Explore news and happenings at Bhaktapur

जय भक्तपुर

0

ऊ भक्तपुरका बासिन्दा हो  । ऊ भक्तपुरमा विकास होओस् भनी चाहन्छ । हुन त आफ्नो जन्मस्थलको विकास भएको कसलाई मन पर्दैनथ्यो र ।

तर भक्तपुरमा के–कस्ता गतिविधिहरु भइरहेका छन् भन्नेबारेमा उसलाई केही वास्ता थिएन । उसलाई यतिमात्र थाहा थियो कि भक्तपुरमा केही विकास भएकै छैन र विकास हुने पनि छैन । किनकि उसको मस्तिस्कभरि उसका दौंतरीहरुले भनेका भावनाहरुमात्र छचल्किरहेका थिए । भक्तपुरमा केही विकास भएन र यस्तै पाराले कहिल्यै पनि विकास हुन सक्दैन पनि !

एकदिन यस्तो कुरा उसले आफ्ना एकजना नयाँ मित्रसामु अभिव्यक्त गरे । नवमित्रलाई उसको अभिव्यक्ति चित्त बुझेनछ । त्यसैले ऊ सित सोधे ‘भक्तपुरमा के विकास भएन हजुर ? भक्तपुरमा कस्तो विकास भएको हेर्न चाहनुहुन्छ ? अनि तपार्इंलाई थाहा छ, विकाश भनेको के हो ?’

नवमित्रले विकासको बारेमा अप्रत्यासित रुपमा सोधेको प्रश्नले ऊ वाल्ल र अकमक्क पर्छ । भक्तपुरमा के नराम्रो भइरहेको छ भन्ने बारेमा सोचेर पनि उसले कुनै भेउ पाउन सकेनन् । आफूले सोच विचारै नगरी अरुको लहैलहैमा लागेर बोलेकोमा लाज र पछुतो पनि लाग्यो उसलाई । ऊ मौन बसेको देखेर नवमित्रले अनुरोध गरे ‘भन्नुहोस मित्र, तपाईंको परिभाषामा विकास कस्तो हुनुपर्छ ?’

उसले हत्तपत्त एउटा त्यान्द्रो समाते । ‘हेर्नुस्, सबैलाई नभई नहुने आवश्यक वस्तु पानीको पनि उचित मात्रामा आपूर्ति गर्न सकेन भक्तपुर नपाले । अरु के विकास गर्न सकथ्यो र ! ’

तपार्इंले तथ्य कुरा बुझनु भएन मित्र । नवमित्रले उसलाई स्पष्टसँग बुझाउन लागे । पानीको समस्या भक्तपुरको मात्र होइन । यो सबै नेपाली जनताको गुनासो हो । खानेपानी आवश्यकताअनुसार आपूर्ति नहु“दा नेपाली जनताहरु प्रभावित भएका छन् । भक्तपुर नगरमा यसको समस्या समाधानको लागि बेलाबखत प्रयासहरु भइरहेका छन् । विगतमा कमलविनायक आवासक्षेत्रमा डीप बोरिङ गरिसके तर त्यहाँबाट स्वच्छ पानी निष्काशन नहुँदा त्यो योजना सफल हुन सकेन । भनपा क्षेत्रमा सिपाडोलबाट पनि पानी ल्याउने पहल गरेको थियो । त्यहाँ पनि अवरोधहरु सिर्जना हु“दा त्यो पनि सफल हुन सकेन । त्यस्तै अन्यत्र स्थानबाट पनि पानी ल्याउने प्रयत्नहरु नगरेको होइन । पहिलेदेखि एउटै मुहानबाट नगरमा पानी वितरण गर्नुपर्दा हाल भक्तपुर नगरमा वृद्धि भएको बस्ती र जनसंख्यालाई पर्याप्त मात्रामा पानी आपूर्ति हुन नसकेको समस्यालाई दृष्टिगत गरी भनपाले आवश्यकताअनुसार नगरको टोल–टोलमा ट्याङ्करबाट पानी वितरण गर्दै आएका छन् ।

नवमित्रले फेरि भने – हेर्नुस् मित्र, ‘हामी भक्तपुरकै बासिन्दा हौं । हामीले नै भक्तपुरमा विकस भएको छैन भन्दै हिंड्नु त लाजमर्दो कुरा हो । भक्तपुर विगतमा कस्तो थियो र अहिले कस्तो भएको छ, त्यो हामीलाई थाहा नभएको कुरो होइन । हाम्रो भक्तपुरलाई बाहिर जिल्लाका मान्छेहरु र विदेशी पर्यटकहरुले समेत स्वच्छ र सफा नगरको रुपमा नाम लिन्छन् र चिन्छन् । यो हाम्रो लागि गौरवकै कुरा हो । भनपाले नगरलाई सफा सुग्घर राख्न प्रत्येक दिन सफाइ मजदुरहरुलाई परिचालन गर्नुको साथै महिनाको दुईपटक प्रत्येक महिनाको १ गते र १५ गते पाक्षिक रुपमा नगरको मुख्य–मुख्य सम्पदा स्थलहरुमा सफाइ गर्ने अभियान सञ्चालन गरेकोले पनि हाम्रो नगर थप सफा र स्वच्छ भएका छन् ।

‘मैले यहाँ फोहर भयो भनेकै छैन नि । नगर सफा सुग्घर भएकोलाई त नकार्नै हुन्न’  । उसले सफाइमा समर्थन जनाएको सुनेर नवमित्र मुसुक्क हाँसेर भने ‘यसलाई पनि एउटा विकासकै रुपमा लिन मिल्छ नि होइन र मित्र ?’

