर्णगोपाल राजचलले पनि बोल्नुभएको थियो ।

परीक्षणमा २३१ नगरबासीहरुले स्तन तथा पाठेघरको परीक्षण गराएको वडा कार्यालय स्रोतले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.