शिक्षकहरूले विद्यार्थीलाई संस्कार, अनुशासन र व्यवहार सिकाउनुपर्छ-नारायणमान बिजुक्छें
काठमाडौं, १९ कार्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को प्रमुख आतिथ्यमा ख्वप मावि, ख्वप कलेज तथा शारदा क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीहरूबीच ‘मजदुर–किसान’ पत्रिकाबारे अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भयो ।
कार्यक्रममा अध्यक्ष रोहितले समाजवादी व्यवस्थालाई ओझेलमा राख्ने बद्नियतले पुँजीवादले झिलिमिली तथा प्रचारमा जोड दिने हुँदा सजग हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले भन्नुभयो, ‘‘समाजवादी व्यवस्थालाई पतन गराउन पुँजीवादले जस्तै घृणित तरिका अपनाउने गर्दछ ।’’
कलेजहरूले नयाँ पुस्तालाई हरेक क्षेत्रमा पोख्त बनाउने उद्देश्यले विद्यार्थीलाई शिक्षित गनुपर्नेमा जोड दिनुहुँदै अध्यक्ष रोहितले भन्नुभयो, ‘‘शिक्षकहरूले विद्यार्थीलाई संस्कार, अनुशासन र व्यवहार सिकाउनुपर्छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका कूटनीतिज्ञहरू देशको लागि अत्यावश्यक भएकोले त्यस्तो जनशक्ति तयार गर्न शिक्षकले मेहनत गर्नैपर्छ ।’’
‘ठूला’ राजनीतिक पार्टीहरूको कारण देशमा भ्रष्टाचार र अराजकता व्याप्त रहेको उल्लेख गर्नुहुँदै उहाँले पार्टीहरू अपराधीहरू पाल्ने केन्द्र बन्न नहुने बताउनुभयो ।
अध्यक्ष रोहितले भन्नुभयो, ‘‘शासनमा रहेका राजनीतिक पार्टीहरूले अपराधीहरूलाई संरक्षण दिइरहेका छन् ।’’
राष्ट्र भन्नाले जात, जाति र भाषाको आधारमा गठन हुने राज्य भएकोले राष्ट्रवादी होइन देशभक्त हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज-विद्यालय सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले पार्टी भनेको भीड नभई विचार–सिद्धान्तले संगठित शक्ति हो भन्नुभयो । उहाँले भन्नुभयो, ‘‘हरेक पार्टीको मुखपत्र प्रकाशित हुनु आवश्यक छ । पार्टीको मुखपत्र प्रकाशन र घोषणापत्र नभएको पार्टीलाई राष्ट्रिय पार्टीको मान्यता दिनुहुन्न ।’’ ‘ठूला’ पार्टीका नेताहरूमा राष्ट्रिय र अन्तर्राष्ट्रिय दृष्टिकोणको अभाव रहेको तथा शासक दलमा व्यापक दृष्टिकोणको अभावका साथै व्यक्तिगत स्वार्थमा अल्झिएको कारण देश विकास हुन नसकेको प्रमुख प्रजापतिले बताउनुभयो । उहाँले विश्वविद्यालय अनुसन्धानको केन्द्र बन्नुपर्नेमा जोड दिनुभयो ।
संसारका ८५ जना धनी व्यक्ति विश्वको आधी सम्पत्तिको मालिक रहेको उल्लेख गर्नुहुँदै मेयर प्रजापतिले व्यापक जनतालाई शोषण गरेर सम्पत्ति आर्जन गर्नु नै पुँजीवादको विशेषता हो भन्नुभयो । गैरआवासीय नेपाली नागरिकलाई नागरिकता दिनु भनेको नेपाललाई सिक्किमजस्तै विलय गराउने नियत भएको उहाँले बताउनुभयो ।
ख्वप कलेजका प्राचार्य रूपक जोशी, ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठलगायतले बोल्नुभएको कार्यक्रममा शिक्षक तथा कर्मचारीहरूले पत्रिकाबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।