Explore news and happenings at Bhaktapur

नेमकिपा स्थापना दिवसको अवसरमा सुर्खेतमा “जनताको प्रजातन्त्र” विषयक प्रवचन कार्यक्रम सम्पन्न

0

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा सुर्खेत जिल्ला समितिको आयोजनामा नेमकिपाको ४७ औं स्थापना दिवसको अवसरमा “जनताको प्रजातन्त्र” विषयक प्रवचन कार्यक्रम आइतबार सुर्खेतको बीरेन्द्रनगरमा सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि सुनिल प्रजापतिले पार्टी स्थापनाको ४६ वर्षको अवधिमा नेमकिपाका अग्रजहरुले पु¥याउनुभएको योगदान र भूमिकाको स्मरण गर्नुहुँदै पार्टीलाई निजी स्वार्थको निम्ति प्रयोग गर्नेहरु लामो समय टिकिराख्न नसकेको बताउनुभयो । नेमकिपाले सातौं महाधिवेशनमा जनताको प्रजातन्त्र, समाजवाद हुँदै साम्यवादसम्म पुग्ने लक्ष्य बोकेको प्रष्ट पार्नुभयो ।

प्रधानमन्त्री के.पी. ओलीले गरेको संसद विघटनलाई नेमकिपाले स्वभाविक र औचित्यपूर्ण रुपमा लिएको बताउनुहुँदै उहाँले नेकपाको झगडा कुनै सैद्धान्तिक आधार नभएको र कामदार जनता विरोधी पुँजीवादी सरकार भएको बताउनुभयो ।

सन् १९५० को सन्धि नेपालमा कायम रहेसम्म भारतले नेपाललाई अप्ठेरो स्थिति सिर्जना गरिरहने सम्भावना रहेको बताउनुहुँदै केन्द्रीय सदस्य प्रजापतिले सन् १९५० को सन्धि खारेजीको माग नेमकिपाले निरन्तर गर्दै आइरहेको बताउनुभयो ।

भारतले नेपालको आर्थिक, व्यापारिक र राजनैतिक क्षेत्रमा प्रभुत्व जमाउँदै गइरहेको बताउनुहुँदै भारतले नेपाललाई आर्थिक रुपमा परनिर्भर बनाउने ढंगले अगाडि बढिरहेको उहाँले बताउनुभयो । आर्थिक रुपले स्वतन्त्र नभएको देश स्वाधीन र स्वतन्त्र हुन नसक्ने बनाउनुहुँदै प्रमुख अतिथि प्रजापतिले जनताको प्रजातन्त्रलाई समाजवाद प्राप्तीको पहिलो आधारको रुपमा व्याख्या गर्नुभयो ।

कामदार वर्गको शासन व्यवस्था कायम गरी सरकारको आर्थिक उत्पादनका साधनहरु सरकारीकरण गर्दै लानु नै समाजवादको सौन्दर्यता हो भन्दै

उहाँले नेपालमा समाजवाद स्थापनाको निम्ति नेमकिपा निरन्तर क्रियाशील ढंगले संघर्ष गरिरहने बताउनुभयो ।

उहाँले चुनावबाट समाजवाद आउँछ भन्नु पुँजीवादी सोच र संसोधनवादी विचार भएको औंल्याउनुहुँदै नेमकिपाले प्रमुख प्रतिपक्षको भूमिका निभाइरहेको बताउनुभयो ।

राजनीतिक स्पष्टता र कामदार वर्गको हितमा कानुन निर्माण गर्न निर्वाचनमा भाग लिनुपर्ने धारणा राख्नुहुँदै नेता प्रजापतिले समाजवादी व्यवस्थाले व्यापक जनताको हित गर्छ र समाजवादी विचार संसारकै नवीनतम विचार हो भन्नुभयो । उहाँले नेमकिपासँग सैद्धान्तिक बहस गर्न अन्य राजनैतिक दल असमर्थ भएको बताउनुहुँदै देशको स्वतन्त्रता, स्वाधीनता र सार्वभौमिकता जोगाइराख्न नेमकिपाले निर्वाचनको उपयोग गर्छ भन्नुभयो ।

कार्यक्रमका अतिथि नेपाल क्रान्तिकारी मजदुर संघका केन्द्रीय अध्यक्ष राजेन्द्र चवालले पार्टी स्थापना दिवस पार्टीको इतिहास र पार्टीका अग्रजहरुलाई सम्झने दिन रहेको बताउनुहुँदै पार्टीको सैद्धान्तिक आधारबारे अध्ययन र छलफल गर्ने अवसर रुपमा स्थापना दिवस मनाउनुपर्र्ने बताउनुभयो । प्रम ओलीले गरेको संसद विघटनलाई नेमकिपाले स्वाभाविक र औचित्यपूर्ण कदमको रुपमा लिएको बताउनुहुँदै नेकपाको झगडामा सैद्धान्तिक आधारहरु नभएको उहाँले बताउनुभयो ।

कार्यक्रमका अतिथि नेपाल क्रान्तिकारी महिला संघका केन्द्रीय सदस्य रोशनमैंया सुवालले दुई तिहाई बहुमत प्राप्त नेकपाले आपूmलाई कम्युनिष्ट दाबी गरे तापनि नेपालमा समाजवादी व्यवस्था स्थापनाको निम्ति कुनै चासो नदिएको बताउनुभयो । कम्युनिष्टको नाममा सत्ता सञ्चालन गरिरहेको नेकपा अहिले व्यक्तिगत महत्वकांक्षा, पद र भागवण्डाका कारण फुटको संघारमा पुगेको बताउनुहुँदै उहाँले नेमकिपाले बहुमत किसानलाई संगठित गर्ने काममा क्रियाशील रहेको उहाँले बताउनुभयो ।

नेपाल क्रान्तिकारी किसान संघका केन्द्रीय सदस्य प्रेमकुमार थापाले कम्युनिष्ट सरकार भनी नेकपाले जनतालाई ढाँटीरहेको तथा कृषिप्रधान देशमा किसानको हितमा कुनै उपलब्धीमूलक काम हुन नसकेकोतर्फ ध्यानाकृष्ट गराउनुहुँदै नेपालका पुँजीवादी पार्टीहरुले किसान माथि निरन्तर शोषण गरिरहेको छ भन्नुभयो ।

कार्यक्रममा नेमकिपा सुर्खेत जिल्ला समितिका अध्यक्ष हरिबहादुर बोहरा र नेमकिपा सुर्खेतका सहसचिव शेरबहादुर शाहीले नेमकिपा स्थापनाको उद्देश्यबारे प्रष्ट पार्नुहुँदै स्थापना दिवसको अवसरमा नेमकिपाले देश र जनताको पक्षमा प्रचारात्मक अभियान चलाइरहेको बताउनुभयो ।

नेमकिपा स्थापना दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा प्राध्यापक समाज नेपालका केन्द्रिय सदस्य प्राध्यापक टीकाप्रसाद पोखरेलले कविता वाचन गर्नुभएको थियो भने नेक्रामहिला संघ सुर्खेतका विजुकला राणाले देउडा गीत पनि प्रस्तुत गर्नुभएको थियो भने नेमकिपा सुर्खेत जिल्लाका धनेन्द्र विकले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.