Explore news and happenings at Bhaktapur

कोभिडका कारण बन्द रहेका विद्यालय सञ्चालनको विषयमा सरोकारवालाहरूबीच छलफल

२०७७ मंसिर ११ गते, बिहीबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नोबेल कोरोना भाइरस (कोभिड १९) महामारीका कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरू सञ्चालनको विषयमा सामुदायिक र संस्थागत विद्यालयहरूका सरोकारवालाहरूसँग छलफल सम्पन्न भयो ।

छलफलमा नगर प्रमुख प्रजापतिले सरकारले सुरक्षा मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गर्न ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७’ सार्वजनिक गरिसकेको अवस्थामा स्थानीय तहले कोरोनाको अवस्था हेरेर विद्यालय सञ्चालन गर्न सकिने हुँदा नगरपालिकाले सरोकारवालाहरूसँग विभिन्न चरणमा छलफल अगाडि बढाइरहेकोे बताउनुभयो ।

कोभिड १९ को जोखिम बढिरहेको वर्तमान अवस्थामा संक्रमणको जोखिमलाई मूल्यांकन गरी विद्यालयमा विद्यार्थीहरूको उपस्थितिमा कक्षा सञ्चालन गर्नु थप जोखिम मोल्नुपर्ने आशंका व्यक्त गर्नुहुँदै नगर प्रमुख प्रजापतिले अनलाइन कक्षालाई परिस्कृत ढंगले अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

सहभागी शिक्षक संगठनको प्रतिनिधिहरूले कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी विद्यार्थीहरूको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्न हतार नगर्न सुझाव दिनुभयो ।

छलफलमा सामुदायिक तथा संस्थागत विद्यालयका प्रतिनिधिहरूले लामो समयदेखि बन्द रहेको विद्यालयहरू सञ्चालन गर्नुपूर्व कक्षाकोठाहरू निर्मलीकरण गर्नुपर्ने, जनस्वास्थ्य सुरक्षाका मापदण्डको पूर्णतः पालना गर्नुपर्ने, वैकल्पिक शिक्षण पद्धतिलाई जोड दिंदै लानुपर्ने, कक्षा अवधिको समय छोट्याउने वा हप्तामा केही दिन वा केही घण्टा गरी कक्षा सञ्चालन गर्ने, अनलाइन कक्षामा सहभागी नभएका विद्यार्थीहरू सामाजिक दुरी कायम गरी विद्यालयमा कक्षा लिन सकिनेलगायतका विकल्पहरू रहेको बताउनुभयो । उहाँहरूले विद्यार्थी संख्यालाई आधार मानेर चरणबद्ध विद्यालय सञ्चालन गर्नेतर्फ ध्यान दिनुपर्ने, शिक्षकहरूलाई प्रविधियुक्त बनाउन आइसीटी तालिमलाई निरन्तरता दिनुपर्ने, विद्यालय सञ्चालन गर्ने विषयमा अभिभावकबीच अन्तरसंवादको खाँचो औंल्याउनुभयो ।

छलफलमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, वडाध्यक्ष प्रेमगोपाल कर्माचार्य, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, नगर शिक्षा शाखा प्रमुख हरिप्रसाद निरौला, विद्यालयस्तरीय परीक्षा समितिका प्रतिनिधिहरु, संस्थागत विद्यालय संघ (इसान), प्याब्सन र एन.प्याब्सनका प्रतिनिधिहरुको उपस्थिति थियो ।

Leave A Reply

Your email address will not be published.