Explore news and happenings at Bhaktapur

आठौं नगरसभाबाट ‘भक्तपुर नगरपालिका आदर निकेतन सेवा सम्बन्धी विधेयक, २०७७’ र भक्तपुर नगरपालिका शिशु स्याहारतथा बालविकास केन्द्र संचालन कार्यविधि पारित

२०७७ माघ ६ गते, बिहीबार

0

(चौथो दिन)

भक्तपुर नगरपालिकाको आठौं नगरसभाको बिहीबार बसेको बैठकले ‘भक्तपुर नगरपालिका आदर निकेतन सेवा सम्बन्धी विधेयक, २०७७’ र ‘शिशु स्याहार तथा बालविकास केन्द्र सञ्चालन कार्यविधि — २०७७’ सर्वसम्मतिले पारित ग¥यो ।
बैठकमा बोल्नुहुँदै भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाको प्रत्येक वडामा शिशु स्याहार केन्द्र सञ्चालन गर्ने नीति रहेको बताउनुहुँदै नपाले पारित गरेको कार्यविधिले शिशु स्याहार केन्द्र व्यवस्थित रुपमा सञ्चालन गर्न सहयोग पुग्ने बताउनुभयो । भक्तपुर नपाले आदर निकेतन सञ्चालन गरी नगरबासी ज्येष्ठ नागरिकहरुलाई सेवा गर्ने उद्देश्य बोकेको बताउनुहुँदै निजी संस्थाले महँगोमा वृद्धाश्रम खोलिरहेकोमा भक्तपुर नपाले गरिब जनताको पहुँच पुग्ने आदर्श निकेतन सञ्चालन गर्ने उद्देश्य राखेको बताउनुभयो ।
सभाबाट पारित ‘भक्तपुर नगरपालिका आदर निकेतन सेवा सम्बन्धी विधेयक, २०७७’ मा नगरपालिकाले नगरभित्र कुनै स्थानमा आदर निकेतन वा आदर निकेतन दिवा सेवा केन्द्रको स्थापना गर्न सकिने, आदर निकेतन व्यवस्थापन कोष, शाखा प्रमुखको काम, कर्तव्य र अधिकार, आदर निकेतनको लेखा र लेखापरीक्षण, अन्त्येष्टी, सम्पत्तिसम्बन्धी व्यवस्थालगायतका विषयहरु उल्लेख छ ।
‘भक्तपुर नगरपालिका आदर निकेतन सेवा सम्बन्धी विधेयक, २०७७’ बारे छलफलमा सभासद्हरु गोविन्द दुवाल, बलराम न्हिसुतु, सूर्यप्रसाद श्रेष्ठ, ज्ञानकुमार मगजु र राजेन्द्र माकले आ आफ्नो विचार र सुझाव प्रस्तुत गर्नुभएको थियो ।
भक्तपुर नगरपालिकाको आठौं नगरसभाबाट पारित ‘शिशु स्याहार तथा बालविकास केन्द्र सञ्चालन कार्यविधि — २०७७’ मा भक्तपुर नगरपालिकाभित्र स्थायी र अस्थायी बसोबास गरिरहेका नगरबासीहरुका बालबालिकाहरुलाई न्यून शुल्कमा गुणस्तरीय स्याहार सुसार सेवा तथा शिक्षा प्रदान गर्ने उद्देश्य रहेको र नगरपालिकाद्वारा सञ्चालित शिशुस्याहारको व्यवस्थापन भक्तपुर नगरपालिकाको शिक्षा, स्वास्थ्य तथा संस्कृति समितिले हेर्ने व्यवस्था रहेको उक्त कार्यविधिमा उल्लेख छ ।
‘शिशु स्याहार तथा बालविकास केन्द्र सञ्चालन कार्यविधि — २०७७’ माथिको छलफलमा सभासद्हरु सिद्धिराम अवाल, श्यामसुन्दर मातां, ज्ञानकुमार मगजु र राजेन्द्र माकलगायतले आ–आफ्नो धारणा र जिज्ञासा राख्नु भएको थियो ।
छलफलमा सभासदहरुले उठाउनु भएका जिज्ञासाबारे विधायन समितिका संयोजक हरिराम सुवालले स्पष्ट पार्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.