Explore news and happenings at Bhaktapur

संघ, प्रदेश र स्थानीय तह कोही कसैको मातहतमा बस्नु पर्दैन— प्रमुख प्रजापति

२०७७ पुस २९ गते, बुधबार

0

सभासद् मित्रहरु,

भक्तपुर नगरपालिकाको सातौं नगरसभा २०७७ असार ७ गते प्रारम्भ भई असार १६ गते सम्पन्न भयो । उक्त सभाले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र बजेट स्वीकृत गरेको थियो । सभाबाट स्वीकृत बजेटको सीमाभित्र रही भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, विकास निर्माण, सम्पदा संरक्षणलगायतका काम गरिरहेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा वर्षको दुईपटक नगरसभाको बैठक बस्नुपर्ने व्यवस्था छ । ऐनको त्यही प्रावधानअनुसार यो आठौं नगरसभा बस्दैछौं ।
देशको राजनीति अत्यन्तै जटिल र अप्ठेरो मोडमा छ । देशको सर्वोच्च जनप्रतिनिधिसभा विघटन भई नयाँ निर्वाचनको मितिसमेत घोषणा भइसकेको छ । तर निर्वाचन हुने नहुने टुंगो लागिसकेको छैन । प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । अदालतले त्यसको उचित निर्णय लिने जनताको विश्वास छ ।

प्रजातन्त्रमा निर्वाचित प्रधानमन्त्रीसँग “संसद भंग गर्ने भरेको बन्दुक हुन्छ” भन्ने मान्यता छ । आफ्नो दलका सांसदहरुलाई अनुशासनमा राख्न र विपक्षीहरुले सरकारलाई काम गर्न बाधा अड्चन सृजना गरेको अवस्थामा प्रधानमन्त्रीले कुनै पनि बेला संसद भंग गर्ने अधिकार राख्छ । यही मान्यताअनुसार प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेकोलाई स्वभाविक राजनैतिक घटनाक्रमको रुपमा लिन सकिन्छ । प्रतिनिधिसभा विघटनको बेला स्थानीय तहमा बसेर काम गरेका हामी जनप्रतिनिधिहरुको भूमिका अझ बढेको छ । हामी जनप्रतिनिधिहरु थप सचेत भएर काम गर्नुपर्ने आवश्यकता छ ।

स्थानीय तह कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासहितको अधिकार प्राप्त निकाय हो । संघ र प्रदेश सरकारहरुले विभिन्न बहानामा स्थानीय तहको स्वायत्ततामाथि हस्तक्षेप गर्ने प्रयास गर्दैछन् । संघ र प्रदेशले निरन्तर कर्मचारीहरु पठाउने गरेका छन् तर भनपाले तिनीहरुलाई फिर्ता पठाउने गर्दै आएको छ । तिनीहरुलाई हाजिर नगराइएको भन्दै ती कर्मचारीहरुले पाउने तलब बराबरको रकम अनुदानमा कटौती गरेर पठाउने गरिएको छ । स्थानीय तहको आवश्यकताअनुसारको कर्मचारी राख्ने अधिकार स्थानीय तहलाई नै हुनुपर्नेमा हामी जोड दिंदैछौं ।

समपूरक र विशेष अनुदानको लागि योजनाको सिफारिस स्थानीय तहले गर्ने तर संघ र प्रदेशले योजना छनौट गर्ने नीति सरासर गलत हो । यो अप्रत्यक्ष रुपमा स्थानीय तहमाथि केन्द्रको नियन्त्रण हो । नेपालको संविधान अनुसार संघ, प्रदेश र स्थानीय तह कोही कसैको मातहतमा बस्नु पर्दैन । सबै तह आ–आप्mनो क्षेत्रमा स्वायत्त छन् । स्थानीय तह योजना कार्यान्वयन गर्ने महत्वपूर्ण निकाय भएको हुँदा देशको विकास निर्माणको अधिकांश बजेट स्थानीय तहमा पठाइनुपर्दछ । स्थानीय तहमा बढी बजेट पठाएको खण्डमा विकास निर्माणको काम अझ बढी प्रभावकारी रुपमा अगाडि बढ्नेछ ।

