Explore news and happenings at Bhaktapur

नगर प्रमुख प्रजापति र उपप्रमुख जोशीद्वारा भक्तपुरका सामुदायिक विद्यालयहरुको स्थलगत निरीक्षण

२०७७ मंसिर ३० गते, मंगलबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीको नेतृत्वमा जनप्रतिनिधिलगायतको टोलीले मंगलबार भक्तपुर नगरभित्रका सामुदायिक माध्यामिक विद्यालयहरुको स्थलगत निरीक्षण गर्नुभयो ।

भक्तपुर नगरपालिका नगर शिक्षा शाखाको बैठकले नगरभित्रका विद्यालयहरुमा भौतिक उपस्थिति र स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी चरणबद्ध रुपमा पुस १ गतेदेखि ८, ९ र १० का कक्षाहरु आलोपालो गरी सञ्चालनको सुरुवात गर्ने निर्णय गरेसँगै ती विद्यालयहरुमा के कस्तो रुपमा भौतिक तयारी रहेको छ सोको जानकारी लिने उद्देश्यले उहाँहरुले विद्यालयहरुको निरीक्षण गर्नुभएको हो ।

निरीक्षणका क्रममा सबै विद्यालयहरुले भोलिबाट हुने कक्षा सञ्चालनको लागि आवश्यक तयारी तथा कक्षाकोठालगायतको सरसफाइ गरिएको पाइएको छ । साथै विद्यालय प्रवेश गर्न विद्यार्थीहरुलाई अनिवार्य मास्क प्रयोग गर्न, साबुनपानीले हात धुने र स्यानिटाइजरको व्यवस्था पनि विद्यालयले गरेको जनाइएको छ ।

यसैक्रममा भौतिक उपस्थितिमा हुन लागेको विद्यालय सञ्चालनलाई सहज र सुरक्षित बनाउन भक्तपुर नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयहरुलाई हातधुने साबुन र क्लोरिन सहयोग गरेको छ ।

नगर प्रमुख सुनिल प्रजापतिको टोलीले विद्यार्थी निकेतन मावि, शारदा मावि, बासु मावि, सरस्वती विद्यागृह, बागेश्वरी मावि र आदर्शआजाद माविको स्थलगत निरीक्षण गर्नुभयो भने उपप्रमुख रजनी जोशी नेतृत्वको टोलीले शान्ति निकेतन मावि, तारा मावि, गणेश मावि, मेधा मावि, पद्म मावि र जागृति माविको निरीक्षण गर्नुभएको थियो ।

निरीक्षणमा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व, वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोरा, भक्तपुर नपाका प्रशासकीय अधिकृत दामोदर सुवाललगायतको उपस्थिति थियो ।

निरीक्षणका केही तस्बीरहरु

Leave A Reply

Your email address will not be published.