Explore news and happenings at Bhaktapur

सहकारी संस्थाहरुको साधारणसभा सञ्चालनबारे अन्तरक्रिया

भक्तपुर, २०७७, साउन २४ गते शनिबार ।

0

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को भक्तपुर नगर सहकारी समन्वय उपसमितिको आयोजनामा सहकारी संस्थाहरुकोआ.व. २०७७/७८ को साधारणसभा सञ्चालनबारे भक्तपुर नगरपालिका क्षेत्रमा अवस्थित सहकारी संस्थालाई जानकारी र राय सुझाव लिने उद्देश्यले शनिबार अन्तरक्रिया कार्यक्रमको आयोजना भयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उपत्यकामा कोभिड १९ को संक्रमण दिन प्रतिदिन बढिरहेको विषम् परिस्थितिमा धेरै मान्छे जम्मा हुने खालका कुनै पनि गतिविधि सञ्चालन नगर्न÷नगराउन अपिल गर्नुभयो । लकडाउनको अवधिभर भक्तपुरका सहकारी संस्थालगायतका संघ संस्थाहरुले गरेको सहयोगप्रति धन्यवाद दिनुहुँदै उहाँले भक्तपुर नपाले संक्रमणको जोखिमलाई ध्यानमा राखी ऐतिहासिक तथा सांस्कृतिक जात्रा तथा पर्वहरु स्थगित गरेको बताउनुभयो ।

भक्तपुर नपाले यहाँका विकास निर्माण तथा नियमित कार्यहरुमा मितव्ययिता अपनाइरहेको जानकारी दिनुहुँदै नगर प्रमुख प्रजापतिले रोजगारीको समस्या भएका बेला सहकारी संस्थाले सदस्यहरुलाई आत्मनिर्भर बनाउने खालका तालिमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

शैक्षिक संस्थाहरु बन्द रहेको यो अवस्थामा विद्यालयहरुले अनलाइन तथा भर्चुअल कक्षा सञ्चालन गरी प्रविधिमैत्री शिक्षा प्रदान गरिरहेको चर्चा बताउनुहुँदै प्रमुख प्रजापतिले व्यक्ति भन्दा समाज अगाडि हो भन्ने मान्यताअनुरुप अगाडि बढ्नपर्ने आवश्यकता रहेको बताउनुभयो ।

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्णगोविन्द लाखाजुले कोभिड १९ को प्रभावका करण सहकारी संस्थाहरुको सहकारी ऐनबमोजिम साधारणसभा गर्ने सम्बन्धमा अन्योल सिर्जना भएको बताउनुहुँदै सरकारले लगाएको बन्दाबन्दीको समयमा पनि संघले भक्तपुर नपा र प्रशासनसँग समन्वय र सहकार्य गरी सचेतना कार्यक्रमहरु सञ्चालन गरेको बताउनुभयो । उहाँले सहकारी संस्थाको भूमिका जस्तोसुकै अवस्थामा समुदायप्रति जवाफदेही हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका सभापति एवम् भक्तपुर नगर सरकारी समन्वय उपसमितिका संयोजक जगनाथ प्रजापतिले साधारणसभा सञ्चालनको लागि सबैको साझा धारणा र राय सुझाव संकलनको लागि संघले भक्तपुर जिल्लाको चारवटै नगरपालिकामा अन्तरक्रिया र छलफलहरु सञ्चालन गरिरहेको बताउनुभयो ।

कार्यक्रममा संघका व्यवस्थापक बालकृष्ण ध्वजुले संघको उद्देश्य र बन्दाबन्दीको समयमा संघले खेलेको भूमिकामाथि प्रष्ट कोभिड १९ को महामारीबीच सहकारी संस्था सञ्चालनमा देखिएका चुनौतीहरुबारे अवगत गराउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा भक्तपुर नगर सहकारी समन्वय उपसमितिका सदस्य राम सिख्व र सत्यनारायण पक्काले पनि बोल्नुभएको थियो ।

साधारणसभा सञ्चालनबारे भएको छलफलमा सहभागी भक्तपुर नपाभित्रका विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरुले कोभिडको महामारीबीचमा धेरै भीड जम्मा हुने किसिमले साधारणसभा सञ्चालन गर्नु उपयुक्त नहुने र सकभर यस आर्थिक वर्षको लागि स्थगित गर्नुपर्ने, सहकारी संस्थाहरुले सदस्य संख्याको आधारमा क्षेत्रगत रुपमा साधारणसभा सञ्चालन गर्न सकिने र आर्थिक मितव्ययिता र सामाजिक दुरी कायम गरी गर्न सकिनेलगायतका धारणा व्यक्त गरेका थिए ।

Leave A Reply

Your email address will not be published.