प्रधानमन्त्री केपी ओलीले केही समयअघि “प्रदेशहरु संघको इकाइ मात्रै हुन्” भन्नुभयो । जुनसुकै बहानामा स्थानीय तहमाथि नियन्त्रण खोज्नु हस्तक्षेप नै हो । कुनै पनि प्रकारको हस्तक्षेप नगरपालिकाको लागि स्वीकार्य हुँदैन । स्थानीय तहको पूर्ण स्वायत्तताको लागि हामी निरन्तर लडिरहेका छौं र लडिरहनेछौं ।

यो आर्थिक वर्षको शुरुदेखि नै कोभिड–१९ को कारण सबै क्षेत्र प्रभावित भयो । यद्यपि नगरपालिकाका जनप्रतिनिधिहरु, कर्मचारीहरुको संयुक्त प्रयास र नगरबासीहरुको अमूल्य सहयोगले हामी यस अवधिमा पनि आप्mना कार्यहरुलाई निरन्तरता दिन सफल भयौं ।
सातौं नगरसभाले रु. १ अर्ब ८२ करोड ४० लाख बराबरको बजेट पारित गरेको थियो । अहिलेसम्म निम्न बमोजिम आय व्यय रहेको जानकारी गराउन चाहन्छौं ः–

चालू खर्चतर्फ ः
आ.व. २०७६÷७७ मा चालू खर्चतर्फ ९९ करोड ८० लाख रूपैया“ विनियोजन गरिएकोमा २०७६ पौष मसान्तसम्ममा ३६ करोड १७ लाख २२ हजार रूपैया“ खर्च भएको थियो । आ.व. २०७७÷७८ मा १ अर्ब २ करोड ६६ लाख ८९ हजार रूपैया“ विनियोजन गरिएकोमा २०७७ पौष २६ सम्ममा २३ करोड ६० लाख ७० हजाररूपैया“ खर्च भयो । यो चालूतर्फ विनियोजित बजेटको २२.९९ प्रतिशत हो ।

पूँजीगत खर्चतर्फ ः
त्यसैगरी आ.व. २०७६।७७ मा पूँजीगततर्फ १ अर्ब १३ करोड ३० लाख विनियोजन गरिएकोमा २०७६ पौष मसान्तसम्म २५ करोड १० लाख ९५ हजार रूपैया“ खर्च भएको थियो । चालू आ.व. २०७७।७८ मा पूँजीगततर्फ ७५ करोड ३३ लाख ११ हजार विनियोजन गरिएकोमा २०७७ पौष २६ सम्म ११ करोड ४३ लाख ९१ हजार रूपैया“ खर्च भएको छ । यो पूँजीगततर्फ विनियोजित वजेटको १५.१३ प्रतिशत हो ।
यसरी चालू आ.व.मा जम्मा १ अर्ब ८२ करोड ४० लाख बजेट पारित भएकोमा चालू तथा पूँजीगत गरी जम्मा ३५ करोड ४ लाख ६२ हजार ५ सय अर्थात कूल बजेटको १९.२१ प्रतिशत खर्च भएको जानकारी गराउन चाहन्छौं ।

आन्तरिक आयतर्फ ः
सातौं नगरसभाले आन्तरिक आयतर्फ ६२ करोड रूपैया“ (जग्गा बिक्रीबाहेक) राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो । २०७७ मंसिर मसान्तसम्म २५ करोड १३ लाख १८ हजार रुपैयाँ आम्दानी भएको छ ।

