Explore news and happenings at Bhaktapur

किटजन्य रोगहरूबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

२०७७ असार २२ गते, सोमबार

0

भक्तपुर नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरको आयोजनामा किटजन्य रोगहरूबारे अभिमुखीकरण कार्यक्रम सोमबार भक्तपुर नपाको सभाकक्षमा सम्पन्न भयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले लामखुट्टेबाट धेरै रोगहरू सर्ने हुँदा आवश्यक सावधानीका उपायहरू अवलम्बन गरी व्यक्तिगत सुरक्षा र सफाइमा ध्यान दिनुपर्ने बताउनुभयो ।

काठमाडौं उपत्यकामा बढ्दो सहरीकरण र जनसंख्या वृद्धिसँगै सर्ने र नसर्ने रोगहरूको पनि जोखिम बढ्दै गएको छ भन्नुहुँदै प्रमुख प्रजापतिले देशको विभिन्न ठाउँहरूमा व्यवस्थित सुविधायुक्त स–साना सहर विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले विकासको अर्थ ठूल्ठूला भवन निर्माण गर्नु र चिल्ला सडक मात्र नभएको बताउनुहुँदै सांस्कृतिक र ऐतिहासिक महत्व बोकेका सहरहरूको मौलिक पहिचान र संस्कृतिलाई जोगाइराख्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

सरुवा रोगहरूबाट बच्न आवश्यक सर्तकता अपनाउनुका साथै जनचेतना अभिवृद्धि कार्यक्रमहरू सञ्चालन आवश्यक भएको उहाँले बताउनुभयो ।

जनस्वास्थ्य सेवा केन्द्र भक्तपुरका प्रमुख रत्नसुन्दर लासिवाले लामखुट्टेबाट सर्ने रोगबाट निकै सतर्कता अपनाउनुपर्ने भन्दै सरसफाइमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय भक्तपुरका प्रतिनिधि धनञ्जय अर्यालले किटजन्य रोगबारे प्रस्तुतीकरण दिनुहुँदै नेपाल सरकारले किटजन्य रोग जस्तै डेङ्गु, मलेरिया, हेपाटाइटिस, स्क्रब टाइफलगायतका रोग नियन्त्रण कार्यक्रममा गरेको लगानीले सकारात्मक प्रतिफल दिएको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.