भक्तपुर , वि.सं. २००३ पुस २३ गते भक्तपुरको बछिकुलाङ दथुछेंमा जन्मनुभएका कलाकार पूर्ण चित्रकार भक्तपुरको पर्याय बनेको नवदुर्गा नाचको लागि प्रयोग हुने मुकुण्डो बनाउने र संस्कृति जोगाउने सांस्कृतिक गुरु हुनुहुन्छ । ७४ वर्षे चित्रकारका ३ छोरा र ३ छोरी छन् । सामान्य पढाई गर्नुभएका चित्रकारको पहिलेदेखिको पेशा नै मुकुण्डो बनाउने र आफू १३ वर्षको छँदादेखि यस पेशामा संलग्न भएको उहाँ बताउनुहुन्छ । उहाँले आफ्ना बहिनीको ससुरा सूर्यबहादुर चित्रकारमार्फत् यो पेशाको ज्ञान हासिल गर्नुभएको हो । आर्थिक अवस्था कमजोर भए पनि भक्तपुुरको कला–संस्कृतिसँग सम्बन्ध रहेको यो पेशा कहिल्यै पनि छोडुँजस्तो नलागेको र आफूले बनाउन सकेसम्म यो पेशालाई निरन्तरता दिंदै जाने प्रतिबद्धता उहाँ व्यक्त गर्नुहुन्छ ।
करिब पाँच दशक यस क्षेत्रमा समर्पणभावले कार्य गर्दै आउनुभएका पूर्ण चित्रकारको अथक मेहेनतकै कारण पुर्खाको धरोहरको रुपमा चलिआएको नवदुर्गा नाच अहिलेसम्म अनवरत रुपमा चल्दै आएको छ । महादेव, गणेश, ब्रम्हायणी, महेश्वरी, कुमारी, वैष्णुवी, बाराही, इन्द्रायणी, महाकाली, सिम्ह, भैरव, दुम्ह र श्वेत भैरव आदि गरी १३ वटा नवदुर्गा भवानीको मुकुण्डो उहाँ बनाउनुहुन्छ । यसबाहेक बोडेको नीलबाराही नाचमा प्रयोग हुने मुकुण्डो, ल्योसिंह द्योको हलिपतंको चित्र, बिस्केटको रथमा रंग लगाउने, पुलुकिसीको चित्र, भैल प्याखंको मुकुन्डो, दिपंकरको मुकुन्डो, गाईजात्रा, देवी प्याखं, भैल प्याखं, चन्डेश्वरी जात्रा, लाखे नाच, इन्द्रजात्राको जाली झ्या बनाउने, पनौती र दाप्चाको देवी नाचको निम्ति प्रयोग हुने मुकुण्डो पनि कलाकार पूर्ण चित्रकारले बनाउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ – ‘मुकुन्डो बनाउने काम निकै गा¥हो र समय लाग्ने काम हो । मुकुण्डो बनाउन निकै मेहनत पनि आवश्यक हुन्छ । एउटा मुकुण्डो बनाउन ५–६ जना सहयोगी आवश्यक हुन्छ । दिनको १८ घण्टासम्म पनि काम गर्नुपर्ने हुन्छ । काम गर्दै गर्दा कहिले रात परेको थाहा हुन्न त कहिलेकाहीं खाना खान पनि बिर्सन्छु । सुरु गरेको काम नसकेसम्म निद्रा पनि लाग्दैन ।’
म सानो बेलादेखि यही पेशामा संलग्न भएर काम गरेकोले आफूसँग भएको सीप छोड्ने विचार कहिल्यै पनि आएन । तर अहिले उमेर बढ्दै गएसँग स्वास्थ्यले पनि साथ दिइरहेको छैन । आर्थिक स्थितिकै कारण अहिले भने यो कामलाई निरन्तरता दिन सक्दिनँ जस्तो लाग्न थाल्यो । उहाँ थप्नुहुन्छ – तर दुःख लाग्छ, मैले नवदुर्गाको मुकुण्डो बनाउन छोडें भने यो जात्रा नै बन्द हुने स्थितिमा पुग्छ । यो हाम्रो लागि राम्रो कुरा पक्कै होइन ।’