स्वास्थ्य ः
चालू आर्थिक वर्षको सुरुदेखि आजको दिनसम्म कोभिड–१९ हामी सबैको निम्ति चुनौति बनेको छ । कोभिडको बढ्दो संक्रमणलाई ध्यानमा राखेर त्यसको रोकथाम र नियन्त्रणको लागि सुरुमा खरिपाटीमा २०० बेडको एकीकृत आइसोलेसन केन्द्र निर्माण गरिएकोमा त्यसपछि भनपा ९ ब्रम्हायणीमा ७५ बेडको नगरपालिकाको छुटै आइसोलेसन केन्द्र संचालन गरियो । आइसोलेसन केन्द्रमा बस्नेहरुका लागि खाना, रक्तचाप र अक्सिजन परीक्षण, भिटामिन सी, सिटामोल, आयुर्वेदिक औषधिको व्यवस्था गरी हामीले संक्रमित नगरबासीहरुको सेवा ग¥यौं । त्यहाँ रहेका र घर घरमा आइसोलेसनमा बसेकाहरुका लागिसमेत अनलाइनमार्फत चिकित्सा सेवा, मनोचिकित्सक, आयुर्वेदिक चिकित्सक, नर्स, फिजियोथेरापिस्ट तथा जनप्रतिनिधिहरुबाट परामर्श सेवा प्रदान ग¥यौं ।
घरघरमा आइसोलेसनमा बस्नेहरुको विशेष टोलीद्वारा फोहर संकलन, ५ जना सम्पर्क व्यक्तिको व्यवस्था, विदेशबाट आएकाहरुका लागि घर, होटल र नपाको आइसोलेसन हेर्न ९ जना कर्मचारीको विशेष टीमको व्यवस्था र ब्रम्हायणी आइसोलेसन केन्द्रको लागि जनप्रतिनिधिको नेतृत्वमा अलग्ग समिति गठन गरी १३ जना कर्मचारीको व्यवस्था ग¥यौं । साथै नगरबासीहरुको स्वास्थ्यलाई ध्यानमा राखेर बिहान ६ः३० बजेदेखि अनलाइन एवं टेलिभिजनमार्फत शारीरिक व्यायामको तालिमको व्यवस्था गरी जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्दैछौं ।

कोभिडको रोकथाम तथा उपचारको लागि खर्च बढ्न सक्ने कुरालाई ध्यानमा राखेर संघ—संस्थाहरुलाई कोभिडको सहयोगको लागि आग्रह ग¥यौं । स्थानीय सहकारी र अन्य संघ संस्था तथा व्यक्तिगत रुपले रु. ५ हजारदेखि २० लाखसम्मको सहयोग प्राप्त भयो । यो आर्थिक वर्ष २०७७/७८ मा साउनदेखि पुष २५ गतेसम्म रु. ४१ लाख ४४ हजार सहयोगस्वरुप प्राप्त भएको छ । सबै सहयोगी संघ–संस्था र महानुभावहरुलाई यस अवसरमा हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि यस्तै सहयोगको अपेक्षा गर्दछौं ।
कोभिड संक्रमितहरुको संख्या बढ्दै गएपछि भक्तपुर नगरपालिकामा पीसीआर परीक्षण मेसिनको व्यवस्था हुनुपर्ने माग बढ्दै गयो । हामीले प्रदेश सरकारसँग समन्वय गरी भक्तपुर अस्पतालमा पीसीआर परीक्षण मेसिनको बन्दोबस्तका लागि जोड दियौं । मेसिन प्राप्त भएपछि भक्तपुरवासीहरुलाई धेरै सहज भएको छ । त्यसअघिसम्म नगरवासीहरु टेकु र धुलिखेलमा गएर पीसीआर परीक्षण गराउनु पर्ने वाध्यता थियो ।

कोभिडका कारण निजी अस्पतालले बिरामी जाँच्न आनाकानी गरेका कारण धेरै बिरामीहरुको बिचल्ली भयो । अस्पताल चहार्दा चहार्दै विरामीहरुको मृत्यु भएको दृश्य हामीले देख्यौं । भक्तपुर अस्पताललाई कोभिड अस्पतालमा परिणत गरेपछि कोभिडबाहेक अन्य रोग लागेका गरिब जनतालाई थप मर्का पर्नसक्ने सम्भावनालाई ध्यानमा राखेर भनपाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रमा बिहान ७ बजेदेखि साँझ ६.० बजेसम्म ओपीडी सेवा सञ्चालनको व्यवस्था मिलायौं । यस्तो गम्भीर अवस्थामा समेत दैनिक २ देखि ४ सयसम्म बिरामीको सेवा ग¥यौं । जनस्वास्थ्य केन्द्ररुहरुको रेकर्ड अनुसार साउन १ गतेदेखि पुस २५ सम्म कुल ५५,६९२ जना बिरामीलाई स्वास्थ्य उपचार सेवा प्रदान ग¥यौं ।

