Explore news and happenings at Bhaktapur

स्वास्थ्य मापदण्ड पालना गरी कक्षा सञ्चालन गर्न प्रधानाध्यापकहरु प्रतिबद्ध

२०७७ मंसिर २९ गते, सोमबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरभित्रका सामुदायिक माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुको बैठक सोमबार बस्यो ।

विद्यार्थीहरुको भौतिक उपस्थितिमा कक्षा सञ्चालनबारे छलफल गर्न बोलाइएको बैठकमा नगर प्रमुख प्रजापतिले नगर शिक्षा समितिको बैठकले भक्तपुर नपाभित्रका सामुदायिक तथा निजी विद्यालयमा अनलाइन कक्षालाई निरन्तरता दिंदै स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्र सुरक्षित रुपमा विद्यालय सञ्चालन गर्न जोड दिनुभयो ।

भक्तपुरका विद्यार्थीहरुको शैक्षिक स्तर माथि उकास्न र शैक्षिक सत्रलाई खेर जान नदिन भौतिक उपस्थितिमा चरणबद्ध रुपमा कक्षा सञ्चालन गर्ने निर्णय गरेको बताउनुहुँदै नगर प्रमुख प्रजापतिले विद्यार्थीहरुको स्वास्थ्यमा कुनै समस्या आएमा तत्काल विद्यालय बन्द गर्नुपर्ने अवस्था पनि आउनसक्नेतर्फ सचेत पार्नुभयो । भक्तपुर नपाले परीक्षणको रुपमा ८, ९ र १० का कक्षाहरू सञ्चालन गर्न लागेको उहाँले बताउनुभयो ।

बैठकमा नगरभित्रका १३ वटा मा.वि.हरुमध्ये १२ मा.वि. का प्रधानाध्यापकहरुले नगरपालिकाको निर्देशनअनुसार सुरक्षाको मापदण्ड पूर्ण पालना गरी कक्षा सञ्चालन गर्न तयार रहेको बताउनुभयो । अधिकांश प्रअहरुले अनलाइन कक्षालाई पनि निरन्तरता दिने र विद्यार्थीहरुको भौतिक उपस्थितिलाई पनि सँगसँगै लाने विचार व्यक्त गर्नुभयो ।
नगरपालिकाले विद्यार्थीहरुको लागि वितरण गरेको वर्कसित निकै प्रभावकारी रहेको बताउनुहुँदै उहाँहरुले कक्षा सञ्चालनको क्रममा यदि कुनै विद्यार्थी बिरामी भए वा स्वास्थ्यमा कुनै समस्या देखिएमा उनीहरुलाई विद्यालयमा नआउन जानकारी गराइने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.