Explore news and happenings at Bhaktapur

वाकुपति नारायण मन्दिर परिसरभित्रका पाटी र ढुंगेधाराको उद्घाटन सम्पन्न

२०७७ असार २७ गते, शनिबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वाकुपति नारायण मन्दिर परिसरभित्र हालै पुनःनिर्माण र जीर्णोद्धार गरिएको द्यो पमी फल्चा पुनःनिर्माण, वाकुपति नारायण दक्षिण सत्तलको पहिलो भुइँ मर्मत, वाकुपति नारायण ढुंगेधारा मर्मत र उत्तरपूर्वमा अवस्थित दक्षिणाभिमुख वाकुपति नारायण पाटी पुनःनिर्माण कार्यको संयुक्त उद्घाटन गर्नुभयो ।

उद्घाटन कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले सांस्कृतिक तथा ऐतिहासिक महत्वका सम्पदाहरुको पुनःनिर्माण तथा जीर्णोद्धार कार्य जनसहभागिता जुटाई उपभोक्ता समितिमार्फत गरिरहेको बताउनुभयो ।

नाफाको निम्ति व्यापार गर्ने ठेकेदारहरुलाई सम्पदा जीर्णाद्धारको जिम्मा दिन नहुने बताउनुहुँदै उहाँले भक्तपुरको ङातापोल मन्दिर जीर्णोद्धार कार्यमा करिब ४ हजारभन्दा बढी नगरबासीहरुबाट जनश्रमदान प्राप्त हुनु गौरवको विषय भएको बताउनुभयो । साझा सम्पदाहरुको निर्माणमा सबैले साझा जिम्मेवारी बहन गर्नु आजको आवश्यकता भएको बताउनुहुँदै उहाँले भक्तपुर नगरपालिकाले पुर्खाको लागि गौरव गर्न लायक सम्पदाहरुको जीर्णोद्धार र मर्मत कार्यहरुलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको छ भन्नुभयो ।

भक्तपुर नगरपालिकाले ३ वर्षको अन्तरालमा करिब १ सय भन्दा बढी सम्पदाहरुको पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न गरिसकेको बताउनुहुँदै जीर्णोद्धार गर्न बाँकी रहेका भक्तपुरको कला संग्रहालय, अरनिको सभाभवन, भक्तपुर नपाको पुरानो भवन (थन्थु दरबार) लगायत पनि प्राप्त प्रमाणका आधारमा पुरानै शैलीमा गरिने बताउनुभयो ।

भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले नयाँ पुस्तामा सामाजिक र नागरिक भावनाको विकास गराउँदै लानुपर्ने आवश्यकताबोध गराउनुहुँदै ज्येष्ठ नागरिकहरुको लागि आदरनिकेतन बनाउने योजना नगरपालिकाको रहेको बताउनुभयो । कोरोनाको संक्रमण भक्तपुरमा पनि बढ्दै गएको यथार्थबारे स्पष्ट पार्नुहुँदै उहाँले स्वस्थ र निरोगी व्यक्तिले समाजको हितमा बढी काम गर्ने बताउनुभयो ।

वाकुपति चाँगुनारायण तामा छाना पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीप्रसाद प्रजापतिले उपभोक्ता समितिमा बसेर काम गर्दाको अनुभव सुनाउँदै सम्पदा पुनःनिर्माणमा देखिएको जनश्रमदानले गर्दा निकै कम समय र कम लागतमा पुनःनिर्माण कार्य सम्पन्न भएको बताउनुभयो ।

कार्यक्रममा नेमकिपा वडा नं. ९ प्रारम्भिक समितिका सदस्य विष्णुभक्त कुसी र रबिन्द्र कुसीले पनि बोल्नुभएको थियो ।

भक्तपुर नगरपालिकाको बजेटअन्तर्गत वाकुपति नारायण दक्षिण सत्तलको पहिलो भुइँ मर्मत रु. ५ लाख २० हजार ४ सय ८९ रुपैयाँ, द्यो पमी फल्चा रु. रु. १४ लाख ९७ हजार ८ सय ९७ रुपैयाँ र उत्तरपूर्वमा अवस्थित दक्षिणाभिमुख वाकुपति नारायण पाटी पुनःनिर्माण रु. १८ लाख २९ हजार २ सय ८० रुपैयाँ लागतमा सम्पन्न भयो । पाटी पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्षहरुमा रबिन्द्र कुसी, गोपालकृष्ण श्रेष्ठ र कृष्णगोपाल प्रजापति क्रमशः रहनुभएको छ । साथै वाकुपति नारायण ढुंगेधारा मर्मत कार्यमा दाताहरु स्व. सरस्वती प्रजापति र इन्द्रप्रसाद प्रजापतिले ७७ हजार ४ सय ७८ रुपैयाँ आर्थिक सहयोगमा सम्पन्न भएको थियो ।

Leave A Reply

Your email address will not be published.