यसरी नगरबासीहरूलाई आवश्यक सेवा सुविधा पु¥याउने कार्यमा खटिँदै गर्दा यो अवधिमा यस नगरपालिकाका ८ जना जनप्रतिनिधिहरु र १४ जना कर्मचारीहरूसमेत कोभिड १९ रोगबाट संक्रमित भएका छन् ।
च्याम्हासिंह आँखा उपचार केन्द्रबाट नगरबासीहरुको निरन्तर आँखा सम्बन्धी उपचार भइरहेको छ भने आयुर्वेदिक औषधिको प्रभावकारितालाई ध्यानमा राखेर नगरपालिकाबाट आर्थिक सहयोग गरी जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रमार्पmत थप औषधी वितरणको व्यवस्था मिलायौं ।

कोभिड संक्रमितहरुलाई ध्यानमा राखेर नेपाल सरकारले आइसीयुभन्दा कम र अस्पतालको सामान्य बेडभन्दा माथिल्लो तहको हाई डिपेन्डेन्सी यूनिट (एचडीयू) २५ बेडको स्वीकृति प्राप्त भएको छ । त्यसको सञ्चालनको तयारी भइरहेको छ । साथै ख्वप अस्पताल छिटै सञ्चालनमा ल्याउने तयारी पनि गरिरहेका छौं । अस्पताल भवन निर्माण कार्य तीब्र रुपमा अघि बढिरहेको छ ।

आ.व. २०७७/७८ साउनदेखि पुस २५ गतेसम्म कडा रोग लागेका जस्तैः क्यान्सर, मृगौला, मुटु, मस्तिष्कघातजस्ता बिरामीहरुलाई रु. १० हजार सहयोग गर्ने नीतिअनुसार यस अवधिमा ५३ जनाले सहयोग प्राप्त गरिसकेका छन् । त्यसको लागि रु. ५ लाख ३० हजार खर्च भइसकेको छ । यस वर्ष अपांगता भएका ८९ जनालाई ह्वील चियर तथा सहयोग सामग्री वितरण गरिएको छ ।
नगरबासीहरुको स्वास्थ्यलाई ध्यानमा राखेर यसअघि स्थगित घरदैलो नर्सिङ सेवा पुनः सुरु गरिएको छ ।

भक्तपुर क्यान्सर अस्पतालमा तत्कालीन व्यवस्थापन समितिका पदाधिकारीहरुले भ्रष्टाचार गरेको समाचार व्यापक भएको र अस्पतालका चिकित्सक, कर्मचारीहरुले अस्पताललाई संरक्षकत्व ग्रहण गर्न लिखित आग्रहपछि नगर प्रमुखको अध्यक्षतामा अस्पतालन व्यवस्थापन समिति गठन गरी सेवालाई निरन्तरता दिइयो । तत्कालीन व्यवस्थापन समितिले नगरपालिकाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेपछि विचाराधीन रहेकै अवस्थामा नेपाल सरकारले अस्पताल संचालन गठन आदेश जारी गरी उक्त अस्पताल सरकारीकरण ग¥यो । अहिले क्यान्सर अस्पताल नेपाल सरकारको स्वामित्वमा गएको छ र जनताले सस्तो सेवा सुविधा पाउने भएका छन् ।

भक्तपुर अस्पताललाई अझ व्यवस्थित गरी जनताको सेवामा लगाउन नगरपालिकाको तर्फवाट सक्दो सहयोग गर्दै आएको छ । उक्त अस्पताल यो वर्ष बागमती प्रदेशमै उत्कृष्ट हुन सफल भएको छ ।