नयाँ पुस्तामा यो सीप, कला हस्तान्तरण गर्न निकै प्रयास गरेको तर यो पेशाबाट पैसा आर्जन गर्न नसक्ने देखेर नयाँ पुस्ता पछि हटेको हुनसक्ने उहाँ बताउनुहुन्छ । उहाँ अगाडि थप्नुहुन्छ – अरुलाई सिकाउन पनि ज्याला दिनुपर्ने हुन्छ । यो काम सिक्न चाहने व्यक्तिहरू नै भेटाउन गा-हो छ अहिले । यो सीप सिक्न लामो समय लाग्ने थाहा पाएपछि प्रशिक्षार्थीहरू आउन छोड्छन् । यो सीप सिक्नको लागि नयाँ पुस्ताले आँट नै गरेनन् भन्दा पनि हुन्छ । अहिलेको वैज्ञानिक र प्रतिस्पर्धी युगमा कसलाई पो कोठामा बसेर यस्तो काम गर्न मन पर्दो हो र ! त्यसैले यो पेशामा लाग्न पनि एउटा आकर्षण हुनुपर्ने रहेछ जस्तो लाग्छ ।’ संस्कृति लोप हुने स्थिति आउने भएकोले नयाँ लाई सिकाउनुपर्छ भन्ने मेरो पहिलेदेखिकै जोड थियो । भक्तपुरका कति संस्कृतिहरू आर्थिक अभावकै कारण लोप हुने स्थितिमा छन् ।
उहाँ भन्नुहुन्छ – मेरा छोराहरू पनि आर्थिक आर्जन गर्न गा¥हो भएकोले यो पेशाप्रति आकर्षित भएनन् । अहिले माहिलो छोरा राजेश चित्रकारले भने मेरो काममा सघाइरहेको छ । रङ लगाउने, सुकाउने आदि काममा उसले सघाएको हुँदा काम गर्न सजिलो भएको छ । धर्मको काम हो, छोड्न हुँदैन भन्दै छोराहरूलाई प्रेरित गर्छु ।’
चित्रकार भन्नुहुन्छ – राम्रो काम गरेकोमा सन्तुष्टि लाग्छ तर दुःख पनि लाग्छ, यो पेशामा कसैले वास्ता र चासो नदेखाउँदा । आफू घाटामै बसेर वर्षौं काम गरियो । यसको जगेर्ना गर्न सकेनौं भने प्लास्टिक र कागजको मुकुण्डोहरू भित्रिने सम्भावना हुन्छ । यसले हाम्रो कला–संस्कृतिलाई बद्नाम मात्र गर्नेछ । आर्थिक चिन्ता मात्र होइन, कला–संस्कृति नै बन्द हुनेमा मेरो चिन्ता छ ।’
नगरपालिका नगरवासीहरूको आफ्नै संस्था हो । नगरभित्रका कला–संस्कृति जोगाउने जिम्मा पनि यो संस्थाकै हो । त्यसैले परम्परागत नृत्य, बाजागाजा, पेशाहरूलाई सहज रुपमा सञ्चालन गर्न-गराउन नगरपालिकाको भूमिका निकै महत्वपूर्ण हुन्छ । हामीले पनि भक्तपुर नगरपालिकाबाट धेरै आशा गरेका छौं ।
स्थानीय सरकार आएपछि भक्तपुर नगरपालिकाले मेरो यो पेशामा केही चासो व्यक्त गरेको छ । मलाई खुशी लागेको छ, नगरपालिकाका प्रमुख सुनिल प्रजापति स्वयम् मेरो कार्यस्थलसम्म आउनुभयो, मेरा समस्याहरू बुझ्नुभएर अहिले केही आर्थिक सहयोग दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । ढिलै सही उहाँको यो कदमले यो संस्कृति जोगाउन ठूलो टेवा पुग्ने उहाँ बताउनुहुन्छ । भक्तपुरको संस्कृति भक्तपुर नगरपालिकाको सहयोगले नै अगाडि बढ्नुपर्छ भन्दै उहाँले यस्ता समस्याहरू सम्बोधन गर्दै जानुपर्नेमा जोड दिनुभयो । आर्थिक सहयोगको कमीले संस्कृति नै बन्द हुने स्थिति आउन दिनुहुन्न भन्ने कलाकार पूर्ण चित्रकारको भनाइ छ ।