Explore news and happenings at Bhaktapur

‘भनपा जनताको स्वास्थ्य प्रति अत्यन्त संवेदनशील छ’

सुनिल प्रजापति, प्रमुख भक्तपुर नगरपालिका

0

भाषा र साहित्यको माध्यमबाट जनताको सेवा गर्ने उद्देश्यले स्थापना गरेको नेपालभाषा साहित्य तःमुंज्याले चालीस वर्षदेखि निरन्तर जनताबीच कार्यक्रम गर्दै आएको छ । आगामी दिनमा पनि जनताको सेवामा अझ बढी समर्पित भएर लाग्न सकोस् हार्दिक शुभकामना ∕
सचेत नागरिकहरू जस्तोसुकै प्रतिकूलतालाई पनि अनुकूलतामा ढाल्ने प्रयत्न गर्छन् । तःमुंज्या व्यवस्थापन समितिका साथीहरूले प्रविधिमार्फत तःमुंज्यालाई निरन्तरता दिएर आफुलाई समय अनुसार चल्न सक्षम सावित गर्नुभयो । उहाँहरू सबैलाई धेरै धेरै धन्यवाद छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण हामी आ–आफ्नो काम अत्यन्त सचेततापूर्वक गरिरहेका छौं । कार्तिक ११ गतेसम्म भक्तपुर जिल्लामा ५,४७४ जना संक्रमितहरू भएकोमा ३,४१४ जना निको भइसकेको र ६४ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी भक्तपुर नगरपालिका क्षेत्रभित्र कन्ट्याक्ट ट्रेसिङ २,६०२ जनामा गरिएमा हालसम्म संक्रमितहरूको संख्या १,३६४ पुगेको र १८ जनाको मृत्यु भएको रेकर्ड छ । संक्रमितहरूमध्ये ४३० जना आ–आफ्नो घरमै एकान्तबासमा बस्नुभएको छ भने भक्तपुर नपाद्वारा निर्मित ब्रम्हायणी आइसोलेसन केन्द्रमा हालसम्म ७९ जनाले सेवा प्राप्त गरिसकेको र हाल त्यहाँ १८ जना संक्रमित नगरबासीहरू हुनुहुन्छ ।
विश्वभर ४ करोड ४४ लाखभन्दा बढी संक्रमित भएर ११ लाख ७१ हजारभन्दा बढीको ज्यान लिइसकेको यो रोगले नेपालमा १ लाख ६३ हजारभन्दा बढी पीडित र ८८० जना बढीको ज्यान लिइसकेको छ ।
जनस्वास्थ्यप्रति अत्यन्त संवेदनशील भइ भक्तपुर नगरपालिकाले कोरोना संक्रमणका सरुवाती चरणदेखि अत्यन्तै सतर्कतासाथ कामगर्दै आएको छ । घना बस्ती भएको भक्तपुर नगरमा कोरोना प्रवेश भएमा भयावह रुप लिन सक्ने सम्भावित अबस्था प्रति चिन्तित हुँदै वडा वडामा किटनाशक औषधी छर्ने (क्लोरिन), जनचेतना फैलाउन माइकिङ गर्ने, टोलटोलमा साबुन पानीले हात धुने व्यवस्था, छोटो दुरीका यातायात बन्द, नगर बाहिरका नागरिकहरू नगर प्रवेशको अभिलेख राख्नेलगायतका कार्यहरू ग¥यौं ।
भक्तपुर नगर सांस्कृतिक नगर भएकोले यहाँ समय समयमा हुने चाडपर्व, जात्राहरूमा हुने भीडभाड भएमा रोगको जोखिम बढ्न सक्ने सम्भावनालाई ध्यानमा राखी हामीले भक्तपुरको प्रसिद्ध बिस्का जात्रा, गाईजात्रा, यन्याँपुन्ही, गुँला बाजा, पन्चदानजस्ता जात्रा, पर्वहरूलाई समेत सामान्य औपचारिकतामै सीमित गर्ने निर्णय गर्नुप¥यो । दशैं सकिँदैछ । हाम्रो चुनौतीको एउटा विषय दशैं पनि थियो । हामीले तलेजुमा हुने पूजामा बली रोक्ने र पुजारीहरूलाई बाहेक प्रवेश नगराउने तथा टोल–टोलमा शक्ति पीठहरूमा पनि नवरातको बेला मन्दिर प्रवेश निषेध गर्ने तथा बली रोक्ने निर्णयमा पुग्नु प¥यो । यी सबै कार्य हाम्रो रहर नभइ जनताको स्वास्थ्यलाई ध्यानमा राखेर गर्नुपरेको बाध्यात्मक कदम थियो । भक्तपुर नगरपालिकाले जिल्ला प्रशासन कार्यालय, गुठी संस्थान, महानगरीय प्रहरी परिसर, जात्रासँग सरोकार राख्ने सबैसँग छलफल गरी गरेको निर्णयहरुलाई अधिकांश नगरबासीहरूले पालना गर्नु भयो । त्यसको लागि भक्तपुर नगरबासीहरू धन्यवादका पात्र हुनुहुन्छ ।