शिक्षा ः
करिब १० महिनादेखि सबै शिक्षण संस्थाहरु बन्द छन् । लामो समयसम्म कक्षाहरु बन्द हुँदा अधिकांश विद्यार्थीहरुको पढाइमा नकारात्मक असर पर्नु स्वभाविक हो । विद्यार्थीहरुको पढाइमा कुनै पनि समस्या नआओस् भन्ने सोचले नगरपालिकाले लकडाउनकै बेलादेखि नगरभरिका विद्यालयहरुमा अनलाइन कक्षा सञ्चालनमा जोड दियो । कतिपय विद्यार्थीहरुमा अनलाइनको पहुँच पु¥याउन गा¥हो भएको गुनासो आएपछि २०७७ पुस १ गतेदेखि कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई स्वास्थ्य सुरक्षा मापदण्ड कायम गरी भौतिक उपस्थितिमा आलोपालो गरी कक्षा सञ्चालनको व्यवस्था मिलाइयो । त्यस अवधिलाई परीक्षणकालको रुपमा लिएर यही माघ १ गतेबाट भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्ने नगर शिक्षा समितिले निर्णय ग¥यो । निर्णय गर्नुअघि नगरपालिकाले शिक्षक, अभिभावक, विभिन्न शिक्षक संघ र विद्यार्थी प्रतिनिधिहरुसँग छलफल गरेको थियो ।
कोभिडको असरलाई ध्यानमा राखी कक्षा ११ र १२ पढिरहेका विद्यार्थीहरुका लागि २०७७ साउन र भदौ गरी २ महिनाको शुल्क मिनाहा र अन्य संस्थागत विद्यालयहरुको हकमा ३ महिनाको शुल्कमा पूर्ण छुट र अरु बेलाको शुल्कमा आंशिक छुट दिने निर्णय ग¥यौं ।
स्थानीय पाठ्यक्रमअन्तर्गत यो वर्ष कक्षा ३ र ८ को पाठ्यक्रम कार्यान्वयनमा आइसकेको छ भने नगरपालिकाद्वारा संचालित शिशुस्याहार केन्द्रहरुको सुधारलाई विशेष ध्यान दिएका छौं ।
भूगोल, इतिहास, राजनीतिशास्त्र, नेपालभाषा र संस्कृति पढ्ने सम्पूर्ण नगरबासी विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था गरेअनुसार हालसम्म जम्मा ४९ जना विद्यार्थीले ती विषय लिई अध्ययन गरिरहेकोमा सम्बन्धित कलेजको लागि रु. ५ लाख ६८ हजार भुक्तानी दिएका छौं ।
आर्थिक कारणले भक्तपुर नगरबासी विद्यार्थी पढाइबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले शैक्षिक ऋणको व्यवस्था गर्दै आएकोमा ऋण स्वीकृत भएकाहरुमध्ये २० जना विद्यार्थीले शैक्षिक ऋणको सुविधा लिएर अध्ययन गरिरहेका छन् त्यसको लागि रु ३६ लाख ८२ हजार भुक्तानी दिइसकेका छौं । यस आ.व. को लागि शैक्षिक ऋणसम्बन्धि सूचना प्रकाशित गर्दैछौं ।
कक्षा ११ पढ्ने विद्यार्थीहरुलाई परीक्षा लिई ८७ जना विद्यार्थीहरुलाई छात्रबृत्ति दिन नगरपालिकाले सिफारिस गरेको छ । साथै यस वर्षको कक्षा ८ को आधारभूत तहको अन्तिम परीक्षा लिने बन्दोबस्त गर्न परीक्षा समिति गठन गरी प्रकृया अगाडि बढाइ सकेका छौं ।
सामुदायिक विद्यालय भवन पुनःनिर्माण तथा भौतिक निर्माणको लागि पनि नगरपालिकाले आर्थिक सहयोग गर्दै आएको छ ।

