Explore news and happenings at Bhaktapur

गणेश मावि ‘सी’ ब्लकमा हल निर्माण गर्न उपभोक्ता समिति गठन

२०७७ माघ ६ गते, मंगलबार

0

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा नेमकिपाको तर्फबाट बागमती प्रदेश सांसद सुरेन्द्रराज गोसाईंको निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत गणेश माविको ‘सी’ ब्लकमा हल निर्माण गर्न उपभोक्ता समिति गठन कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा नगर प्रमुख प्रजापतिले उपभोक्ता समितिबाट हुने निर्माण कार्यमा मितव्ययिता, गुणस्तरीयता, दिगोपना हुनुका साथै स्थानीय जनतालाई रोजगारी सिर्जना हुने र लागत अनुमान भन्दा कम खर्चमा निर्माण सम्पन्न हुने बताउनुभयो । उहाँले उपभोक्ता समितिले इमानदारीपूर्वक पारदर्शी ढंगले काम गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।

सामुदायिक विद्यालयमा समयसापेक्ष शिक्षाको विकास हुन नसक्दा विद्यार्थी संख्या घट्दो क्रममा रहेको बताउनुहुँदै उहाँले सार्वजनिक विद्यालयलाई असल आचरण भएको दक्ष जनशक्ति उत्पादन गर्ने स्थलको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

केही शिक्षकहरु आफ्नो पेशाप्रति जिम्मेवार बन्न नसकेका कारण विद्यार्थी तथा समग्र विद्यालयको स्थिति कमजोर बन्दै गइरहेको बताउनुहुँदै उहाँले भक्तपुर नपाले सामुदायिक र निजी विद्यालयहरुबीच गुणस्तरमा समानता ल्याउने उद्देश्यले विभिन्न तालिम सञ्चालन, आर्थिक तथा भौतिक सहयोगहरु गर्दैै आइरहेको बताउनुभयो ।

भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुर नगरपालिकामा हुने विकास निर्माणमा स्थानीय जनताको सहभागितामा उपभोक्ता समितिमार्फत कार्य भइरहेको बताउनुहुँदै भक्तपुर नपाले सामुदायिक विद्यालयको भौतिक निर्माणको लागि आर्थिक सहयोगहरु प्रदान गर्दै आइरहेको छ भन्नुभयो ।

गणेश मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रबिन्द्र खर्बुजाले उपभोक्ता समितिमार्फत हुन लागेको हल निर्माण गुणस्तरीय ढंगले निर्धारित समयमै सम्पन्न हुने आशा व्यक्त गर्नुहुँदै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्दै लानुपर्ने आवश्यकता औंल्याउनुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य लक्ष्मीनारायण राजलवट, गणेश माविका प्रअ गणेशराम थुसा, ईन्जिनियर श्रीकृष्ण न्याइँच्याइँले विद्यालयको प्रगतिमा सबैको साथ र सहयोग पाउने अपेक्षा गर्नुहुँदै सामुदायिक विद्यालयमा पढ्न र पढाउन विद्यार्थीहरुलाई प्रेरित गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा शिक्षक लक्ष्मीसुन्दर सुवालले पनि बोल्नुभएको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका सदस्य लक्ष्मीनारायण राजलवटले स्थानीय बुद्धिभक्त सिन्ताकलको अध्यक्षतामा सात सदस्यीय उपभोक्ता समिति गठन भएको जानकारी गराउनुभयो ।

 

 

 

Leave A Reply

Your email address will not be published.