नेपाल सरकारले विभिन्न देशमा गएर रोजगारी वा शिक्षा हासिल गरिरहेका नागरिकहरूलाई स्वदेश फर्काउने निर्णय गरे पश्चात भक्तपुर नगरपालिकाले अनलाइनमार्फत नगर फर्किन चाहनेहरुको फाराम भर्न लगायो । नाम संकलनपछि ती नागरिकहरूलाई होटल, घर वा नगरपालिकाको क्वारेन्टाइनमा गरी तीन थरिको क्वारेनटाइनको व्यवस्था ग¥यौं । होटलमा बस्न नसक्ने र घरमा बस्न उपयुक्त नभएकाहरूलाई नगरपालिकाको क्वारेनटाइनमा राख्ने व्यवस्था मिलायौं । विभिन्न १७ वटा देशबाट भक्तपुर फर्किनु भएका १६५ जना भक्तपुरबासीहरूले क्वारेनटाइन सेवा लिनु भयो । विमान स्थलमा जहाज अवतरण पछि होल्डिङ सेन्टरमा ल्याउने र त्यसपछि क्वारेनटाइनमा राख्ने, ती सबै बन्दोबस्तको लागि हामीलने ९ जना कर्मचारीको व्यवस्था गरेका थियौं ।
काठमाडौं उपत्यकामा कोरोना नियन्त्रणको लागि गृहमन्त्री, संघीय मामिला मन्त्रीले बोलाएका बैठकहरूमा उपत्यका छिर्ने नाकाहरू पूर्ण बन्द गर्न हामी उपत्यकाका नगर प्रमुखहरूले पटक पटक आग्रह ग¥यौं । मन्त्रीहरूले त्यसलाई बेवास्ता गर्नुभयो । उद्योगपति, व्यापारीहरूको दबाबमा लकडाउन खोल्यो । परिणाम आज काठमाडौं उपत्यका कोरोनाको केन्द्र बन्दैछ ।
समुदायस्तरमा कोरोना फैलिएको आभास हुनासाथ भक्तपुरको खरिपाटीमा २०० शय्याको आइसोलेसन केन्द्रको निर्माण भयो । भक्तपुर अस्पताल कोभिड अस्पतालमा रुपान्तरण गरियो । तर संक्रमितहरूको बढ्दो संख्यालाई ध्यानमा राखी भक्तपुर नगरपालिकाले भक्तपुर नपा वडा नं. ९ ब्रम्हायणीमा ७५ शय्याको आइसोलेसन केन्द्र निर्माण ग¥यो ।
आइसोलेसन केन्द्रमा दैनिक ४ पटक खाना खाजाको व्यवस्था, अक्सिजनको व्यवस्था, दैनिक ५ पटक अक्सिजन, रक्तचाप नाप्ने, भिटामिन सी र सिटामोललगायतको व्यवस्था, दैनिक चिकित्सकको परामर्श तथा आर्युवेदिक औषधिको व्यवस्था समेत गर्दै आएका छौं । ब्रम्हायणी र घर–घरमा आइसोलेसनमा बस्नुभएका सबैको लागि अनलाइन मार्फत चिकित्सक, मनोचिकित्सक, आर्युवेदिक चिकित्सक, नर्स, जनप्रतिनिधिहरूमार्फत नियमित परामर्श सेवाप्रदान गर्दै आएका छौं ।
घरघरमा बस्नुभएका संक्रमितहरूका लागि नियमित फोहर संकलनको व्यवस्था, आवश्यक स्वास्थ्यसम्बन्धी परामर्श सेवा तथा अन्य आवश्यक व्यवस्थाको लागि छुट्टै ५ जना कर्मचारीहरूको जिम्मेवारी दिइ सोको व्यवस्थापन गर्दै आएका छौं । ब्रम्हायणी आइसोलेसनमा चिकित्सक, नर्स र कर्मचारी गरी १३ जनाको टीमले काम गर्दै आएको छ ।