सम्पदा तथा कला–संस्कृति संरक्षण ः
इनागः दुधपाटीदेखि च्याम्हासिंहसम्मको करिब ३ किमी मूल सडकमा ढुड्डा छपाई, गयभिंद्यो पुल र छिप्पा ताँ (पुल) पुनःनिर्माण सम्पन्न भए भने दरबार क्षेत्रस्थित वत्सला मन्दिर, चपाल भैरव द्योछेँ, ल्योसिंख्योस्थित च्यासिं देगलगायत थुपै्र सम्पदाहरु यस अवधिमा सम्पन्न भए । बाराही पुल, विश्वकर्मा आगंछे“, मधिकर्मी छे“, रानी पोखरी, भाज्या पुखु, इखालाछी मठ, तलेजु क्षेत्रभित्रका विभिन्न सम्पदाहरुलगायत धेरै सम्पदाहरु निर्माणाधीन छन् । सम्पदा पुनःनिर्माण र जिर्णोद्घारमा जनश्रमदान, आर्थिक सहयोगको भावनालाई हामीले कायमै राख्नुपर्छ । कसैको सहयोगविना सम्पदा संरक्षण गर्न हामी सक्षम छौै भनेर गर्वका साथ भन्न सक्छौं ।
यो अवधिमा विश्वप्रसिद्ध ङातापोल्हँ मन्दिर जीर्णोद्धार सम्पन्न भयो । उक्त मन्दिर जीर्णोद्धारको क्रममा ४१८७ जनाले जनश्रमदान, १५ लाख ४७ हजारभन्दा बढी आर्थिक सहयोग र ५ लाख ६३ हजार रुपैयाँभन्दा बढी रकम बराबरको जिन्सी सामग्री सहयोगस्वरुप प्राप्त भयो । यो हामी सबैको लागि खुशीको कुरा हो । साथै बत्सला मन्दिर पुनःनिर्माणको क्रममा स्वदेशी र विदेशीले रु. ६ लाख २७ हजार भन्दा बढी सहयोग गरेका थिए ।
भाषा, कला–संस्कृति र सम्पदा हाम्रा पहिचान हुन् । भक्तपुर नगरपालिकाले त्यसको संरक्षणको निम्ति निरन्तर प्रयास गर्दै आएको छ । यस क्रममा पाँचौ नगरसभाले भक्तपुर नगरपालिकाको कला संस्कृति र सम्पदा संरक्षण एवं सम्बद्र्धन गर्ने सम्बन्धमा बनेको ऐन, २०७६ पारित गरी अझ व्यवस्थित गर्ने प्रयास ग¥यो । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ९(३) बमोजिम नगरको पुरानो क्षेत्रलाई साँस्कृतिक क्षेत्र घोषणा गरी त्यस क्षेत्रभित्र स्थानीय नागरिक बाहेकले घरजग्गा खरिद विक्री गर्न नपाइने व्यवस्था गरियो । तर व्यक्तिगत स्वार्थलाई प्रथामिकतामा राख्ने र सम्पदाको महत्व नबुझेको एकजना सम्पदाविरोधी व्यक्तिले नगरपालिकाको यस महत्वपूर्ण कार्यविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेको छ । त्यस मुद्दामा नगरपालिकालाई उक्त ऐन कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको जानकारी प्राप्त भएको छ । देशको भाषा, कला, संस्कृति र सम्पदा संरक्षणको लागि बनाइएको उक्त कानूनबारे न्यायालय सकारात्मक हुनेमा हामी आशावादी छौं ।

बजार अनुगमन ः
उपभोक्ताहरु व्यवसायीबाट नठगिऊन् भन्ने उद्देश्यले भक्तपुर नगरपालिकाले निरन्तर बजार अनुगमन गर्दै आएको छ । अनुगमनको क्रममा पसल नवीकरण नभएको, सरसफाइमा कमी, पसल दर्ता नभएको, नापतौल विभागमा नियमानुसार नवीकरण नगरेको, पसल दर्ता प्रमाणपत्र नझुण्ड्याइएको, म्याद नाघेको, मिश्रित वस्तु बिक्री गरेको पाइएको हुँदा आवश्यकताअनुसार सुधारको लागि सचेत पार्ने, मालसामान जफत गरी नष्ट गर्ने, कानून बमोजिम दण्ड जरिवाना गर्दै आएका छौं । आप्mनो हकको विषयमा उपभोक्ताहरु स्वयं सचेत हुन आवश्यक छ । कुनै व्यवसायीले उपभोक्ता ठगेको सूचना आउनेवित्तिकै अनुगमन टोलीले तत्काल कार्वाही गर्ने व्यवस्था मिलाएका छौं ।

देको–मिवा–इतापाके आवास योजना ः
भक्तपुर नगरपालिका वडा नं. २ र ६ मा देको–मिवा–इतापाके आवास योजना संचालनमा छ । हाल टेवा पर्खालको उचाइसम्म माटो भर्ने, माटो सम्याउने काम भइरहेको छ । त्यस आयोजनाको लागि नगर विकास कोषबाट रु २० करोड ऋण लिने प्रकृया पनि चलिरहेको छ । योजनाको स्वीकृत रिप्लटिङ नीति अनुसार नक्सा सार्वजनिक गरी जनताको गुनासो लिने काम भइरहेको छ । जग्गावालाहरुको गुनासोपछि उपभोक्ता समिति र सम्बन्धित समितिले छलफल गरी गुनासोहरुको न्यायोचित सम्बोधन गर्ने प्रयास गरिनेछ ।

