Explore news and happenings at Bhaktapur

कक्षा ११ र १२ भौतिक उपस्थितिमा सञ्चालन र मासिक शुल्क छुट गर्ने विषयमा प्रधानाध्यापकहरुसँग बैठक

२०७७ पुस १० गते, शुक्रबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगर क्षेत्रभित्रका कक्षा ११ र १२ सञ्चालन भएका सामुदायिक एवम् संस्थागत विद्यालयका प्रधानाध्यापकहरुको बैठक शुक्रबार सम्पन्न भयो । बैठकमा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई भौतिक उपस्थितिमा कक्षा सञ्चालन र कोभिडका कारण ती कक्षाहरुलाई मासिक शुल्क छुट गर्ने सम्बन्धमा छलफल भयो ।

बैठकमा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले नगरभित्र सञ्चालित विद्यालयहरुमा ८, ९ र १० का कक्षाहरु आवश्यक स्वास्थ्य सुरक्षा अपनाई भौतिक उपस्थितिमा आलोपालो गरी कक्षाहरु परीक्षणको रुपमा सुरु गरिसकेको र आगामी दिनमा ११ र १२ कक्षा भौतिक उपस्थितिमा सुरु गर्न सम्बन्धित सरोकारवालाहरुसँग छलफल तथा परामर्शमा जुटिरहेको बताउनुभयो । विद्यालयहरु बन्द रहँदा विद्यार्थीहरुको भविष्य अन्योलमा रहेको बताउनुहुँदै नगरपालिकाले समयसापेक्ष ढंगले चरणबद्ध रुपमा विद्यालय सञ्चालन गर्ने योजनाअनुरुप अगाडि बढिरहेको बताउनुभयो ।

बैठकमा उपस्थिति प्रधानाध्यापकहरुले कम विद्यार्थी संख्या भएका विद्यालयहरुमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न उपयुक्त हुने सुझाव दिनुभयो भने कक्षा ११ र १२ का विद्यार्थीहरुलाई नगरपालिकाले निर्णय गरेअनुसार मासिक शुल्कमा छुट दिन आफूहरु तयार रहेको विचार व्यक्त गर्नुभयो । उहाँहरुले कक्षा ११ र १२ को प्रयोगात्मक कक्षाहरु सुचारु गर्नको निम्ति भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनुहुँदै अनलाइन मार्फत कक्षाहरु सञ्चालनमा जोड दिइरहेको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.