Explore news and happenings at Bhaktapur

संस्थागत विद्यालय संघ नेपाल (इसान) को पूर्ण बैठक

भक्तपुर, २०७७, साउन ३० गते शुक्रबार ।

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले काठमाडौं उपत्यकामा पछिल्लो केही सातामा कोभिड १९ संक्रमितको संख्यामा वृद्धि भएसँगै खतरा बढिरहेको हुँदा व्यक्तिगत सुरक्षा नै महत्वपूर्ण भएको बताउनुभयो ।

संस्थागत विद्यालय संघ नेपाल (इसान) केन्द्रीय समितिको पूर्ण बैठकमा बोल्नुहुँदै उहाँले कोभिड १९ का कारण शिक्षा, स्वास्थ्य, पर्यटनलगायत सबै क्षेत्रमा प्रभाव परेको बताउनुहुँदै विषम् परिस्थितिमा सावधानीपूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो ।

अनलाइन माध्यमबाट विद्यालयहरुले पठनपाठन अगाडि बढाउनुको विकल्प नरहेको बताउनुहुँदै भक्तपुर नपाद्वारा सञ्चालित कलेजहरु व्यवस्थित रुपले अनलाइन कक्षा सञ्चालन गर्दै आइरहेको बताउनुभयो । भक्तपुर नगरपालिकाले नगरका सामुदायिक र संस्थागत विद्यालयलाई सँगसँगै लाने प्रयास गरिरहेको उहाँले बताउनुभयो ।

लकडाउनका कारण अधिकांश विद्यार्थीहरुले बीचमै पढाई छोड्ने स्थिति आउन सक्नेतर्फ सचेत पार्नुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकालाई सुरक्षित पार्न यहाँका १३ वटा नाकाहरुमा कडाई गर्ने तयारी अगाडि सारेको बताउनुभयो ।

बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाइँले अनलाइन कक्षा प्रभावकारी ढंगले सञ्चालन हुन नसक्दा विद्याथीहरु निकै अन्योलमा परेको बताउनुहुँदै शासक दलको उदासीनताकै कारण देशको स्थिति झन् बिग्रँदै गएको हो भन्नुभयो । उहाँले लकडाउनको समयलाई शिक्षक र विद्यार्थीले सिर्जनशील काम गरी सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

इसानका केन्द्रीय कोषाध्यक्ष उकेश कवांले कोभिड १९ संक्रमण दिन प्रतिदिन बढ्दै गएकोप्रति सजग पार्नुहुँदै अनलाइन माध्यमबाट पठनपाठनतर्फ विद्यालयहरुले ध्यान दिनु आवश्यक भएको बताउनुभयो ।

इसानका पूर्वअध्यक्ष सरोजराज गोसाइँले लकडाउनका कारण बहुसंख्यक विद्यार्थीहरु शिक्षाबाट बञ्चित हुनुका साथै शिक्षकहरुको जीविका कष्टकर हुँदै गएको बताउनुहुँदै कोभिड १९ बाट सिर्जित साझा संकट समाधानको निम्ति सबैले जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्ने बताउनुभयो ।

कार्यक्रमका सभापति एवम् इसानका अध्यक्ष प्रेमजन थापाले शिक्षा क्षेत्र र विद्यालयमा आश्रित शिक्षकको परिवारमा पुगेको असरलाई मध्यनजर गर्दै नेपाल सरकारले विलम्ब नगरी राहतको योजना ल्याउनु आजको आवश्यकता भएको बताउनुभयो ।

बैठकमा संघका केन्द्रीय सल्लाहकारहरु आशाकुमार चिकंबन्जार, पुष्पलाल सुजखु, महासचिव पुरुषोत्तम ग्वाछालगायतले पनि कोभिड १९ को विषम् परिस्थितिले विद्यालयमा पु¥याएको असर र यसका चुनौतीहरुबारे आ—आफ्नो राय व्यक्त गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.