सरसफाइ तथा वातावरण सुधार ः
कोभिडको बेला सरसफाइ झनै महत्वपूर्ण भएकोले हामीले त्यसलाई जोड दियौं । कठिन परिस्थितिमा पनि हामीले सरसफाइमा कमी आउन दिएनौं । नगरपालिकाभित्र रहेका सहकारीहरुलाई सामाजिक दायित्वबोध गराउने उद्देश्यले एक सहकारी एक क्षेत्र सरसफाइ नीतिलाई अगाडि बढाएका छौं ।
फोहर व्यवस्थापनको नयाँ प्रविधितर्फ जाने कोसिस गर्दैछौं । विभिन्न पक्षसँग सम्पर्क गरी भक्तपुरको लागि व्यवहारिक हुने प्रविधिलाई भित्र्याउने तयारी पनि गरिरहेका छौं ।
हनुमन्ते र खसाङखुसुङ खोला फोहर भई चुनौती भइरहेकोमा आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) सँग समन्वय गरी खोलाका किनारामा ढल राख्ने कार्य करिब सम्पन्न भएको छ । सल्लाघारीस्थित उपचार पोखरी र हनुमानघाटको उपचार पोखरी पुनः सञ्चालनमा ल्याउने कोशिश गरिहेका छौं । सल्लाघारीको उपचार पोखरी निर्माण कार्य भइरहेको छ भने हनुमान घाटको एशियाली विकास बैंकको ऋण सहयोगमा पीआईडीमार्पmत गर्ने योजना अघि बढिरहेको छ ।

भक्तपुर औद्योगिक क्षेत्र स्थानान्तरणबारे ः
भनपा वडा नं २ व्यासीस्थित घरेलु तथा साना उद्योग क्षेत्रमा राखिएका ठूला एवं ध्वनी, धुवाँ र रसायन फाल्ने उद्योगहरुले वातावरण प्रदुषण गरिरहेको हुँदा स्थानीय जनताको मागअनुसार प्रदुषण फाल्ने टेक्सटाइल, डाइङ, प्लाष्टिक, र रङ्करोगन जस्ता उद्योगहरु तत्काल अन्यत्र स्थानान्तरणको लागि नगरपालिकाले प्रयास गरिरहेको छ । ती उद्योगहरुले कानूनबमोजिम तिर्नुपर्ने करिब रु. १ करोड रुपैञा अहिलेसम्म तिरेका छैनन् । उद्योग स्थानान्तरणको सरकारी नीतिअनुसार स्थानान्तरणको लागि भनपाले पहल गरिरहने छ र उक्त क्षेत्रलाई साना तथा घरेलु उद्योग क्षेत्रकै रुपमा विकास गर्न प्रयास जारी राखिने छ ।

निजी आवास पुनःनिर्माण ः
२०७२ सालको भूकम्पमा निजी र सार्वजनिक गरी धेरै सम्पदाहरूमा क्षति भएको थियो । भूकम्पपछि भक्तपुर नगरपालिकामा ७,६५७ परिवार लाभग्राही सूचीमा दर्ता भएका थिए । तीमध्ये ५,६८१ परिवारले लाभग्राही सम्झौता गरे र ५,६८० परिवारले पहिलो किस्ता प्राप्त गरे । तर हालसम्म जम्मा २,०९२ परिवारले मात्र दोस्रो किस्ता र १,८९१ परिवारले मात्र तेस्रो किस्ता प्राप्त गर्न सकेका छन् । सरकारले दिने अनुदान थोरै हुनु, किस्ताबन्दीमा रकम दिनु र बहुस्वामित्व तथा विभिन्न विवाद हुनुको कारण धेरै परिवारले अनुदान रकम लिन सकेका छैनन् । यसर्थ भक्तपुर नगरपालिकाले नगरवासीहरुको भावनाबमोजिम सरकारको तर्फबाट एकमुष्ट अनुदान दिनुपर्ने, अनुदान रकम १० लाख पु¥याउनुपर्ने, नगरपालिकाको सिफारिसको आधारमा जग्गाधनी प्रमाणपूर्जा नभएका तर वास्तविक पीडित परिवारलाई पनि अनुदान दिनुपर्ने माग गर्दै आएको छ ।

