Explore news and happenings at Bhaktapur

भक्तपुर साकोसका कर्मचारीहरुबीच मजदुर र श्रमिक पत्रिकाबारे अन्तरक्रिया

२०७७ माघ १९ गते, सोमबार

0

नेपाल मजदुर किसान पार्टीको ४७ औं पार्टी स्थापना दिवसको अवसरमा भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि. कर्मचारी समाजको आयोजनामा श्रमिक र मजदुर पत्रिकाको अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले नेमकिपाले श्रमिक र मजदुरमा प्रकाशित लेखमार्फत कामदार वर्गको पक्षमा र भारतीय विस्तारवाद तथा भारतीय एकाधिकार पुँजीको विरोधमा निरन्तर आवाज उठाइरहेको बताउनुभयो । श्रमिक र मजदुर नेमकिपाको विचार प्रचार गर्ने सशक्त माध्यम भएको हुँदा पत्रिका निरन्तर प्रकाशनको निम्ति सबैले सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले पुँजीपति वर्गको पक्षमा काम गर्ने पत्रिका तथा सञ्चारमाध्यमहरुले नाफा कमाउने, मजदुर आन्दोलनलाई दबाउन र शासक वर्गको सुरक्षाको निम्ति काम गरिरहेको हुन्छ भन्नुभयो ।
नेकपाले लिएको गलत सिद्धान्त र विचारका कारण देशको राजनीति गलत दिशातर्फ उन्मुख भएको बताउनुहुँदै नगर प्रमुख प्रजापतिले छिमेकी देश भारतले नेपाललाई स्वतन्त्र र स्वाधिन देशको रुपमा नस्वीकार्नुले पनि नेपालमा भारतको प्रभाव बढिरहेको प्रष्ट हुन्छ भन्नुभयो ।

कार्यक्रममा भक्तपुर साकोसका कानुनी सल्लाहकार रामप्रसाद प्रजापतिले बहुमत प्राप्त सरकारसँग आफ्नो सरकारको काम कारबाही अगाडि बढाउन संसद विघटन गर्ने विशेष अधिकार हुने बताउँदै प्रधानमन्त्रीको संसद विघटन स्वाभाविक प्रक्रिया हो भन्नुभयो ।
संस्थाका अध्यक्ष बलराम प्रजापतिले नेपालको कम्युनिष्ट आन्दोलनमा नेमकिपाले खेलेको भूमिकाबारे प्रष्ट पार्दै नेकपासँग नेमकिपाको सैद्धान्तिक मतभेद रहेको र शासक दलको राजनैतिक अस्पष्टता र व्यक्तिकेन्द्रित मानसिकताका कारण देश अराजकतातर्फ धकेलिँदै गएको बताउनुभयो ।
भक्तपुर साकोस कर्मचारी समाजका अध्यक्ष जगन्नाथ प्रजापतिले कर्मचारीहरु राजनैतिक रुपले सचेत र संगठित हुनुपर्नेमा जोड दिँदै यस किसिमका अन्तरक्रियाले कर्मचारीहरुबीच पठन संस्कृतिको विकास हुने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर साकोस कर्मचारी समाजका उपाध्यक्ष सत्यनारायण साँयजु, कर्मचारीहरु अन्जना छुस्याबाग, निभा कोजु, दिनेश धौबन्जार र दयालक्ष्मी धन्छाले पनि श्रमिक र मजदुरमा प्रकाशित विभिन्न लेखहरुबारे आआफ्नो धारणा राख्नुभयो ।

Leave A Reply

Your email address will not be published.