नगरपालिकाले वडा वडामा राखेका व्यायामशालाहरू कोभिडको कारण बन्द गर्नुपर्ने अवस्था आएपछि अनलाइनमार्फत शारीरिक व्यायामसम्बन्धी तालिमसुरु गर्नु ग¥यौ । हरेक दिन बिहान ६ः३० बजेदेखि अनलाइन शारीरिक व्यायाम भादगाउँ टेलिभिजनमार्फत प्रशारण भइरहेको छ । विभिन्न संघ–संस्था र व्यक्तिगत रुपमा पनि धेरैले आर्थिक, भौतिक सहयोग गर्नुभएको छ । यो आर्थिक वर्ष २०७७÷७८ को असोज र कार्तिक महिनामा मात्र ३३ लाख ६० हजारभन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ । ती सबै सहयोगी संस्था र महानुभावहरूलाई भक्तपुर नगरपालिकाको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । आगामी दिनहरूमा पनि यस्ता सहयोग गर्नु हुने आशा पनि व्यक्त गर्दछौं ।
कोरोना संक्रमित संख्या बढ्दै गएपछि भक्तपुरमै पीसीआर परीक्षण मेसिनको आवश्यकता महसुस भयो । हामीले पटक पटक प्रदेश सरकारसँग लिखित र मौखिक आग्रह ग¥यौं । भक्तपुर अस्पतालमा केही दिन अघि मेसिन आइपुग्यो तर त्यसको सम्पूर्ण पार्टपूर्जा नआएको कारण अहिले सञ्चालनमा आउन सकेको छैन । त्यसबारे प्रदेश सामाजिक विकास मन्त्रीलाई जानकारी दियौं । उहाँले छिटै सञ्चालनमा आउने आश्वासन दिनु भएको छ ।
नेपाल सरकारले कार्तिक २ गतेदेखि लागू हुने गरी लक्षण देखिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, गरिबहरू बाहेक अरु सबैले आ–आफ्नै पैसाले कोरोना परीक्षण र उपचार गराउनुपर्ने निर्णय गरेपछि केही अन्यौल भयो । सरकारी र निजी सबै अस्पताल र प्रयोगशालाहरूले जथाभावी मूल्य तोकेर उपचार खर्च निर्धारण गरेको सूचना टाँस ग¥यो । भक्तपुर नगरपालिकाले निरन्तर परीक्षण गराउँदै आएको टेकु प्रयोगशालाले समेत प्रतिव्यक्ति २०००। का दरले पैसा बुझाउन भन्यो । प्रदेशमन्त्रीले प्रदेश अन्तर्गतको प्रयोगशालामा निःशुल्क गर्ने भन्नु भएकोले धुलिखेल स्थित प्रदेश प्रयोगशालामा पनि सम्पर्क ग¥यौं । त्यहाँको जवाफ थियो – ‘मन्त्रीले बोलेर मात्र हुन्छ । आवश्यक केमिकल पठाउनु प¥यो नि ∕’ यसबारे पनि मन्त्रीजीसँग राख्यौं । प्रदेश सरकारले पत्र पठाइसकेको र अब निःशुल्क हुने जानकारी पायौं । भक्तपुरका जनताको स्वास्थ्यलाई प्राथमिकता दिएर हामीले कामलाई निरन्तरता दिंदै आएका छौं ।
निजी र सरकारी अस्पतालहरूले पनि बिरामी जाँच्न बन्द गरेका जस्ता समाचार आएपछि हामी झन् बढी सचेत भएर जनस्वास्थ्य केन्द्रहरूलाई समय मिलाएर भीडभाड नहुने गरी दैनिक २÷३ सय बिरामीलाई सेवा प्रदान गर्दै आएका छौं । असोज महिनामा ८,५३५ जनाको र कार्तिक ११ गतेसम्म २,०९३ जना बिरामीलाई जनस्वास्थ्य केन्द्रमार्फत सेवा प्रदान ग¥यौ । भनपाले जनताको स्वास्थ्यप्रति अन्यन्त संवेदनशील छ ।