खेलकुद ः
वडा वडामा राखिएका खुला शारीरिक व्यायामशालाहरु कोभिडको कारण बन्द भएको हुँदा अनलाइन एवं टेलिभिजनमार्फत शारीरिक व्यायाम तालिम भइरहेको छ । भनपा वडानं १० बेखालमा कभर्ड हल निर्माण स्वीकृत भई निर्माण प्रकृया अगाडि बढेको छ ।

कृषि ः
यो वर्ष किसानहरुले खेतीको समयमा सहज रासयानिक मल पाएनन् । नेमकिपाका सचिव प्रेम सुवालको नेतृत्वमा भनपाका जनप्रतिनिधिहरु सहितको टोली किसान समस्यालाई लिएर कृषि मन्त्री, साल्ट ट्रेडिङ लिमिटेड र कृषि सामग्री कम्पनीका प्रमुखहरुलाई भेटेर शीघ्र मल उपलब्ध गराउन आग्रह गरियो । सरकारी कोटाअनुसार प्राप्त मललाई नगरपालिकाको तर्फबाट निश्चित दर निर्धारण गरी बिक्री वितरणको क्रममा मूल्यमा एकरुपता कायम गरिएको छ । मल विक्रीमा अनियमितता हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर सहकारीहरुलाई विक्री वितरणमा प्राथमिकता दिइएको छ । नगरपालिकाले मल विक्री भएका ठाउँहरुमा अनुगमन पनि गरिरहेकोे छ ।
नेपाल सरकारको नीतिअनुसार पकेट तरकारी खेती र पशुपालनको सम्भाव्यताबारे सम्बन्धित किसानहरुसित छलफल चलाइरहेका छौं ।

खानेपानी ः
जनसंख्याको चापअनुसार पानीको स्रोतको अभावले हरेक वर्ष जनतालाई खानेपानीको समस्या भइरहेको छ । नगरपालिकाले केयुकेएलसँग समन्वय गरी थप स्रोत पहिचान गरी पानी आपूर्ति गर्ने कार्य गरिरहेको छ । अझै पर्याप्त पानीको वितरण हुन नसकेकोमा हामी चिन्तित छौं । मेलम्चीको पानी पहिलो चरणमै भक्तपुरमा ल्याउने कोसिस भइरहेको छ । यस अवधिमा पुरानो जगातिदेखि आदर्शसम्म खानेपानी वितरण प्रणालीलाई विस्तार गरिएको छ ।

नक्सा पास ः
आ.व. २०७७÷७८ को साउनदेखि पुस २५ गतेसम्म यस नगरपालिकामा नयाँ घर बनाउन २७२ वटा नक्सा दर्ता भएकोमा २४४ वटा पास भएका छन् । यो दर्ता भएका नक्साहरुमध्ये ९० प्रतिशत हो । यस अवधिमा ८२ वटा घरले निर्माण सम्पन्न प्रमाणपत्र लिएका छन् । पास नक्सामध्ये यो ३० प्रतिशत हुन आउँछ ।

अन्यः
भक्तपुर नगर क्षेत्रका विभिन्न स्थानहरुमा सडक बत्तीको व्यवस्था र आदर निकेतन संचालनको प्रकृया पनि अगाडि बढाइएको छ । साथै युवा, महिला लक्षित विभिन्न सीपमूलक तालिमलाई पनि ध्यान दिँदै आएका छौं ।
अन्त्यमा, हामी जनप्रतिनिधिहरुले निर्वाचन घोषणापत्रको आधारमा नगर र नगरबासीहरुको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्दैछौं । नगरबासीहरुलाई चुनावको बेला दिएको वचन पुरा गर्न निरन्तर लागिरहने छौं । जस्तोसुकै कठिन अबस्थामा पनि नगरबासीहरुको साथलिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौं । कोभिड–१९ को यो विषम परिस्थितिमा पनि नगरवासीहरुको स्वास्थ्यलाई ध्यानमा राखी निरन्तर नगरपालिकाको काममा साथ र सहयोग गर्ने जनप्रतिनिधिहरु, कर्मचारीहरु र स्थानीय जनतालाई भक्तपुर नगरपालिकाको तर्पmबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

धन्यवाद ।

(भक्तपुर नगरपालिकाको आठौं नगरसभाको उद्घाटन समारोहमा नगर प्रमुख सुनिल प्रजापतिद्वारा व्यक्त मन्तव्य)

Leave A Reply

Your email address will not be published.