‘हाम्रो भक्तपुर विश्व सम्पदा सुचीमा सुचिकृत नगर हो । यहाँका कला संस्कृति झल्कने मठ–मन्दिर, चैत्य, विहार, सत्तल, पाटी, पौवा, ईनार, ढुंगेधारा र पोखरीजस्ता सम्पदाहरु जोगाउने र संरक्षण गर्ने महत्त्वपूर्ण कार्यहरु पनि भनपाले गरिरहेका छन् । साथै शिक्षा क्षेत्रमा पनि विकास गर्न भनपाले उचित शुल्कमा शिशुस्याहार देखि कलेजसम्म सञ्चालन गरेको सर्वविदित्तै छ । जहाँ स्थानीय विद्यार्थीहरु र अन्य जिल्लाहरुबाट आएका विद्यार्थीहरु पनि अध्ययन गरेर गुणस्तरीय शिक्षा हासिल गरिरहेका छन् ।

हुन त मेरी छोरी पनि ख्वप कलेजमा अध्ययनरत छिन् । ऊ एकदम उत्साहित भएर बोले – ‘उनको पढाइ पनि राम्रै छ । हामी (परिवार) लाई गर्व लागेको छ उनको राम्रो पढाइमा ।’ ऊ अझै मुसुमुसु हाँसिरहेको थियो ।

नगरपालिकाले भक्तपुरमा ख्वप विश्वविद्यालय सञ्चालन गर्ने प्रक्रियामा लागेको पनि नवमित्रले उसलाई जानकारी गरायो । त्यसले अगाडि भने ‘नगरवासीहरुको स्वास्थ्यलाई ध्यानमा राखेर नगरपालिकाले घर–घरमा नर्सिङ सेवा पनि सुरु गरेको छ । च्यामासिंहमा सञ्चालन भइरहेको जनस्वास्थ्य केन्द्रमा ख्वप अस्पतालको रुपमा सञ्चालन गर्न तयारी भइरहेका छन् ।

भक्तपुर वडा नं. १ मा मानव अङ्ग प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर जस्ता ठूलो महत्त्वका अस्पतालहरु छन् । साथै नगरमा रेबिज रोग मुक्त गर्न छाडा कुकुरहरुलाई बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप अभियान थालेको छ । खेलकुद क्षेत्रमा पनि विकास गर्न सकदो पहल भइरहेकै छ ।

‘ए! हो, हो,’ ऊ पुनः प्रसन्न हुँदै बोले – ‘अस्ति मेरो छोराले पनि खेलकुदमा भाग लिएर विजयी हुँदा पुरस्कार पाएको थियो । नगरपालिकाले खेलकुद आयोजना गरेको भन्दै थिए । अनि हिजो बिहान नपाको टेम्पोले भुस्याहा कुकुरहरु ओसार्दै गरेको मैले पनि देखेको थिएँ । अहिले छाडा कुकुरहरुको बिगबिगि नियन्त्रण भएका छन् । त्यसैले होला उसले लामो सुस्केरा हाले । र नवमित्रको मुखबाट अरु कुरा सुन्न व्यग्र भए ।

‘हेर्नुहोस मित्र’ नवमित्रले पुनः भन्न सुरु गरे –  भूकम्पले भत्केका पाटीहरु पुनःनिर्माण भइरहेका छन् । सांस्कृतिक सम्पदाहरु पनि ठडिंदै छन् । सडक बाटोको कुरा गर्ने हो भने धमाधम ढुंगा छपाइको कार्यहरु पनि भइरहेका छन् । यस्ता निर्माणका कार्यहरु नगरपालिकाकै आयोजनामा सम्पन्न भइरहेका छन् । यी बाहेक अरु पनि थुपै्र विकास निर्माणका योजनाहरु होलान्, एक पछि अर्को सम्पन्न गर्दै जाने होला हैन र ?’

‘हो रहेछ! यी सबै आफ्नै आँखाले देखेर पनि बुझ्नै नसकेको रहेछु’  ऊ खुसी भएर बोले ‘बल्ल बुझें !’ अब त भक्तपुर विकास भएको छैन भनेर भन्दै भन्दिन“ बरु भन्छु ‘जय भक्तपुर !’

Leave A Reply

Your email address will not be published.