नेपाल सरकारले कोभिड परीक्षण र उपचारको खर्च नागरिक आफैले व्यहोर्नुपर्ने निर्णय नेपालको संविधान, स्वास्थ्यसम्बन्धी कानुन र सर्वोच्च अदालतको आदेश समेतको विपरीत छ । नेपालको संविधानको धारा १६ ले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्रदान गरेको छ । धारा ३५ (१) ले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्रदानगर्ने हक प्रदान गरेको छ । त्यस संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्न संसदले स्वास्थ्य सम्बन्धी ऐन २०७५ पारित ग¥यो । त्यस ऐनले सरुवा रोग सम्बन्धी स्वास्थ्य सेवा निःशुल्क हुने हक प्रदान गरेको छ । यी सबै संविधान र कानुनको व्याख्या गर्दै सर्वोच्च अदालतले कोरोना भाइरस सम्बन्धी परीक्षण र सम्पूर्ण उपचार निःशुल्क गर्न सरकारको नाउँमा परमादेश जारी गरेको छ । तर सरकारले बेवास्ता गर्दै आएको छ । अदालतको आदेश विपरीत कामगर्नु अदालतको अवहेलना हो ।
हालै प्रधानमन्त्री के.पी. ओलीले प्रदेशहरू संघका एकाइ मात्रै भएको बताउनुभएको समाचार सार्वजनिक भयो । कहिले स्थानीय तहहरू संघको एकाइ मात्रै भन्नुहुन्छ । यो सबै संविधानको भावनाविपरीत र आपतिजनक कुरा हुन् । संविधानले संघ, प्रदेश र स्थानीयलाई छुट्टा छुट्टै अधिकार प्रदान गरेको छ । संघलाई ३५ वटा प्रदेशलाई २१ वटा र स्थानीयलाई २२ वटा अधिकार अनुसूचीमै उल्लेख गरेको छ । संघ, प्रदेश र स्थानीयको साझा १५ वटा अधिकार दिइएको छ । ती अधिकारभित्र रहेर सबै तहहरू कानुन बनाउन स्वतन्त्र छन् । कोही कसैको मातहतमा बस्नुपर्ने छैन ।
नेपालको संविधानले नेपाललाई संघीय गणतन्त्र घोषणा गरे पनि शासकहरूले अझै एकात्मक भावना छाड्न सकेको छैन । संघीयता कार्यान्वयनमा आएपछि अधिकांश बजेट प्रदेश र स्थानीयमा जानुपर्ने हो तर ७० प्रतिशत संघमा र ३० प्रतिशत मात्रै प्रदेश र स्थानीयमा पठाउने गरेको छ । स्थानीय तहमा अधिकांश सःशर्त बजेट पठाउँछ । स्थानीयको आवश्यकता सिंहदरबारलाई थाहा हुँदैन । प्रधानमन्त्रीको अभिव्यक्ति र बजेट विनियोजनले सरकार संविधानको भावना अनुसार चल्न नसकेको स्पष्ट भएको छ ।
अन्त्यमा, भक्तपुर नगरपालिका नेपाल मजदुर किसानपार्टीका जनप्रतिनिधिहरू पार्टीको नीति र निर्देशनमा जनतालाई केन्द्रबिन्दुमा राखेर काम गरिरहनु भएको छ । हामी प्रचारको लागि होइन जनताको सेवाको भावनाले काम गर्छौं । निर्वाचन घोषणापत्रलाई अक्षरस पालना गर्ने हिसाबले काम गर्दैछौं । जनप्रतिनिधिहरू ४६ जना मध्ये ८ जना र ९ जना कर्मचारीहरू संक्रमित हुनुभएको छ । उहाँहरू कोही घरमा, कोही नपाद्वारा निर्मित आइसोलेसनमा हुनुहुन्छ भने कति साथीहरु भक्तपुर अस्पताल र सशस्त्र प्रहरीको हलचोक स्थित अस्पतालमा उपचार गराइरहनु भएको छ । यस्तो अवस्थामा पनि कुनै दिन नपाले दिनुपर्ने सेवा बन्द नगरी निरन्तर जनतालाई सेवा प्रदान गर्दै आइरहेका छौंं ।

(४० औं नेपालभाषा साहित्य तःमुंज्याको पहिलो दिन (कार्तिक १२ गते) नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिद्वारा व्यक्त मन्तव्य)

Leave A Reply

Your email address will not be published.